– रामेश्वर यादव
“पुनरुत्थान र जीवन म नै हुँ” – यूहन्ना ११ः२५
“म ख्रीष्टलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकूँ” – फिलिप्पी ३ः१०
“उहाँको पुनरुत्थानमा अनन्त विजय लिई आउनुभो
आज तिमी–हामीलाई यही विजय दिनलाई येशूजी आउनुभयो” – कोरस १
माथि उद्धरण गरिएका ख्रीष्टको वचन, पावलद्वारा पवित्र आत्माले सिकाउनुभएको सत्यता र हाम्रै नेपाली मण्डलीका अगुवाले लेख्नुभएका भजनले ख्रीष्टको पनरुत्थानको महत्व र आवश्यकतालाई बताउँछन् ।
हाम्रो र हाम्रा आउने पुस्ताहरूको लागि “मृत्युबाट ख्रीष्टको पुनरुत्थान” एउटा रहस्यमय, ऐतिहासिक र धार्मिक तथ्य हो, जसलाई इतिहासमा मानिसहरू सजिलै विश्वास र अविश्वास गर्दै आएका छन् । उहाँको पुनरुत्थानलाई अधिकाङ्श मानिसहरूले जान्न सकेका छैनन् । तर ख्रीष्टियान जीवनको लागि यो अति नै महत्वपूर्ण विषय हो किनकि हामीलाई यसले परमेश्वरको अगाडि उभिन र खडा हुने आधार दिन्छ । साथै यसमा नै हाम्रो नयाँ र परिवर्तित जीवन अडिएका छन् ।
पुनरुत्थान र जीवन
ख्रीष्टले पुनरुत्थानलाई जीवनसँग जोड्नुभएको छ । यो तथ्यलाई उहाँले लाजरसलाई मृत्युबाट उठाउनुभन्दा पहिले उजागर गर्नुभएको थियो र लाजरसको जीवनद्वारा प्रमाणित पनि । येशूले पुनरुत्थान र जीवन दुवै आफैंलाई बताउनुभएको छ । यसको अर्थ ख्रीष्ट स्वयं नै पुनरुत्थान र जीवन हुनुहुन्छ । यसको लागि उहाँमा विश्वास गर्ने हामी परमेश्वरको जनहरूले कतै जाने र खोज्ने आवश्यकता नै छैन ।
पुनरुत्थानमा जीवन छ । यो असल कुरा हो किनकि जीवन पाउन मानिसहरूले हरेक असल कर्म र कुकर्म पनि गर्न तयार छन् । जीवनको लागि हरेक सीमा तोड्नुको मुख्य उद्देश्यचाहिँ मृत्युबाट आफूलाई जोगाउनु हो । तर पनि मृत्युले तिनीहरूलाई निलिहाल्छ । यसकारण पुनरुत्थानले दिने जीवनले मृत्युमाथि विजय भएको जीवन हो । अनि हाम्रो ख्रीष्टियान जीवन विजयबाट आरम्भ हुन्छ किनकि ख्रीष्टले हामीलाई पापबाट शुद्ध गरेर पवित्र जीवन दिइसक्नुभएको छ । यस जीवनलाई अनन्त जीवन, भरपूर जीवन, पवित्र जीवन र परमेश्वरको जीवन भनिन्छ ।
पुनरुत्थान र सुसमाचार
मृत्युलाई जितेपछि पनि ख्रीष्ट यस संसारमा चालीस दिन रहनुभयो । यो चालीस दिनमा उहाँले पुनरुत्थानको रहस्यमय शक्तिलाई चेलाहरू र इस्राएलका मानिसहरू बीचमा प्रकट गर्नुभयो । यो सत्यताले चेलाहरूलाई ख्रीष्टमा विश्वास गर्न र जीवन समर्पण गर्न सिकाए । यसको परिणामलाई हामीले प्रेरितको पुस्तक र नयाँ करारको अन्य पुस्तकहरूमा हेर्न सक्छौं ।
प्रेरित पत्रुस, यूहन्ना, पावल र अन्य ख्रीष्टका अनुयायीहरूले आ–आफ्ना प्रचारमा ख्रीष्ट र उहाँको पुनरुत्थानलाई नै मुख्य विषयवस्तु बनाएका थिए । आज पनि हाम्रो सुसमाचारको मुख्य विषयवस्तुचाहिँ ख्रीष्ट र उहाँको पुनरुत्थान नै हो । यसबाहेक अर्को सुसमाचार पनि छैन । कसैले योभन्दा फरक सुसमाचार प्रचार गर्छ भन्ने तिनीहरूले आफैंलाई र आफ्ना सुन्नेहरूलाई धोका दिइरहेका छन् किनकि ख्रीष्टबाहेक पापको क्षमा कतै छैन, न स्वर्गमा न पृथ्वीमा ।
प्रेरित पावलले सुसमाचारलाई सबैभन्दा मुख्य विषय रहेको बताउनुहुन्छ । यसलाई नै हामीले सबैभन्दा पहिले बुझनुपर्छ । उहाँले १ कोरिन्थी १५ः३–४ मा यसरी भन्नुभएको छ, “किनभने मैले जे पाएँ, त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापको निम्ति मर्नुभयो । उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो ।” उहाँले मुख्य विषयवस्तुबारे भनिसक्नुभएपछि माथि उल्लेख गरिएको पदहरूपछि आएका पदहरूमा पुनरुत्थानको इतिहास, रहस्य र महत्वलाई बताउँदै यस विषयलाई परमेश्वरको अनुग्रहसँग जोडनुभएको छ ।
पुनरुत्थानमा ख्रीष्टको श्रेष्ठता र परमेश्वरको सार्वभौमिकता
हामी ख्रीष्टको अनुग्रहले बचाइएका मानिसहरू हौं । ज–जसले परमेश्वरको अनुग्रह पाएका छैनन्, तिनीहरूले पनरुत्थान र यसको शक्तिलाई बुझ्न सकेका छैनन् र यसलाई कहिले पनि बुझ्न सक्दैनन् । यसकारण नै पावलले मण्डलीमा आउनेहरू र संसारमा रमाउने मानिसहरू प्रश्न गर्नुहुन्छ, “कसरी तिमीहरू मृतकको पुनरुत्थान हुदैन भनी भन्न सक्छौं ?” तर मृतकहरूको पुनरुत्थान हुँदैन भनेता ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन ।
ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार र तिमीहरूको विश्वास व्यर्थ हुन्छन् । त्यसभन्दा बढी हामी परमेश्वरकोे झुटा साक्षीहरू ठहरिन्छौं किनकि उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्वरको बारेमा गवाही दिएका छौं ।
साँच्चै, मृतकहरूको पुनरुत्थान नहुने भए ख्रीष्ट पनि मृतकबाट जीवित परिनुभएन । ख्रीष्ट पुनर्जीवित पारिनुभएन भने तिनीहरूको विश्वास व्यर्थ छ र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौं । तब त ख्रीष्टमा सुतिगएकाहरू पनि नष्ट भएका छन् । यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौं ।
वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ । सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ र किनकि जसरी मानिसबाट मृत्यु आयो, त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाट नै आयो । किनकि जसरी आदममा सबै मर्दछन्, त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन् । तर हरेक आ–आफ्नै क्रमअनुसार– ख्रीष्टचाहिँ अगौटे फल, त्यसपछि उहाँको पुनरागमनमा ख्रीष्टका आफ्नैहरू । तब अन्त्य आउनेछ, जब उहाँले हरेक शासन, हरेक अख्तियार र शक्ति नष्ट पारेर परमेश्वर अर्थात् पितालाई राज्य सुम्पिदिनुहुन्छ । किनकि उहाँले आफ्ना सारा शत्रुलाई आफ्ना पाउमुनि नपारुञ्जेल उहाँले राज्य गर्नैपर्छ ।
सबैभन्दा पछि नष्ट पारिने शत्रु मृत्यु हो । किनभने परमेश्वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्नुभएको छ । तर यो स्पष्ट छ, कि “सबै उहाँको अधीनमा राखिएको छ” भन्नाले परमेश्वर आफैँ त्यस अधीनतामुनि हुनुहुन्न, जसले सबै कुरा ख्रीष्टको अधीनमा राखिदिनुभएको हो । जब सबै कुरा उहाँको अधीनमा त्याइन्छन्, तब स्वयम् पुत्र उहाँको अधीनमा हुनुहुनेछ, जसले सब थोक उहाँको अधीनतामा राख्नुहुन्छ ताकि परमेश्वर नै सबै थोकका सर्वेसर्वा होऊन् ।
निष्कर्ष
ख्रीष्टका पुनरुत्थान भएको होइन भने पापको क्षमा पनि भएको होइन । उहाँको पुनरुत्थान भएको होइन भने अनन्त जीवन पनि पाइने होइन । उहाँको पनरुत्थान होइन भने ख्रीष्ट परमेश्वर पनि होइन । उहाँको पुनरुत्थान भएको होइन भने हाम्रो विश्वास पनि व्यर्थ… । उहाँको पुनरुत्थान भएको होइन भने परमेश्वर पनि झुटो । यसकारण होसियार रहौं । जागा रहौं । ख्रीष्टमा रहौं । परमेश्वरमा आनन्दित होऔं । निरन्तर प्रार्थना गरौं । उहाँलाई अन्त्यसम्म महिमा देऔं । आमेन ।