मैले उत्तम लडाइँ लडेको छु। मैले दौड सिध्याएको छु (२ तिमोथी ४:७) । देहवसान धेरैको हुन्छ, तर येशूलाई विश्वास गरेकाहरूु अनन्तसम्म परमेश्वरको घरमा रहन्छन्, जुन अनन्तता येशूलाई विश्वास गरेको दिनमा सुरु हुन्छ ।
सन् २०२१ को मे महिनाको १८ तारिख बिहानै मेरो फोनमा आएको समाचारले मलाई मात्रै होइन, मेरो परिवारलाई पनि बेचैन बनायो । हामी सबैका प्रिय र आदरणीय गुरुबा रोबर्ट कार्थक आज हामी सबैलाई अभिभावकबिहीन बनाएर यस संसारबाट डेरा सर्नु भयो । उहाँले पृथ्वीको घरलाई माया मारेर महिमित घरलाई बासस्थान बनाउनु भयो ।
एकै छिनमा फेसबुकका भित्ताभरि गुरुबाको सम्मान र सम्झना अनेकन् सन्देशहरूको बाढी लाग्न थाल्यो । गुरुबाले कति धेरै जीवनमा परमेश्वरको आशिष् ल्याउनु भएको छ भनेर हिसाबै गर्न कठिन छ, तर सारा संसारका नेपाली चर्चको लागि उहाँ आदरणीय गुरुबा हुनुहुन्थ्यो र भइ रहनु हुनेछ । उहाँ नेपाली ख्रीष्टियन जगतका ऐतिहासिक धरोहर हुनुहुन्छ । उहाँ सम्पूर्ण नेपाली मण्डलीका खम्बा र युगपुरुष हुनुहुन्छ ।
सन् १९५० को दशकमा नेपाल देशलाई माया गरेर प्रभुको राज्य बिस्तारको लागि आफैंलाई समर्पित गरेर गुरुबा ११ जनाको टोलीको नेतृत्व गर्दै नेपाल आउनु भयो । सन् १९५७ को सेप्टेम्वर महिनाको पहिलो आइतवार नेपाली इसाई मण्डलीको स्थापनादेखि जीवनपरन्त गुरुबाले मण्डलीमा पास्टरको सेवकाइ गरिरहनु भयो । उहाँको एउटै ध्येय थियो, सम्पूर्ण रूपमा परमेश्वरको सेवाको लागि समर्पित हुने । उहाँसँग आउनु भएका टोलीका अरू सदस्यहरूले अरू विभिन्न कामहरू गर्नु भयो । तर उहाँले सम्पूर्ण रूपमा आफैंलाई परमेश्वरको सेवाको लागि दिनु भयो, पूरा समय मण्डलीको पास्टरको रूपमा आफैंलाई दिनु भयो ।
चर्च इतिहासमा थोरै मात्र यस्ता व्यक्तिहरू छन्, जसले यति लामो समय ६५ वर्ष एउटै मण्डलीको पास्टर भएर मण्डलीलाई अगुवाइ गरेका छन् । नेइमको लागि गुरुबालाई पास्टरको रूपमा पाउनु ठूलो आशिष्को कुरा हो । उहाँको उदाहरणीय जीवनको कारण नै मण्डलीमा धेरै आशिष् आएको हो ।जब कोरोनाको पहिलो लहर आयो, त्यो बेला लकडाउन सुरु भयो ।
ज्ञानेश्वर चर्चबाट नै अनलाइन लाइभ सेवा हुने कुरा हामीलाई जानकारी आयो र हामी त्यही सेवामा बसेका थियौं । यो लकडाउनकै अवधिमा गुरुबाले वचनमा भन्नु भएको थियो, “कोरोना हामीलाई एलियालाई अग्नीमय रथले छुट्याएर भुमरीले उडाएर लगेजस्तै उठाउने महिमित अवसर पनि हुन सक्छ ।” उहाँले कोरोना होइन करुणा हो भन्नु हुन्थ्यो । गुरुबा यही निहुँमा अस्पताल जानु भयो र परमेश्वरले उहाँलाई अफ्नो घरमा लैजानु भयो । पछि उहाँको कोरोना जाँच गर्दा रिपोर्ट भने नेगेटिभ आयो । प्रभुमा जाने बेलामा उहाँ यस्तो किसिमले जानु भयो, उहाँको बृहत् अन्त्येष्टि हुने मौका भएन भन्ने धेरैको गुनासो हुन सक्छ । उहाँको पार्थिव शरीरलाई हामीले बिदाइ गर्न सकेनौं भन्ने विस्मात् नेइम परिवारलाई मात्रै होइन, संसारभरिका ख्रीष्टियानहरूलाई लाग्न सक्छ ।
कोरोनाचाहिँ हामीलाई प्रभुमा लैजाने अवसर हुन सक्छ भनेर गुरुबाले भन्नु भएको थियो । गुरुबाले प्रभुको काम यस संसारमा पूरा गरेर अब विश्राममा प्रवेश गर्नु भयो । हाम्रो लागि बृहत् बिदाइ गर्ने मौका नपाए पनि स्वर्गमा उहाँको भव्य स्वागत भएको छ । परमप्रभुको दृष्टिमा उहाँका पवित्र जनको मृत्यु अनमोल भएको छ । हामीले गुरुबाको परिवारबाट सुन्थ्याैं कि गुरुबाको चाहना उहाँको अन्तिम संस्कार सानो होस् । सायद परमेश्वरले आफ्नो सेवकको चाहना पूरा गर्नु भयो । उहाँको जीवन र व्यक्तित्व साधारण थियो, उहाँको स्वर्गारोहण र अन्त्येष्टि पनि साधारण भयो । यो पनि धेरैको लागि नमुना र परमेश्वरको महिमाको लागि भएको छ ।
मानवीय हिसाबले सोच्दा हामी यस पृथ्वीको जीवनको बारेमा मात्रै विचार गर्छौं । तर परमेश्वरको अनन्त जीवनचाहिँ येशूलाई विश्वास गरेदेखि सुरु भएर निरन्तर रहिरहन्छ । गुरुबा अनन्त जीवनमै हुनुहुन्थ्यो र अहिले डेरा सर्नु भएको मात्रै हो, वास्तवमा । गुरुबाले ठाउँ सर्नु भएको मात्रै हो । गुरुबा अहिले परमेश्वरको अनन्त घरमा सधैंको लागि सुरक्षित, आनन्द र शान्तिमा हुनुहुन्छ । हामी सबैका आदरणीय र अनुकरणीय गुरुबा आज हामीबाट सधैंको लागि होइन तर छोटो समयको लागि अलग हुनु भएको छ ।
मेरो व्यक्तिगत जीवनमा पनि गुरुबाबाट धेरै कुराहरू मैले पाएको छु । मैले गुरुबालाई केही पनि कुरा दिन सकेको छैनँ तर गुरुबाबाट धेरै कुरा पाएको छु । मेरो बप्तिस्मा गुरुबा आफैंले दिनु भएको हो । त्यो मेरो लागि सबैभन्दा सुनौलो अवसर । अर्को अवसर मेरो विवाह पनि पास्टर रोबर्ट कार्थक गुरुबाले दिनु भएको हो ।
गुरुबा करिब ८० वर्षको हुँदा गुरुबाबाट हाम्रो विवाह भयो । अनि विवाहमा उहाँले जसरी परमेश्वरको वचन परमेश्वरको अगुवाइद्वारा हाम्रो बीचमा राख्नु भयो, त्यो कारणले प्रभुलाई विश्वास नगर्ने मेरो परिवारले पनि विवाह त यस्तो हुनुपर्ने रहेछ भन्ने कुरा खुसी भएर सुनाउनु भयो । त्यो कारणले नै मेरो परिवारमा ठूलो खुसी मेरो विवाहको कारणले आएको थियो, त्यसमा गुरुबाको वचनले धेरै ठूलो भूमिका निर्वाह गरेको छ ।गुरुबाको सानिध्यमा बसेर काम गर्ने मौकाचाहिँ नेइम ज्ञानेश्वर चर्चको स्वर्ण महोत्सवको तयारीको समयमा भएको थियो ।
गुरुबाको जीवनी लेख्ने, सँगसँगै स्वर्ण महोत्सवको स्मारिका, चर्चको इतिहास तयार पार्ने क्रममा गुरुबासँग नजिक बसेर गुरुबाका कुराहरू सुन्ने मात्रै होइन, गुरुबाबाट धेरै कुराहरू सिक्ने सौभाग्य मैले प्राप्त गरेको छु । ती दिनहरू म जहिले पनि सम्झिरहन्छु । मलाई जहिले पनि याद हुन्छ, गुरुबाले बोलेका शब्दहरू, गुरुबाले कसरी परमेश्वरको अगुवाइ खोज्नुहुन्थ्यो भन्ने कुराको अलिकति झल्को पाउँदा पनि मलाई अचम्म लाग्छ ।गुरुबाको विषयमा लेख्दा र गुरुबाको स्मरण गर्दा अविस्मरणीय घटनाहरू सायद यो लेख पढ्ने पाठकहरूसँग मभन्दा धेरै हुन सक्छ । तर मसँग भएका केही घटना तपाईंहरूको बीचमा राख्न चाहन्छु ।
नेइम परिवार नै सन् २००७ मा नेइम ज्ञानेश्वरको स्वर्णमहोत्सवको तयारीमा व्यस्त थियौं । सन् २००७ कै मे महिनामा स्वर्णमहोत्सव तयारी समितिको बैठक थियो । स्वर्णमहोत्सवको कार्यक्रमको अन्तिम तयारी स्वरूप स्वर्णमहोत्सव कार्यक्रम कसरी गर्ने भनेर छलफल हुँदै थियो । नेइम ललितपुर चर्चको पुरानो भवनसँगै भएको टहरामा स्वर्णमहोत्सव समितिको बैठक बसेको थियो । त्यो बेलामा बैठकको मिनटस् तयार पर्ने जिम्मा मैले पाएको थिएँ । मेरो छेउमा पास्टर गुरुबा बस्नु भएको थियो । तत्कालीन एल्डर सलोन कार्थकले कार्यक्रमहरू ह्वाइटबोर्डमा लेख्दै हुनुहुन्थ्यो ।
कार्यक्रमहरूमा केके गर्ने भनेर क्रमशः लेख्ने क्रममा जब पास्टर गुरुबाको नाम आयो, पास्टर गुरुबाको नामको अगाडि रेभ. लेखेर उहाँको नाम लेखियो, म छेउमै भएको कारण गुरुबाले मलाई भन्नु भयो, “बाबु, त्यो रेभ. चाहिँ हटाउन लगाउनू ।”गुरुबाले त्यसो भन्नु हुँदा, मलाई त पहिले अप्ठ्यारो लाग्यो । तर गुरुबाले दोहोर्याएर भन्नु भएपछि मैले ठूलो सोरले भनें, “त्यो रेभ. शब्द हाम्रो गुरुबालाई मन पर्दैन होला ।” पछि गुरुबाले पनि त्यो नराखौं भन्नु भयो । उहाँले “मलाई पास्टर मात्रै भन्नू, रेभ नलेख्नू” भनेर बताउनु भयो । गुरुबालाई टाइटलले चिनाउनु पर्दैनथ्यो ।
गुरुबाको काम र परमेश्वरप्रतिको भक्तिले नै उहाँलाई चिनाउँछ । पछि पनि मण्डलीका औपचारिक प्रकाशनहरूमा गुरुबालाई रेभ. लेखिएको कुरा मलाई थाहा छैन । गुरुबाले स्वर्ण महोत्सवको तयारी अवधिभरि धेरै पटक भेट्दा कुममा धाप मारेर, “बाबु, तपा्इँको लागि मैले प्रार्थना गरिरहेको छु” भनेको अझै ताजै छ । सम्झनाका यस्ता उदाहरणहरू बग्रेल्ती छन् । उहाँको यति लामो पास्टरीय सेवकाइको समयमा उपयुक्त समय आएपछि नेइमका चार वटै शाखाहरूमा गुरुबालाई परमेश्वरले देखाउनु भएअनुसार तत्कालीन एल्डरहरूलाई पास्टरको रूपमा अभिषेक गरिदिनु भयो । उहाँले आफूलाई सिनियर पास्टर, वरिष्ठ पास्टर, मुख्य पास्टर भनेर कहिल्यै पनि भन्नु भएन ।
मेरो विश्वासका सुरुका दिनहरूमा जब मैले ज्ञानेश्वरमा गुरुबाको वचन सुन्थें, वचन सुन्दा मलाई एउटा कुरा जहिल्यै पनि याद छ । उहाँले आफूलाई एल्डरहरूमध्ये एक जना र पास्टरको सेवकाइ गर्ने गोठालो भनेर बारम्बार भनिरहनु हुन्थ्यो । नम्रताले भरिएको त्यो शालीन व्यक्तित्व उहाँको थियो । वचन बोल्दा वा कसैसित कुरा गर्दा उहाँको मीठो मुस्कान ओठमा भएकै हुन्थ्यो । करिब दुइ महिनापहिले ज्ञानेश्वर चर्चमा एउटा विवाह थियो । गुरुबा नवविवाहित जोडीको लागि आशिषको प्रार्थना गर्न अगाडि जानु भयो । मैले त्यो बेलाको प्रार्थनामा आँखा बन्द गर्न सकिनँ, गुरुबाको अनुहार मात्रै हेरिरहें ।
सन् २०१६ तिर मेरो जीवन र परिवारमा अनेकन् समस्या हुँदा गुरुबालाइ भेट्न गएँ । अनि गुनासो गरें, “गुरुबा, मेरो जीवनमा किन परमेश्वरले यति धेरै समस्या दिनु भएको होला ?” गुरुबाले भन्नु भयो, “गुनासो होइन, प्रभुलाइ धन्यवाद भन्नु पर्छ ।”मेरा केही अख्रीष्टियान साथीहरू छन्, जो मसँग कुनै समय ज्ञानेश्वर चर्च गएका थिए । उनीहरूका बीचमा रोबर्ट गुरुबाको कुरा हुँदा उनीहरू अहिले पनि भन्छन्, “उहाँले कहिल्यै पनि मानिसलाई चाप्लुसी गरेर, विश्वास गर, तिमीहरूलाई यस्तो हुन्छ, उस्तो हुन्छ भन्नु भएन । उहाँ त कडा बोल्ने मान्छे हो ।”गुरुबाले जहिल्यै पनि क्रूसको महत्व र ख्रीष्टलाई पछ्याउँदा बोक्नु पर्ने क्रूसको मूल्यलाई महत्व दिएर जीवन र शिक्षाबाट सिकाउनु भयो । मण्डली वृद्धि भएको छ ।
गुरुबालाई मण्डलीका प्रत्येक सदस्यहरूको नाम थाहा नभए पनि साधारण सदस्यहरूलाई उहाँले वास्ता गर्नुहुन्थ्यो । संसारभरिका हामी ख्रीष्टियानहरूले गुरुबाको लागि शोक गरिराख्नु पर्दैन किनभने गुरुबा अहिले परमेश्वरको घरमा विश्राममा हुनुहुन्छ । उहाँलाई परमेश्वरले ठूलो इनाम दिनुभएको छ । हामीले गुरुबाबाट पछ्याउनु पर्ने, सिक्नु पर्ने हजारौं कुरा छन्, मैले त्यसको सूची बनाउन थालें भने सायद एउटा किताबै लेख्नु पर्छ होला किनभने उहाँको जीवन उदाहरणीय, अनुकरणीय थियो । उहाँले सबैभन्दा ठूलो स्थान प्रभु र प्रभुको सेवालाई दिनु भयो ।
परमेश्वरले उहाँलाई लामो आयु दिनु भयो । हामीलाई गुरुबा चाँडै जानु भएको जस्तो लाग्छ । तेह्र जनाबाट एउटा सानो कोठामा सुरु भएको चर्चलाई हजारौं मानिसहरूलाई ख्रीष्टमा जित्ने चर्चको रूपमा परमेश्वरले बढाउनु भएको गुरुबाले देख्नु भयो । पन्चायत कालमा खारिएर आएको मण्डलीलाई गुरुबाले अगुवाइ गरेर आजको स्थानमा ल्याउनु भयो, नेपालका हजारौं मण्डलीहरूलाई आत्मिक अभिभावकत्व प्रदान गर्नु भयो ।हाम्रा प्यारा गुरुबालाई हामी फेरि बादलमा भेट्नेछौं । उहाँले सो बेला प्रथम श्रेणीको आसन पाउनु हुनेछ । आमेन-भुवन देवकोटा