बि.पी खनाल
नेपाली ख्रीष्टियन इतिहासले बडो आदरसाथ सम्झने नाउँ हो रोबर्ट कार्थक । विनम्र, क्षमाशील र धार्मिकतापूर्ण तर अति साधारण जीवनशैलीका धनी कार्थक नेपाली इसाई मण्डली अर्थात् ज्ञानेश्वर मण्डलीका बरिष्ट पाष्टर त थिए, उनको देहवसानले सो मण्डलीका सयौं शाखा मण्डलीहरू र हजारौं विश्वासीजनहरूले आफ्ना श्रद्धेय पाष्टर गुमाएका अवश्य हुन्, तर त्यतिमै उनको अनुपस्थिति खड्किने होइन, सम्पूणर् नेपाली मण्डलीका लागि स्वयम् आस्थाको धरोहर बनेका उनी लाखौं नेपालीभाषी ख्रीष्टियनहरूका आत्मिक अविभावक बनिसकेका थिए र गत जेठ ४ गते उनी स्वर्गारोहण भएको खबरले अधिकांश नेपाली ख्रीष्टियनहरूले एउटा अपूरणीय क्षति महसुस गरे । तत्काल नेपाली मण्डलीको खम्बा ढलेको अनुभूति सर्वत्र गरियो, ख्रीष्टियन समुदायबाट एक युगपुरुषको देशवसान भयो ।
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवकको रूपमा आफ्नो सम्पूर्ण जीवनसमर्पण गरेका रोबर्ट कार्थक ख्रीष्टको अनुकरणमा सबैका लागि एउटा बलियो उदाहरण थिए । पूर्वोत्तर भारतको कालिम्पोङमा ख्रीष्टाब्द १९२६ साल जनवरी १० का दिन जन्मिएका थिए । यद्यपि उनी ख्रीष्टियन आस्थाका मानिसहरूको वरिपरि हुर्केका थिए, सानै उमेरमा मण्डलीमा हुने बालस·तिमा सहभागी हुनु, घरमा आध्यात्मिक अनुशासन पालन गरिनु र सहज-असहज अवस्थाहरूमा वा बिहान-बेलुका प्रार्थना गर्नु उनका लागि नौलो थिएन । उनका आमाबुवा र हजुरआमाबाहरू सबै ख्रीष्टियन थिए । उनका बुवा कालिम्पोङको चर्चमा प्रेस्बिटर (एल्डर) को रूपमा सेवा गर्ने । तर युवावयको २० वर्षे उमेरमा पुगेपछि मात्रै कार्थकले ख्रीष्ट येशूलाई आफ्नो जीवनको मुक्तिदाता ग्रहण गरेका थिए । त्यसको दस वर्षपछि नेपालीहरूमाझ सुसमाचारको जिम्मेवारी बोकेर मिसनरी बनी काठमाण्डौ प्रवेश गरेका कार्थकले १९५७ देखि निरन्तर पाष्टरीय सेवामा आफूलाई समर्पण गरे । झण्डै ६५ वर्षसम्म नेपाली मण्डलीको पाष्टर, शिक्षक र आत्मिक अविभावकको रूपमा अनवरत सेवा गरेका उनले वास्तवमै ख्रीष्टकै जीवनको अनुकरण गरेका थिए र नेपाली ख्रीष्टियन विश्वासीहरूका लागि उनी सदैव सम्झनायोग्य नमूना बनिरहनेछन् ।
अहिले यी पंक्तिहरू तपाईंअघि प्रश्तुत गरिरहँदा मैले स्व. रोबर्ट कार्थकको खासै बखान गर्नुछैन । त्यसो त उनी कहिल्यै आफ्नो स्तुतिमा सामुन्ने उभिएकाहरूलाई स्वीकार्दैनथे, मेरा लागि भने त्यही विनम्रता सधैं स्मृतिमा रहनेछ । आफूलाई मण्डलीको संस्थापक भनेको, नाउँ अगाडि ‘रेभरेन्ड’ उपाधि नराख्न सचेत गराइरहेको र गतिला औपचारिक जमघट र समारोहहरूमा प्रमुख अतिथि’ बन्न इन्कार गरेकोजस्ता कुराहरू मेरालाई मार्गदर्शन बनून् । सम्भवतः आफूले कत्ति मेहनत नगरी वा अझ भनूँ अर्काको मेहनतमाथि लूटको श्रेय बटुल्न जहिल्यै अग्रसर देखिने अवसरवादी चरित्रबाट अवाक् भई उनले आफूलाई केही नभएजस्तो विनम्रतामा उभ्याएका हुन् भन्न मन लाग्छ । त्यसभन्दा बढी अहिले रोबर्ट कार्थकको स्मृतिमा यी पंक्ति लेखिरहँदा उनी र उनकै समकालिन बनेर देशैभरि सुसमाचारको बीउ छर्दै हिडेका अरू पनि दर्जनौं अग्रज मिसनरी तथा पाष्टरहरूप्रति मनभरिको श्रद्धा सुमन व्यक्ति गर्नु पनि हो । हो, समय आएको छ, त्यति बिघ्न असाधारण काम अति सामान्य, धेरै लेखपढ नभएका र सोझा स्त्री-पुरुषहरूले कसरी गर्न सकेका होलान् भनेर नेपाली मण्डलीले अब केहीबेर आफूअघिको धरातलका बारेमा स्मरण गर्ने बेला आएको छ । रोबर्ट कार्थक त्यो पंक्तिका अग्रजहरूमध्ये एक हुन्, जसलाई फर्केर हेर्दा हाम्रा ह्दय परमेश्वरलाई दिनुपर्ने महिमाले भरिएको हुनुपर्छ । वास्तवमा त्यो समय, त्यो पुस्ताले उठाएको सुसमाचारको भार आफैंमा निकै चुनौतीपूणर्, साहसिक र जीवन-मरणको जोखिम थियो । आजको दाँजोमा अत्यन्तै सीमित स्रोतसाधन र सुबिधाको उपयोग गर्दै उनीहरूले बसालेको जगमाथि हामीले कस्तो इमारत खडा गर्दैछौं भनी मूल्याङ्कन गर्ने मोडमा हामी आइपुगेका छौं ।
राज्यको कठोर नीतिका बाबजुद पनि ख्रीष्टको मुक्तिको सुसमाचार एककान-दुईकान फैलिने काम भयो, त्यसका रोबर्टको नेतृत्व अविस्मरणीय रहने छ । त्यसो त वि.सं. २०४७ सालसम्मै देशले सुसमाचारको खिलाफमा कठोरता अपनाएको हो, तर त्यसको ३५ वर्ष पहिल्यै रोबर्ट कार्थक दार्जीलिङबाट ११ जनाको मिसनरी टोलीको नेतृत्व गर्दै काठमाण्डौ प्रवेश गरेका थिए । बाँकी सदस्यहरूले आ-आफ्नो योग्यता वा क्षमताअनुसार फरक व्यवसायिक प्रयत्न शुरू गरे तापनि तिनीहरू मण्डली स्थापनामा सहकार्य गरिदिए । उसबेला सार्वजनिक ठाउँमा सुसमाचार प्रचार गर्नु सोच्न नहुने अपराध ठहथ्र्यो । कानूनतः हिन्दू धर्म त्यागेर अर्को धर्म ग्रहण गर्ने-गराउने दुवैले तत्कालिन मुलुकी ऐनले तोकिदिएअनुसार गम्भीर दण्डको सहभागी बन्नुपथ्र्यो, धर्म परिवर्तन गर्नेलाई ३ वर्ष र गराउनेलाई ६ वर्ष जेल सजाय हुने व्यवस्था थियो (मुलुकी ऐन, अदल २०)।
त्यसो त नेपालीहरूमाझ सुसमाचारको काम देशबाहिर व्यापक फैलिएको थियो । खासगरी रोजगार तथा दीर्घकालिन गुजाराका लागि मु·लान (पूर्वोत्तर भारतका दार्जीलिङ, आसाम, नागाल्याण्ड, मणिपुर, मिजोराम, मेघालय, आदि) विभिन्न प्रदेशहरूमा पुगेका सयौं नेपालीहरूले ख्रीष्टलाई ग्रहण गरिसकेका थिए । यता २०१७ सालको शाही कूपछि लागू गरिएको पञ्चायती व्यवस्थाले ख्रीष्टियन आस्थाका मानिसहरूलाई अत्यन्तै कठोरतापूर्वक दमनमात्रै गरेन, दर्जनौं सुसमाचारका कार्यकर्ताहरूलाई जेलमा थुन्ने र देशनिकाला गर्नेसम्मका कामहरू गर्यो । तर त्यही ३० वर्षे अवधिमा देशभित्र विभिन्न शहरहरूमा झण्डै १२० वटा साना ठूला मण्डलीहरू स्थापना भएको तथ्याड्ढ देखिन्छ ।
रोबर्ट कार्थकले जीवनको २०औं वसन्तसम्म नामधारी’ ख्रीष्टियन जीवन बिताएको कुरा मलाई बताएका थिए । पन्जाबतिरबाट आएका एकजना मिसनरीले ख्रीष्ट येशूको विषयमा प्रचार गरेको सुनेपछि उनले वास्तवमै “ख्रीष्टियन जीवन यसरी चल्दैन” भन्न थालेका थिए । केही महिनापछि, विराटनगर पारिपट्टि बसेर जोगमनीमा बसेर नेपालीहरूलाई सुसमाचार सुनाउने काममा समर्पित एलिजाबेथ फ्रांकलिन नाउँकी एउटी मिसनरी कालिम्पोङमा आइन् । तिनले रोबर्ट कार्थक र केही युवाहरूलाई बाइबल अध्ययनमा डोर्याइन् । त्यही क्रममा तिनले सुसमाचारको महत्व र नेपालमा मुक्तिको सन्देशको खाँचो बताइन् । तिनका अनुसार डेबिड मुखिया, तीरबहादुर देवान, दाउद मसिहजस्ता सुसमाचारको काममा समर्पित बनेर प्रत्येक नेपालीलाई खोजीखोजीकन कसरी सुसमाचार सुनाउने काम भैरहेको छ भन्ने जानकारी पनि रोबर्टले पाए । नेपालमा २००७ को आन्दोलन चर्किन लागेको थियो । राजनीतिक व्यवस्था बदल्न र राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र ल्याउन आन्दोलन चल्दै थियो । त्यही मौकामा तिनले नेपाल अधिराज्यमा प्रवेश पाउन भनी राजासँग बिन्तीपत्र पठाइएको कुरा सुनाइन् । यदि राजाले अनुमति दिएको खण्डमा नेपाल जाने योजना रहेको र त्यसका लागि नेपालीभाषी मिसनरीहरूको लागि प्रार्थना गरिरहेको पनि तिनले बताइन् । त्यही दिनउसो रोबर्टले नेपालमा जाने सूर कसे । त्यसैको पूर्वाभ्यास गर्दै रोबर्ट आफ्ना ज्वाइँ राजेन्द्र रोङ्गोङसित रक्सौल हुँदै भीमफेदीसम्म पुगेर फर्किएका थिए, जुन त्यसबेला नेपाल प्रवेशको सबैभन्दा महत्वपूणर् नाका थियो ।
त्यसको चार वर्षपछि फ्रांकलिनले रोबर्टलाई नेपाल यात्रामा सहभागी हुन निम्तो पठाइन् । नेपालमा महिला शिक्षा प्रबद्र्धन गर्ने तिनको योजना थियो । सरकारका प्रतिनिधीहरूसित कुराकानी गर्न र काठमाण्डौ उपत्यकामा कन्या स्कूल शुरू गर्नमा तिनले रोबर्ट र राजेन्द्रको सहायता चाहेकी थिइन्, किनभने तिनीहरू त्यसबेला शिक्षकको रूपमा काम गर्ने मानिसहरू थिए । यसरी १९५६ फेब्रुअरी १९ मा कालिम्पोङदेखि शुरू गरेको मार्च ३ तारिखका दिन काठमाण्डौसम्मको तीन हप्ते यात्रा सम्पन्न भयो । उनीहरूको ११ सदस्यीय टोली शुरूमा भक्तपुरमा रहेका तीरबहादुर देवानको सम्पर्कमा पुगे र केही महिनासम्म उनीहरूले भक्तपुरमै बिताए । तर स्कूल खोल्नका लागि सरकारसँग भएको सम्झौताअनुसार उनीहरूले काठमाण्डौमै आउनुपर्ने भएकोले त्यो टोली डिल्लीबजारमा बसाइँ सर्यो ।
वि.सं. २०११ सालको भदौ अन्तिम साताको आइतवार डिल्लीबजारमा “डिल्लीबजार स·ति” शुरू भयो । राजेन्द्र रोङ्गोङलगायत अरू साथीहरू शिक्षालगायत विभिन्न पेसामा संलग्न भए तर रोबर्टले चाहिँ आफूलाई पाष्टरीय सेवाका लागि परमेश्वरले बोलाउनुभएको हो भन्ने विश्वासमा आफूलाई उभ्याए । उनले यस सेवामा लाग्न पर्याप्त तालिम नभएको महसुस गर्दै विभिन्न समयमा कलकत्ता, इलाहावाद र लण्डनमा समेत तालिम लिए । तीन वर्षको नेपाल बसाइपछि उनले सिक्किमको गान्तोककी मेरी लेप्चासित २०१७ सालको पुस ५ गतेका दिन बिवाह गरे । मेरीले रोबर्टलाई ३७ वर्षको दाम्पत्य साथमात्रै दिइनन्, मण्डली स्थापना, वृद्धि र परिपक्वताको बलियो नेतृत्वसमेत दिएर २०५४ सालमा पार्थीव यात्रामा उनलाई छाडेर गइन् ।
डिल्लीबजारभन्दा केही पूर्वतिर ज्ञानेश्वरमा सरेको मण्डलीमा उनले पास्टरको जिम्मेवारी समालेयता नेपालकै सबैभन्दा ठूलो र प्रभावकारी मण्डलीको रूपमा चिनिएको “ज्ञानेश्वर मण्डली” निर्माणमा सहकर्मी विश्वासीजनहरूलाई रोबर्टले कुशल नेतृत्व प्रदान गरे । पछि नेपाली इसाई मण्डली’को नामले चिनिएको उक्त प्रभावशाली मण्डलीमा उनले निरन्तर पाष्टर बनेर सेवा गरिरहे । देखिन्छ, उनको एउटै ध्येय सम्पूणर्रूपमा परमेश्वरको सेवाको लागि समर्पित हुने । हुन पनि उक्त स·ति शुरू भएदेखि जीवनपर्यन्त रोबर्टले त्यही नेतृत्व अनवरत रूपमा पूरा गरे ।
पुनश्चः कोरोना महाकारीको कहर उत्सर्गमा पुगेको समयमा रोबर्टको स्वास्थ्य अवस्थामा असन्तुलन देखियो । उपचारको निम्ति नाउँ चलेको अस्पतालमा भर्ना गरिएका उनी त्यहाँबाट फर्किएनन् । जीवनको नियति हो मृत्यु, उनी देहत्यागका लागि आफैं पनि तयार थिए । तथापि ६५ वर्ष लामो सालिन र कर्तव्यनिष्ठ सेवाको अदम्य उदाहरण प्रश्तुत गरेका उनले ९६ वर्षको दीर्घायु पाउनुमा पनि कृतज्ञ हुनुपर्ने आग्रह उनी आफैंले त्यसअघि भन्दै आएको कुरा मण्डली र परिवारजनहरू साक्षी दिन्छन् । अस्पताल भर्ना हुनुभन्दा केही हप्ताअघिमात्र वचन प्रचारको क्रममा उनले भनेका थिए रे, “जसरी एलिया अगमवक्तालाई लिन स्वर्गबाट अग्नीमय रथ पठाइएको थियो, त्यसैगरी कोरोना महामारी पनि धेरैका लागि स्वर्गबाट लिन पठाइएको महिमाको रथ हुनसक्छ ।” उनले भनेजस्तै भयो, अहिलेसम्म पाष्टर रोबर्टकै बिरासत सम्हाल्ने उत्तराधिकारी भनी सबैले स्वीकार गरेका उनकै ज्येष्ठ पुत्र सामुएल कार्थकलगायत १५० भन्दा बढी ख्रीष्टविश्वासीहरूले कोरोनाको सवार चढेर अनन्त स्वर्गतिरको यात्रा तय गरिसकेका छन् ।
नेपाली ख्रीष्टियन समुदायमा पाष्टर’ लाई गुरुबा’ भन्न थालिएकोमा प्रत्यक्ष वा परोक्ष रोबर्ट कार्थकले श्रेय बटुलेका हुन्, तथापि नेपाली सँस्कृतिमा बयोवृद्ध र आदरणीय शिक्षकलाई गुरूज्यू भन्ने चलन अस्वाभाविक होइन । उनको वियोगमा धेरैले मन छुने टिप्पणी गरेका छन् । तीमध्ये नवोदित ख्रीष्टियन लेखक केपी अधिकारीको ‘हाम्रो आशिष’ पत्रिकामा प्रकाशित लेख मननयोग्य छ । उनका अनुसार स्व. पाष्टर रोबर्ट कार्थक एक धर्मी अगुवा थिए, उनी विनम्र तर बाइबल धर्मशास्त्रको शिक्षा र अनुशासनमा सम्झौताहिन उभिनसक्ने व्यक्ति थिए । उनी प्रार्थनामा निरन्तर लागिरहने, दर्शनयुक्त अगुवा, सोझो, निरपराध वा छलकपट नभएका मानिस थिए । त्यसमाथि उनी धनसम्पत्ति, सुखसयल, आदरमान, आदिको चाह नगर्ने स्वर्गीय नागरिक थिए ।
Reference:
Jonathan Lindell, Nepal and the Gospel of God. Kathmandu: The United Mission to Nepal & Pilgrims Book House, 1997.
BP Khanal, Prithak Bichar (Uncommon Thoughts on Contemporary Christian Leadership). Kathmandu: Bachan Books, 2012.
Cindy Perry, A Biographical History of the Church in Nepal. Kathmandu: Nepal Church History Project, 1990 (3rd Edition 2000).
BP Khanal, Amruwali Kanchho: A biography on Pastor Tir Bahadur Dewan. Kathmandu: Samdan Publication with ISPCK, 1998.
Rajendra K. Rongong, Early Churches in Nepal: An Indigenous Christian Movement Till 1990. Kathmandu: Ekta Books, 2012.
Norma Kehrberg, The Cross in the Land of the Khukuri. Kathamndu: Ekta Books, 2000 (reprint 2005).
Bhuvan Debkota, https://hamroashish.com/पास्टर-गुरुबाको-सम्झनामा/
BP Khanal, https://nepalchurch.com/16670/pastor-robert-karthak-the-living-pioneers-of-christian-mission-to-nepal/#_ftn1
KP Adhikari, https://hamroashish.com/ बरिस्ट-पास्टर-स्व-रोबोर्/