संयोजकमा चन्द्रमान नेपाली चयन
२३ असोज, काठमाण्डौँ । नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल)को आगामी राष्ट्रिय प्रतिनिधि सम्मेलन तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सात सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ।
वि.सं. २०१७ तदानुसार १९६० मा स्थापना भएको नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल) नेपालकै सबैभन्दा पुरानो, ठूलो र सशक्त ऐतिहासिक नेपाली चर्चहरुको अभिभावकीय संस्था हो ।
विहिवार काठमाण्डौँको वेथशालोम पुतलीसडक चर्चमा सम्पन्न विशेष महाधिवेशनले ६६औँ राष्ट्रिय प्रतिनिधि सम्मेलन तथा अधिवेशन आयोजना गर्नका लागि पास्टर चन्द्रमान नेपालीको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको एनसीएफएनले जनाएको छ।
निर्वाचन मण्डलको सदस्यहरुमा एनसीएफ नेपालका महासचिव शेरबहादुर ए.सी., गण्डकी प्रदेशका अध्यक्ष नवराज पाण्डे, पावल बस्नेत र अधिवक्ता केदारबहादुर खड्का छन् भने बाँकी तीन सदस्यहरूलाई अन्य प्रदेशका अध्यक्षहरूमध्येबाट चयन गर्ने निर्णय सभाले गरेको छ।
निर्वाचन मण्डलका संयोजक चन्द्रमान नेपालीले नयाँ नेतृत्व चयनका लागि आगामी अधिवेशनको मिति सार्वजनिक गर्ने, निर्वाचन आचारसंहिता बनाउने र निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र व्यवस्थित एवं नमुनायोग्य तरिकाले निर्वाचन सम्पन्न गर्ने बताउनुभयो ।
संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना चर्चका वरिष्ठ पास्टर रेभ. सूर्य बहादुर बल तामाङको सभापतित्वमा सम्पन्न विशेष साधारण सभाले महासचिव ए.सी.द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा नयाँ कार्य योजनाको प्रस्तुत प्रतिवेदन र कोषाध्यक्ष हिमाल राईद्वारा प्रस्तुत आ.ब. २०८१/०८२ को आर्थिक प्रतिवेदन, लेखापरीक्षको नियुक्ति तथा आ.ब. २०८२/०८३ को बजेट सर्वसम्मतले अनुमोदन गरेको छ भने हालको कार्यसमितिले गरेको निर्णयहरुको अनुमोदन पनि गरेको हो ।















