लन्डन । पछिल्लो समय विश्वभर लाबुबु डलको क्रेज बढ्दो छ । यो डल बनाउने कम्पनीले माग धान्नै सकेको छैन । यस्तोमा नक्कली लाबुबु डलको बिगबिगी बढेको छ ।
बेलायतको सीमामा यो वर्षको अहिलेसम्मको अवधिमा जफत भएको ३५ लाख पाउन्ड मूल्य बराबरको नक्कली खेलौनामा लाबुबुको अनुपात ९० प्रतिशत रहेको बेलायतको गृह मन्त्रालयले जारी गरेको तथ्याङ्कले देखाएको छ । लाबुबु हङकङमा जन्मिएका आर्टिष्ट कासिङ लुङले बनाएका एउटा डरलाग्दो राक्षस पात्र हो ।
खेलौना बेच्ने स्टोर पप मार्टसँग सहकार्य गरेपछि उनको यो पात्र चीन हुँदै विश्व चर्चित भयो । पप मार्टले यो डल १५ वर्षभन्दा माथिका लागि भनेर बेच्छ । किशोरकिशोरी र बालबालिकामा पनि यो उत्तिकै लोकप्रिय छ । वास्तविक लाबुबु डल निकै महँगो पर्छन् । तर यस्ता नक्कली डल कमसल हुन्छन् अनि सस्तोमा पाइन्छ ।
नक्कली डलमा हानिकारक रसायन भेटिएको अधिकारीहरूले बताएका छन् । लाबुबु डल किन्न ग्राहकबीच कुटाकुट भएपछि पप मार्टले मेमा बेलायतमा रहेको आफ्ना १६ ओटै पसल बन्द गरेको थियो । अहिले कम्पनीले अनलाइन लटरीबाट मात्रै यो खेलौना बेचिरहेको छ ।