बरिस्ट पास्टर स्व. रोबोर्ट कार्थकको सफल जीवन

0

नेपाली इसाई समाजका बरिस्ट पास्टर स्व. रोबोर्ट कार्थकको जीवनबाट सिक्नै पर्ने कुराहरु :

केपी अधिकारी , अगुवा –फिलाडेल्फिया मण्डली, ललितपुर

नेपालमा ६ दशक भन्दा बढी समदेखि अनवरत रुपमा परमेश्वरको राज्यको मात्र काम गरी आफ्नो जीवनलाई ख्रिस्टको पाइलामा हिडाई रहने दोस्रो र तेस्रो पुस्तालाई समेत आफ्नो असल छाप छोडेर प्रभुकै उपयुक्त समयमा अनन्तको घरमा प्रवेश गर्नु भएका बरिस्ट पास्टर रोबोर्ट कार्थकलाई हार्दिक श्रद्दा सुमन अनि शोक सन्तप्त परिवारजन, मण्डलीहरु अनि आम इसाई समाज प्रति समवेदना प्रकट गर्दछु I “गोर्खालीले मुक्ति पाउनु पर्छ” भन्ने नारा लिएर देशमा आफ्नो जीवनकाल भरि केवल प्रभुको सेवामा आफुलाई अर्पण गरी प्रभुको प्रेम लाखौं मनिसहरुलाई पस्कने नेपाली मण्डली इतिहासका एक महान योद्दाले आफ्नो दौड पुरा गर्नुभयो अनि प्रभुकै स्वर्गीय अनन्तको घरमा   जानुभयो I  

उहाँको प्रभु प्रति  समर्पित जीवन र सेवाबाट हामी आफुलाई इसाई हौँ र सेवकाई गर्दछौं भन्न रुचाउनेहरुका लागि सिक्नु पर्ने धरै छन् जुन थोरै मात्र व्यक्त गर्न चाहन्छु :

  • धार्मिक मानिस : पा. रोबोर्ट कार्थक एक सच्चा धार्मिक मानिस हुनुहुन्थ्यो र प्रभुले उहाँको जीवनमा सेवा भन्दा अरु कुरा दिनु भएन र केवल पूर्ण जीवनकाल प्रभु र प्रभुका मानिसहरुको  सेवा गर्नुभयो I चाहेको भए उहाँ देशकै ठुलो मानिस बन्न सक्नुहुन्थ्यो तर प्रभुको महान राज्यको कार्यकर्ता भएर सेवा गर्न रुचाउनु भयो अनि कसैलाई हानि हुने कुनै काम गर्नु भएन जो प्रभुको निश्खोट सेवक बन्नुभयो I
  • नम्र मानिस : उहाँ सधैं प्रभुमा नम्र , साना  ठुला सबै मानिससंग नम्र बन्ने अनि प्रभुको प्रेम मात्र पस्कने व्यक्तित्व हुनुहुन्थ्यो जसले गर्दा देशमा नेपाली मण्डलीको वृद्धि र विकास हुन सक्यो र आजको अवस्थामा इसाई समाज आई पुगेकोछ I मैले पनि २६ वर्ष अघि प्रभुलाई विश्वास गर्ने बेलामा उहाँको नाम सुनेको थिएँ एक आदर्श इसाई जगतको पास्टरको रुपमा I बेला बेलामा भेट हुँदा काँधमा धाप दिएर प्रभुको राज्यको काम गर्ने बाबुहरूले नै हो भन्नुहुन्थ्यो, आज भन्दा ६ वर्ष अघि करिब २० मिनेट जति उहाँ संग मेरो भेट भएको थियो जुन भेटमा प्रभुको राज्य र उत्साहको मात्र कुरा गर्नुभयो जसले मलाई ठुलो उर्जा मिलेको थियो I मेरो शीरमा हात राखेर मलाई प्रार्थना र आशिर्वाद दिनुभयो जसलाई मैले चाहेर पनि भुल्न सक्दिन I
  • प्रार्थनामा जिउने मानिस : उहाँ निरन्तर सबैका लागि सबै समयमा प्रार्थना गरि रहने र प्रभुमा अर्ज बिन्ति गरिरहने ईश्वर भक्त पास्टर हुनुहुन्थ्यो I उहाँको प्रार्थनाको जीवनले धेरैलाई प्रेरणा दिएकोछ, उत्साह दिएकोछ अनि आत्मिक यात्रामा सबल बनाएकोछ I
  • प्रभुको बचनमा अडिग रहने व्यक्तित्व : उहाँको जीवनमा बोल्ने , खाने, उठ्ने बस्ने, संगत, प्रचार, सल्लाह, शिक्षा, ढाडस दिने सबै पक्षहरुमा जीवित बचनको स्वाद र मिठास मात्र पाइन्थ्यो I बचनलाई पालन गर्ने भए पढ्नु नभए समय खेरा नफाल्नु भन्ने संदेश उहाँको हुन्थ्यो I हामी इसाईहरु सत्य र जीवित परमेश्वरलाई आराधना गर्नेहरु हौँ त्यस कारण यो जीवनमा मिसावट हुनु हुँदैन भन्ने अडान उहाँमा थियो I
  • प्रभुको आवाज सुन्ने र दर्शन देख्ने  व्यक्ति : उहाँले अंगालेको जीवन शैली ख्रिस्टको जस्तै थियो जसले गर्दा उहाँ प्रभु संग निरन्तर समिपमा रहनुहुन्थ्यो र वार्तालाप गर्नुहुन्थ्यो I केही समय अघि नै उहाँलाई थाहा थियो सायद प्रभुले दर्शन दिनुभयो होला – अनि बचनमा बोल्दै गर्दा भन्नु भएको थियो यदि कोरोना भाइरस पठाएर मलाई उठाउनु भयो भने पनि धन्यवाद प्रभु तपाइको घरमा हुन पाउनु असल हो भन्नु भएको थियो I
  • छलकपट नभएको मानिस : उहाँमा कुनै दुई वटा मनहरु थिएनन् केवल प्रभुले दिनुभएको एउटा ह्रदय जसमा उहाँ जिउनुभयो र अन्तिम सम्म नथाकी कन सेवा नै गरिरहनु भयो I जसलाई पनि मुस्कानले स्वागत गर्ने संसारका लोभ मोहमा लैजान्छ जुन कुरा उहाँमा थिएन र ९५ वर्षको जीवनभरी प्रभुको सेवामा रहन र आफ्नो दौड राम्रो संग पुरा गर्न सफल हुनुभयो I
  • धन सम्पत्तिमा मोह नभएका सेवक : उहाँको धन केवल प्रभुको राज्य नै थियो I आज हामी धरै अगुवाहरु धन संग सेवा जोडेको देख्छौं र मण्डलीमा पनि हुनेखाने र हुँदा खाने वर्ग सृजित भएको देखिन्छ तर पास्टर कार्थकमा त्यो मोह थिएन जसले गर्दा प्रभुको सिद्द सेवक कहलिनु भयो अनि हामी सबैका आदर योग्य बन्नुभयो I
  • एक जिम्मेवार र उत्तरदायी व्यक्तित्व : उहाँ इसाई जगतका अति जिम्मेवार लिडर अनि समग्र समाजमा प्रभुको गुणले ओतप्रोत भएका , आफ्नो परिवार र मण्डली प्रति पूर्ण उत्तरदायी वहन गर्ने व्यक्तित्व हुनुहुन्थ्यो I देशमा यस प्रकारका राजनेता हुने र राज्य चलाउने हो भने समाज रुपान्तरण र देशको शीर नै उच्च हुने थियो I आज हामी पनि उहाँको यस गुणलाई अंगीकार गर्नेहरु बन्न सक्छौं कि ?
  • एक आदर्श व्यक्तित्व : उहाँ समग्र इसाई समाजका एक उज्ज्वल तारा अनि आशा र विश्वासका घर बन्नुभयो जसका कारण हजारौं मानिसको जीवन रुपान्तरण भएका छन् I हामी सबैका आदर्श र अग्रज लिडर जसले समाजलाई एउटा उज्यालो छर्न सक्नुभयो र हामी आज त्यो उज्यालोमा रमाई रहेका छौं I आज उहाँको पाइला पछ्याउन सकेमा हामी पनि सुधारको बाटोमा हिड्न सक्छौं कि ?

आज हामी देशमा आफ्नो परिचयमा इसाई हुँ, सेवा गर्छु, प्रभुको काम गर्छु भन्दा निकै सजिलो छ तर जीवन जियाई र गवाही बनाउन असफल भएका कारण हाम्रो सेवा अस्थायी बन्छ अनि हामी थोरै समयमा नै धरै देखिने कुराको पछि दौडी रहन्छौं , फुर्सत छैन I

अनि आफ्नो कामको सेवाको पारदर्शितामा चुक्दछौँ, परनिर्भरतामा जीवन र सेवा चलाउने गर्दछौं भने हामीसंग साधन स्रोतहरु त धेरै हुन् सक्छन् तर प्रभुको राज्य गुमिसकेको हुन्छ जुन अन्तिम प्राथमिकतामा पुगिसकेको हुन्छ I त्यसकारण प्रभुको  सेवा प्रभुकै सेवा हुनुपर्दछ अरुको होइन I

पास्टर रोबोर्ट कार्थक गुरुबाले जिउनु भएको जीव, प्रभुमा गर्नु भएको अथक सेवा र पूरा गर्नु  भएको दौड जस्तै हामीमा पनि सर्न सकोस् भनी निरन्तर प्रार्थना गरौँ I

आमिन्  !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here