दर्शन २०२१

0
96

परिचय (Introduction)
अहिले हामी २०२० साललाई पूर्णरूपमा बिदा गरेर नयाँ वर्षमा प्रवेश गरिसकेका छौँ । एकातिर हामी एकदमै खुसी छौँ र उत्साहित बनेका छौँ, कारण हामीले फेरि अर्को एउटा नयाँ साल देख्ने मौका पाएका छौँ ।

अर्कोतिर हामीमा केही चिन्ता, फिक्री र डर पनि छ, कारण गत सालमा हामीले जुन दुःख–कष्टहरू भोग्यौँ र जे–जस्ता समस्या तथा चुनौतीहरूको सामना गर्नुप-यो, ती कुराहरू अझै पनि केही हदसम्म बाँकी नै छन् र अझ नयाँ नयाँ चुनौतीहरू थपिने क्रम पनि बढ्दो छ ।

गत साल जसै हामी नयाँ वर्ष २०२० मा प्रवेश गरेका थियौँ, त्यति बेला त्यो वर्षलाई “प्रार्थनाको वर्ष” मनाउनुपर्छ भनेर उद्घोष गरिएको थियो र परमेश्वरले हामीलाई साँच्चै धेरै प्रार्थनामा समय बिताउने मौका पनि दिनुभयो अनि वर्षभरि विभिन्न किसिमले प्रार्थना गरियो र त्यो क्रम अहिले पनि जारी नै छ । त्यो वर्षको सुरुका दिनहरूमा भविष्यमा के होला भन्ने कुरा खासै केही थाहा थिएन तर पनि प्रार्थनाको वर्ष मनाऔँ भन्ने विचार आएको हुनाले त्यो कुरालाई घोषणा गरिएको थियो ।

हामी सबैलाई थाहा भएकै कुरा हो, गत वर्ष कोरोनाको कहरले हामीलाई कति गाह्रो बनायो र हामीले प्रार्थनामा धेरै समय बिताउनुपर्ने अवस्था सिर्जना भयो । अनि घरमै बसेका कारण समूहमा भेट्न नसके पनि अनलाइनमा धेरै प्रार्थना कार्यक्रमहरु गरियो ।

अहिले हामी यो वर्षको सुरुतिर नै छौँ, अब कसरी अगाडि बढ्ने र हामी सबै ख्रीष्ट विश्वासीहरूले आगामी दिनहरूमा के गर्नुपर्ने हो भन्ने कुरा अझै पनि अन्योलपूर्ण नै छ । आजसम्म पनि विश्वकै लागि खतरा बनेको कोरोना भाइरसको रोकथाम हुन सकेको छैन र यसले सिर्जना गरेका चुनौतीहरू पनि टरेर गएका छैनन् ।

यो वर्ष हाम्रा लागि गाह्रो,सजिलो के हुने होला ? पहिलाजस्तै भेटघाट र सेवा–सङ्गति गर्न पाइने कि नपाइने हो ? यो समस्या अझै जटिल बन्दै गयो भने कुन तरिकाले अगाडि बढ्ने होला ? अनलाइन सङ्गतिमा समेटिन नसकेका विश्वासीहरूलाई कसरी समेट्ने होला ?

अब पनि ठूलो जमघट गर्न नपाइने हो भने कस्तो तरिका अपनाउने होला ? मिसन, सुसमाचार, तालिम र मण्डली स्थापनाका कामहरू कसरी अगाडि बढ्ने होलान् ? आफ्नो जग्गा र भवन नभएका मण्डलीका सेवा–सङ्गतिहरू कहाँ कसरी गर्ने होला ? यसप्रकारका अनुत्तरित प्रश्नहरू प्रत्येक पास्टर, अगुवा र विश्वासीसँग अवश्य छन् र यसको उत्तर दिन सक्ने अवस्था पनि सिर्जना भइसकेको छैन ।

यस्तै थुप्रै प्रश्नहरू मनमा खेलिरहँदा, विभिन्न विचारहरू आइरहँदा र पवित्र आत्माको अगुवाइ खोजिरहँदा यो नयाँ वर्ष २०२१ लाई “खुसी र आनन्दको वर्ष” अर्थात् “प्रसन्नताको वर्ष” मनाउनुपर्छ भन्ने एउटा सोच मनमा आएको छ ।

यस्तो विचार आउनु त साह्रै राम्रो हो तर के यो सम्भव होला र ? अनि कसरी मनाउने त ? यसै क्रममा प्रार्थना गर्दा प्रभुको अगुवाइ खोज्दा यो वर्षका लागि एउटा विचार मनमा क्लिक भयो, त्यो होः “दर्शन २०२१ ।”
यो दर्शन के हो, कहाँबाट आयो र त्यसलाई कसरी पूरा गर्ने भन्ने कुराहरू अवश्य नै आउँछन् । अनि यसका लागि बाइबलीय आधार के त भन्ने कुरा पनि पक्कै आउला । यसकारण अब यस बारेमा केही चर्चा गरौँ ।

दर्शन २०२१ को मुख्य आधारचाहिँ यूहन्ना २०ः२१ हो, जहाँ लेखिएको छ – तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति ∕ जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँछु ।”

यो वर्षका लागि प्रभुले मलाई देखाउनुभएको नयाँ काम वा दर्शन यही नै हो । सरसर्ती हेर्दा यो काम खासै गाह्रो जस्तो लाग्दैन तर यसलाई पूरा गर्न त्यति सजिलो पक्कै पनि छैन । हामीले गर्नुपर्ने अन्य काम र सेवा कार्यहरू पनि प्रशस्तै छन् ।

अनि फरक मण्डली, फरक मण्डली सम्प्रदाय र संघ–संस्थाहरूका फरक–फरक इच्छा, योजना र लक्ष्यहरू पनि छन् तर अहिले हामी विगतका वर्षहरूभन्दा एकदमै फरक परिवेशमा जिइराखेका हुनाले अब अलि भिन्न प्रकारले प्रस्तुत हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

यसकारण यस पद र खण्डमा बताइएका कुराहरूलाई अनुशरण गर्न सके हाम्रो मण्डली र सम्पूर्ण ख्रीष्टीय समुदाय वर्तमान समयका चुनौती तथा समस्याहरू समाधान गर्न सफल हुन्थे कि भन्ने लाग्छ रु अब यो दर्शन २०२१ अर्थात् यूहन्ना २०ः२१ लाई विस्तृत रूपमा चर्चा गर्नुअगाडि त्यस अध्यायको १९–२३ सम्मको खण्डलाई सरसर्ती हेर्नु वेश होला ।

 पहिलो कुरा, पुनरुत्थान भएको दिन अर्थात् आइतवार साँझको समयमा भएको घटनाको परिदृश्य यहाँ देखाइएको छ (पद १९ क)।
 दोस्रो कुरा, त्यहाँ विकसित घटनाका कारण चेलाहरू यहूदीहरूका डरले ढोका बन्द गरेर भित्र बसिरहेका छन् (पद १९ ख) ।
 तेस्रो कुरा, येशू अचानक घरभित्र आएर तिनीहरूका माझमा उभिनुभई उनीहरूलाई भन्नुहुन्छ, “तिमीहरूलाई शान्ति !” (पद १९ग) ।
 चौथो कुरा, यति भनेर उहाँले आफु जीवित भएको प्रमाण स्वरूप उनीहरूलाई आफ्ना हात र कोखा देखाउनुहुन्छ (पद २०क) ।
 पाँचौँ कुरा, प्रभु येशूलाई उनीहरूका माझमा उपस्थित भएको देख्न पाउँदा त्यहाँ जम्मा भएका चेलाहरू अति खुसी हुन्छन् (पद २०ख) ।
 छैटौँ कुरा, प्रभुले चेलाहरूलाई भन्नुहुन्छ, “तिमीहरूलाई शान्ति ∕ जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँछु” (पद २१)।
 सातौँ कुरा, यति भनिसकेपछि उहाँले तिनीहरूमाथि सास फुकेर भन्नुहुन्छ, “पवित्र आत्मा लेओ, जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुने छैन (पदहरू २२, २३) ।

यस खण्डमा उल्लेख गरिएका कुराहरू यत्ति नै हुन् । यो ख्रीष्ट येशू मृत्युमाथि विजयी भएर आइसकेपछिको घटना हो । यस खण्डमा बताइएका थुप्रै कुराहरूमध्ये विशेष तीन वटा तथ्यहरू यहाँ देखा पर्छन्, जसका बारेमा चर्चा गर्नु सान्दर्भिक होला –

१. चेलाहरू बसिरहेको घरको ढोका बन्द छ ।
२. घरभित्र बसेका चेलाहरू डराइरहेका छन् ।
३. अचानक येशू उनीहरूका माझमा आइपुग्नुहुन्छ ।

चेलाहरू ढोका बन्द गरेर बसेको अवस्थामा येशू उनीहरूका माझमा सुटुक्क आइपुग्नुहुन्छ । उहाँले कसैलाई बोलाएको वा ढोका खोल्न लगाएको कुरा यहाँ कहीँ कतै पनि उल्लेख गरिएको छैन । तनाव र डरमा रहेका चेलाहरूका अगाडि अचानक उभिएर उनीहरूलाई उहाँले दुई पटकसम्म “तिमीहरूलाई शान्ति”, “तिमीहरूलाई शान्ति” भन्नुहुन्छ । खासमा उनीहरूका मनमा त्यति चैन पक्कै पनि थिएन र एक किसिमले तिनीहरूले शान्ति गुमाएका थिए ।

प्रभु येशूको क्रुसको मृत्युका विविध घटनाहरूले उनीहरूलाई असाध्यै डर लागेको र त्यसरी ढोका बन्द गरेर भित्र गुपचुपसँग बसेका हुनुपर्छ । मानवीय जीवनमा सिर्जना हुने विभिन्न अवस्थाहरूमध्येकै यो पनि एक हो भन्दा अतिशयोक्ति नहोला ।

एकातिर डर, अर्कोतिर अन्योल भएकै समयमा येशू प्रभु उनीहरूका माझमा अचानक खडा हुन आइपुग्नुहुन्छ । उहाँको आश्चर्यमय उपस्थिति र उहाँ प्रभु येशू नै हुनुहुन्छ भन्ने कुराले चेलाहरूलाई अचम्मित मात्रै तुल्याउँदैन, अत्यन्तै खुसी पनि बनाउँछ । यो कुरा अहिलेको हाम्रो वर्तमान परिस्थितिसँग पनि केही मिल्दोजुल्दो देखिन्छ ।

हामी सबै जना नयाँ भाइरस र त्यसले निम्त्याउने समस्यासँग डराएर ढोका बन्द गरेर घरभित्र बसेको अहिले दश महिना भइसक्यो । यति बेला केही खुकुलो भए पनि खुसी भएर रमाउन सक्ने अवस्थामा हामी अहिले पनि छैनौं ।

हामी अझै पनि एक प्रकारले डराइरहेका छौँ र अरूका लागि घरको ढोका खुला गर्न सकेका छैनौ । जसरी चेलाहरूको भङ्ग भएको शान्ति, गुमेका खुसीका क्षणहरू फर्काउन येशू प्रभु उनीहरूका माझमा देखा पर्नुभयो । त्यसैगरी हाँसो, खुसी र आनन्द पुनः फर्काउन येशू प्रभुको उपस्थिति हाम्रा लागि पनि अपरिहार्य छ । जब हामीमा उहाँको उपस्थिति हुन्छ, त्यसपछि हामीले खुसी, आनन्द प्राप्त गर्ने मात्र होइन हाम्रो लक्ष्य पनि पूरा गर्न सक्षम हुन्छौँ ।

यो दर्शन २०२१ के हो र कसरी पूरा गर्ने भन्ने सन्दर्भलाई विचार गर्ने हो भने हामी फेरि यूहन्ना २०ः२१ मा फर्केर जानुपर्छ र त्यहाँ भनिएका कुराहरूलाई विचार गर्नुपर्छ । उक्त पदमा येशूले चेलाहरूलाई भनेका कुराहरू यस प्रकार छन्– “तिमीहरूलाई शान्ति ∕ जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु ।”

यस पदबाट विशेष तीन वटा उत्साहजनक कुराहरू वा नयाँ वर्षका लागि विशेष उपहारहरू हामीले प्राप्त गर्न सक्छौँ । जसरी प्रभु येशूले आफ्ना चेलाहरूलाई तत्कालीन समयमा ती उपहारहरू दिनुभयो, त्यसैगरी आज हामीलाई पनि ती दिन चाहनुहुन्छ, जुन यस प्रकार छन् –

१. शान्तिको उपहार ९त्जभ नषत या एभबअभ०
जसै प्रभु येशू चेलाहरूका माझमा उभिनुभयो र उहाँले पद १९ र २१ मा दुई पटकसम्म “शान्ति तिमीहरूलाई”, “शान्ति तिमीहरूलाई” भन्नुभयो । त्यति बेला भएको घटना र त्यसबाट सिर्जिएको अवस्थाले चेला तथा प्रभुका अन्य अनुयायीहरूका मनमा पक्कै पनि शान्ति थिएन ।

येशू प्रभुको क्रुसको मृत्यु, कति चेलाहरू सम्पर्कविहीन भएका र उनीहरूलाई छोडेर गएका अनि त्यहाँको माहोल तिनीहरूका विरुद्ध भएको हुनाले यहूदीहरूले उनीहरूलाई पनि मार्लान् भन्ने डर उनीहरूमा अवश्य थियो । फेरि येशूको मृत शरीर पनि चिहानमा भेटिएको थिएन । त्यस समयमा उनीहरूलाई सबभन्दा पहिलो कुरा शान्ति नै चाहिएको थियो र प्रभुले त्यही नै उपहारस्वरूप उनीहरूलाई दिनुभयो ।

अहिले सारा विश्व र हाम्रै देशको अवस्था, विगतमा हाम्रा विरुद्धमा चालिएका कदमहरू र यहाँ बेला बेलामा विकसित हुने नकारात्मक परिस्थितिहरूलाई विचार गर्ने हो भने हाम्रो मनमा पनि खासै शान्ति छैन भन्दा हुन्छ । यतिबेला हामीलाई निरास पार्ने थुप्रै कुराहरू हाम्रो अगाडि छन् ।

यही कारण यस नयाँ वर्षको सुरुको समयमा उहाँले तपाईं र मलाई उहाँको शान्ति, एउटा उपहारको रूपमा दिन चाहनुहुन्छ । यो संसारले दिने वा भौतिक कुराहरूबाट पाइने शान्तिजस्तो पक्कै पनि होइन । यसै सन्दर्भमा यूहन्ना १४ः२७ मा भनिएको कुरालाई विचार गरौँ – “शान्ति म तिमीहरूसँग छोडिराख्छु । म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु । संसारले दिए जस्तो म तिमीहरूलाई दिँदिनँ । तिमीहरूको हृदय व्याकुल र भयभीत नहोस् ।

२. शक्तिको उपहार (The gift of Peace)
बाहिरी रूपमा विचार गर्दा त्यति बेला विरोधीहरूले जितेको र विश्वासीहरूले हारेको अवस्था थियो । उनीहरूले मुख्य व्यक्ति अर्थात् गोठालोलाई नै प्रहार गरेका थिए । प्रभु येशूलाई पक्रेर दुःख दिँदा र मार्दासम्म पनि कसैले केही गर्न सक्ने अवस्था थिएन ।

चेलाहरू त्यतिबेला निरीह बनेका थिए । हो, प्रभु येशूले सिकाउनुभएका धेरै कुराहरू उनीहरूका मनमा अवश्य थिए तर त्यहाँ विकसित विषम परिस्थितिले उनीहरूलाई शक्तिहीन बनाएको थियो । अनि उनीहरूले चाहेर पनि केही गर्न सक्ने अवस्था नै थिएन । वास्तवमा उनीहरू भागेर वा लुकेर हिँड्नुपर्ने परिस्थिति सिर्जना भएको थियो । आज हामी पनि त्यस्तै अवस्थामा जिउन बाध्य भएका छौँ ।

हामीले चाहेर अहिलेको समस्या तथा चुनौतीलाई समाधान गर्नै सक्दैनौं । त्यति बेला उनीहरूलाई शक्ति र अधिकार चाहिएको थियो ताकि उनीहरूले परमेश्वरबाट पाएको आफ्नो जिम्मेवारी पूरा गर्न सकून् । अहिले हामीलाई यो विषम परिस्थितिमाथि विजयी हुन र प्रभुले हामीलाई दिनुभएका काम तथा जिम्मेवारीहरू क्रमश: अगाडि बढाउन उहाँको शक्ति चाहिएको छ । ती निरीह बनेका चेलाहरूलाई जस्तै आज हामीलाई पनि प्रभुले त्यही शक्ति र अधिकार नयाँ वर्षको उपहारको रूपमा दिन चाहनुहुन्छ ।

यो शक्ति प्राप्त गर्ने कुरा पवित्र आत्माको आगमन र भरपूरिले मात्र सम्भव हुन्छ । यसकारण उहाँले दिनुहुने यो अमूल्य उपहार लिन हामी सबै तयार हुनुपर्छ । यसै सन्दर्भमा बाइबलका केही पदहरू हेरौँ –

अनि यति भनेर उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ । जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुने छैन” (यूहन्ना २०ः२२, २३) ।

“तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउने छौ र तिमीहरू यरूशलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुने छौ” (प्रेरित १ः८) ।

३. उद्देश्यको उपहार (The gift of Purpose)
जब मानिस विभिन्न समस्या तथा चुनौतीहरूले घेरिन्छ, त्यति बेला उसको दिमागले खासै काम गर्न नै सक्दैन । यो सबैले देखेर भोगेकै कुरा हो । त्यहाँ एकपछि अर्को गरेर विभिन्न घटनाहरू घटिरहेका छन् र पहिला उनीहरूले देखे, भोगेका भन्दा बिल्कुलै भिन्न अवस्थाहरू सिर्जना भएका छन् ।

यी कुराहरूले चेलाहरूका मनमा अशान्ति त थियो नै, उनीहरू शक्तिहीनजस्तै हुन बाध्य भएका थिए । उनीहरूको उद्देश्य के हो र प्रभुले उनीहरूलाई दिनुभएको जिम्मेवारी के थियो भन्ने कुरा पनि डरका कारण हराएको वा बिर्सिएको जस्तो अवस्था तत्कालीन समयमा भएको थियो ।

उनीहरूले कल्पनासम्म पनि नगरेका कति घटनाहरू हुँदा र आफ्नो पक्षमा ठूलो क्षति व्यहोर्नुपर्दा के गर्ने, के नगर्ने अन्योलपूर्ण वातावरण पक्कै पनि सिर्जना भएको थियो । उनीहरूले आफ्नो गन्तव्य हराएको जस्तो, जिम्मेवारी भुलेको जस्तो र उद्देश्य बिर्सेको जस्तो त्यहाँ पक्कै पनि भएको थियो ।

कति पटक हाम्रो जीवनमा पनि यस्ता कुराहरू हुन आउँछन् । यसै कारण ती उद्देश्य बिर्सेका र जिम्मेवारी भुलेका चेलाहरूका बीचमा उपस्थित भएर प्रभुले भन्नुहुन्छ, “जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँछु ।”

उहाँले यसो भन्नुको अर्थ हो, म पिताद्वारा उहाँको मिसन पूरा गर्न यस संसारमा पठाइएको व्यक्ति हुँ र मैले पनि तिमीहरूलाई उहाँको राज्यको काम गर्न पठाउँदछु । यहाँ उहाँले तिनीहरूलाई उहाँको काम गर्ने शक्ति पनि दिनुभयो भने उनीहरूका लागि काम वा उद्देश्य पनि बताइदिनुभयो ।

उहाँले उनीहरूलाई विशेष शक्ति दिनुभयो ताकि उनीहरूले कसैको पाप क्षमा गरे क्षमा हुने र नगरे नहुने । प्रभुबाट तिनीहरूले यति ठूलो अधिकार पाए, जुन उनीहरूले सोचेका पनि थिएनन् होला । यसका लागि बाइबलका केही पदहरू हेरौँ –

“किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो” (यूहन्ना ३ः१७) ।

“जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु” (१७ः१८) ।

“यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ” (मत्ती २८ः१९) ।

अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर । विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ तर विश्वास नगर्ने दोषी ठहरिने छ । विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुने छन्– मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषामा बोल्ने छन्, तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन । तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्ने छन् र तिनीहरू निको हुनेछन्” (मर्कूस १६ः१५–१८) ।

यो दर्शन २०२१ पूरा गर्नका लागि विभिन्न तरिकाहरू अपनाउन सकिन्छ । यसका लागि बाइबलीय तरिकाहरू आ–आफ्नो अवस्था र परिवेशअनुसार गर्न सके धेरै फलदायी हुन्छ । यसका लागि मत्ती १०ः१–२३ र लूका १०ः१–२० मा ख्रीष्ट येशूले बाह्र र सत्तरी चेलाहरूलाई सिकाउनुभएका कुराहरू नै अहिलेको अवस्थामा धेरै सान्दर्भिक हुने देखिन्छ । 

निष्कर्ष (Conclusion)
यो वर्ष हाम्रा लागि अझै चुनौतीपूर्ण हुनेमा धेरै जना विश्वस्त रहेको पाइन्छ र अहिलेको अवस्था हेर्दा पनि त्यसलाई पुष्टि गर्ने थुप्रै घटना, परिघटनाहरू देखा परिरहेका छन् । यसकारण कठिनाइ, समस्या तथा चुनौतीहरू आइरहन्छन् ।

कोभिड–१९ ले सिर्जना गरेका समस्याहरू समाधान भए पनि फेरि अरू कठिनाइहरू अवश्य आउने सम्भावना हुन्छ । तर हरेक परिस्थितिको सामना गर्दै जिउने कला सबैले सिक्नुपर्छ । साथै बाइबलका थुप्रै खण्डहरूमा गरिएका प्रतिज्ञाहरूलाई सम्झेर अगाडि बढ्नुपर्छ ।

उहाँले हाम्रा लागि जे गर्नुहुन्छ, त्यो असलै गर्नुहुन्छ भनेर सम्झनुप-यो र उहाँमा भरोसा गर्नुप-यो । अनि मात्रै हामीलाई सबै साह्रो, गाह्रो अवस्थाहरूमा जिउन सजिलो हुन्छ । अन्त्यमा बाइबलका केही पदहरू हेरौँ, जुन यस प्रकार छन् –

“बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर । हेर, म एउटा नयाँ कुरो गर्दैछु ∕ त्यो अब हुन आउँछ । के तिमीहरू त्यो देख्दैनौ ? म मरुभूमिमा एउटा बाटो र रुखो जमिनमा खोलाहरू बनाउँदैछु” (यशैया ४३ः१८, १९) ।

“हेर, पहिलेका कुराहरू भइसके र नयाँ कुराहरू म बताउँछु । ती हुनुभन्दा अगि नै म तिनका विषयमा तिमीहरूलाई प्रकाशित गर्ने छु” (४२ः९) ।

“मेरो निम्ति बितेको कुराको पुनर्विलोकन गर । हामी आपसमा यी कुरा छलफल गरौँ । तँ निर्दोष ठहरिनलाई आफ्नो कुरा पेश गर्” (यशैया ४३ः२६) ।

नयाँ वर्ष २०२१ को सबैलाई धेरैधेरै शुभकामना ∕
प्रभुमा सधैँ आनन्दित होऔँ र सबै परिस्थितिमा रमाउन सकौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here