‘मृत्यु’ शब्द कर्णप्रिय र आकर्षक होइन र साधरणतयाः कसैलाई पनि मन पर्दैन । मेरो एक जना पुरानो मित्र हुनुहुन्छ, उहाँकी श्रीमतीले प्रायः मेरी श्रीमतीलाई भन्नुहुन्छ, ‘नीताको मम्मी, मसित कहिल्यै पनि मृत्युको कुरा नगर्नुहोला, म त मृत्युको कल्पना पनि गर्न चाहँदिनँ ।’ मित्र र उहाँकी श्रीमती, दुवै जना विश्वासी होइन ।
हाम्रो बीरगन्ज ख्रीष्टिय मण्डलीमा बाइबल अध्ययनको क्रममा दुई पटक मृत्यु विषयमा छलफल गर्दा अधिकाङ्शले या त मृत्युको विषयमा विचार नै नगरेका वा त ‘मृत्यु’ शब्द या घटनाको रूपमा मन नपर्ने कुरा स्वीकार गरे । म मृत्युमा जानुअघि येशूको दोश्रो आगमन भइदिए राम्रो हुन्थ्यो ! किनभने यस्तो भइदियो भने आँखाको एक निमेषमा म परिवर्तन भएर स्वर्गीय शरीर धारण गर्थें र मृत्युमा जानुपर्ने थिएन । पावलले पनि मृत्यु मन पराएका थिएनन् ।
यो मन नपर्ने शब्द, विषय वा घटना भए पनि हाम्रो वरिपरि कोही न कोही, विश्वासी वा अविश्वासी दुवै मृत्युमा गएकै छन् । यसको कारण के छ भने यो यस्तै ठहराइएको छ । “जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ र त्यस पछि इन्साफ” (हिब्रू ९ः२७) ।
जनसाधारणदेखि राजा–महाराजासम्म, अनपढदेखि विद्वानसम्म, गरिबदेखि अरबपतिसम्म, बच्चा–युवादेखि वृद्धवृद्धासम्म, विश्वासी, अविश्वासी, आस्तिक, नास्तिक, महिला, पुरुष, सबै धर्मावलम्बीहरू, सम्पूर्ण मानव जातिका साथै, पशु–पक्षी, समुद्री जीव, सबै मृत्युको अधीनमा छन् । हाम्रो सोचविचार, कल्पना–परिकल्पना आदिले मृत्युको वास्तविकता परिवर्तन हुँदैन, मृत्यु सबैको लागि हो ।
सृष्टिको पहिलो दम्पत्ति आदम र हव्वादेखि अहिलेसम्म यस संसारमा जन्मेका सबै ऐतिहासिक व्यक्तिहरू आ–आफ्नो जीवनकालमा उल्लेखनीय काम गरेर इतिहास रचे पनि समय पूरा भएपछि मृत्युमा गएकै छन् । मेरो आफ्नै बाजे, बज्यै, बुबा र आमाका साथै गाउँका अरू धेरै व्यक्तिहरू बित्नुभएको मैले देखेको छु ।
नेपाली ख्रीष्टिय समुदायमा यस देशभित्र मण्डलीहरूको जग बसाल्ने अग्रज योद्धाहरूको रूपमा इतिहास रच्ने गुरुबा, गुरुआमाहरूमध्ये धेरै अहिले हाम्रो माझ हुनुहुन्न । रामघाट मण्डलीका आदरणीय गुरुबा डेभिड मुखिया र प्रेमी गुरुआमा, पास्टर देबुसिंह दाहाल, नेईम ज्ञानेश्वरकी मेरी गुरुआमा र भर्खरै बित्नुभएका दाजु लाजरस भट्टराई यस्तै विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो । समय पूरा भएपछि हुने हाम्रो आफ्नै प्रस्थानलाई एउटा विश्वासीको रूपमा हामीले कसरी लिने हो ? मृत्युको विषयमा बाइबल धर्मशास्त्रमा के लेखिएको छ ? यीनै प्रश्नहरूको उत्तर यी पङ्क्तिहरूमा खोज्ने प्रयास गरिएको छ ।
मृत्युको परिभाषा
शरीरका सबै जीवित कोषिकाले जीवन थामी राख्ने कामको अन्त गर्नु भनेको मृत्यु हो । यस घटनालाई मृत्यु भएको, निधन भएको, बित्नुभएको, छोडी जानुभएको, प्रस्थान गर्नुभएको, आदि विभिन्न शब्दहरूबाट व्यक्त गरिन्छ । विश्वासी ख्रीष्टिय समुदायमा प्रायः ‘प्रभुमा निदाउनुभएको वा सुत्नुभएको’ भनेर मृत्युलाई व्यक्त गरिन्छ । मृत्युले जीवन रोकिएको, जीवनको अन्त भएको अवस्थालाई जनाउँछ । यो जीवित वा जागरुक अवस्थाको विपरीत अवस्था हो ।
दुई मृत्यु
धर्मशास्त्र बाइबलमा दुई वटा मृत्युको कुरा गरिएको छ, ‘पहिलो’ र ‘दोश्रो’ मृत्यु । पहिलो मृत्यु भनेको यो शरीरको अन्त हो र यसमा सबै समावेश गरिएका छन् – मानव जातिदेखि लिएर सबै जीवजन्तु, चरा चुरुङ्गी र जलचर । सबैले यस संसारमा जीवनयापन गर्नका लागि सुहाउँदो शरीर पाएका छन्, जसको एउटा उमेर तोकिएको छ (पाप र पापसँगै संसारमा मृत्यु व्याप्त भएको घटना उत्पत्तिको पुस्तकमा बिस्तारमा वर्णन गरिएको छ) । त्यो उमेर वा शरीरको समय पूरा भएपछि शरीरका सबै अङ्गले आ–आफ्नो काम बन्द गर्छन् वा काम गर्ने क्षमता सकिन्छ र मृत्यु हुन्छ । यो मृत्यु सबै शरीरधारी प्राणीमा व्याप्त छ ।
दोश्रो मृत्यु भनेको जीवनको पुस्तकमा नाम नलेखिएका हरेक प्राणी अन्तिम न्यायपछि अग्निकुण्डमा फालिने हो । यो मृत्यु अनन्तको लागि, सधैंको लागि हो । जस्तो लेखिएको छ, “मृत्यु र पाताल अग्नि–कुण्डमा फालिए । यो अग्नि–कुण्ड दोस्रो मृत्यु हो । जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि–कुण्डमा फालियो” (प्रकाश २०ः१४–१५) ।
यस संसारमा हामी सबै समय र स्थानको बन्धनमा छौं– एक समयमा हामी एउटै स्थानमा रहन सक्छौं । ‘पहिलो मृत्यु’ यस समय र स्थानको बन्धनमा बाँधिएका सबै शरीरधारी प्राणीको शारीरिक अवस्थाको अन्त हो । यस संसारको हाम्रो क्षणिक अवस्थाको जीवन यात्राको अन्तिम पडाव मृत्यु हो । यस पछिको जीवन यात्रा अनन्तमा प्रवेश गरी निरन्तर जारी रहन्छ ।
क्षणिक अवस्थाबाट अनन्तको अवस्थालाई हेर्न सकिंदैन, शरीरको लागि त्यो अदृश्य अवस्था हो, विश्वासको आँखाले मात्र देख्न सकिने । यसैकारण पावलले एफिसीहरूको मनको आँखा चहकिलो होस् भनी प्रार्थना गर्दथे । क्षणिक अवस्था यस संसारमा मात्र सीमित रहने अवस्था हो ।
साधारण सोचमा मृत्यु हुँदा शरीरको अवस्थाको अन्त हुने हुँदा यसलाई जीवनको अन्त वा अस्तित्वको अन्तको रूपमा लिइन्छ । तर यस्तो विचार वास्तविकतादेखि धेरै टाढा छ । मृत्यु हुँदा कुनै पनि शरीरधारी प्राणीले आफ्नो शरीर मात्र त्याग गर्छ । यस घटनालाई हाम्रो रूपान्तरणको क्रममा अन्तिम रूपान्तरणको आधारको रूपमा हेर्नु पर्ने आवश्यक छ ।
रूपान्तरण
रूपान्तरण के हो ? यसलाई बुझ्नलाई हामीले प्रभु येशूको रूप परिवर्तन भएको घटनालाई विचार गर्नुपर्छ । मत्तीको १७ अध्यायमा यस घटनाको विस्तृत वर्णन गरिएको छ ।
प्रभु येशूले पत्रुस, यूहन्ना र याकूबलाई आफूसँग लिएर एउटा अग्लो पहाड माथि जानुभयो । “तिनीहरूका सामुन्ने उहाँको रूप परिवर्तन भयो । उहाँको चेहरा सूर्यझैँ चम्क्यो र उहाँका वस्त्र प्रकाशझैँ सेता भए । अनि मोशा र एलिया उहाँसँग बातचित गरिरहेका देखा परे” (मत्ती १७ः२३) । तीनै जनाको उपस्थितिमा भएको येशूको रूप परिवर्तन स्वर्गीय शरीरको प्रदर्शन हो, यसले अनन्तको शरीरलाई वा स्वर्गदूतहरूको शरीरलाई प्रमाणित गर्ने एक झलक मात्र थियो । यो अवस्था हाम्रो रूपान्तरणको अन्तिम खुड्किला हो ।
शरीरको आरम्भ र अन्त
हाम्रो शारीरिक जीवन यात्रा आमा–बुबाको शारीरिक सम्बन्धबाट आरम्भ हुन्छ । पुरुष वीर्यमा रहेको लाखौं शुक्राणुमध्येबाट सबभन्दा सक्षम शुक्राणु स्त्री शरीरको योनिबाट आफ्नो यात्रा आरम्भ गरेर फिलोपियन नलीमा रहेक अण्डासम्म पुग्छ र त्यस अण्डासँग मिलन गर्छ । शुक्राणु र अण्डाको मिलनबाट भ्रूण अस्तित्वमा आउँछ । यो रूपान्तरणको आरम्भ हो । मानव अस्तित्वको यो पहिलो खुड्किला हो, जहाँबाट जीवन यात्रा आरम्भ हुन्छ । समयसँगै भ्रूण विकसित हुँदै जान्छ र गर्भावस्था शिशुको रूप लिन्छ । गर्भावस्थाको निर्धारित समय पूर्ण भएपछि काखे बच्चाको रूपमा आफ्नो आमाको कोखबाट यस संसारमा जन्म लिन्छ । यहाँबाट शारीरिक जीवन आरम्भ हुन्छ, जो रूपान्तरणको क्रममा दोश्रो खुड्किला हो ।
समय बित्दै जाँदा बच्चा बढ्दै जान्छ र शरीरमा स्वाभाविक रूपमा समसामयिक परिवर्तन हुँदै जान्छ । बाल्यकालबाट किशोरावस्था, त्यहाँबाट युवावस्था हुँदै प्रौढावस्था र अन्तमा वृद्धावस्थामा पुगिन्छ । उमेरअनुसार नै शरीरको अवस्थामा पनि परिवर्तन भइरहेको हुन्छ । हरेक अवस्थामा शरीरको कार्य क्षमता र दक्षता फरक–फरक हुन्छ । मानसिक अवस्था पनि परिवर्तन हुँदै गएको हुन्छ । युवावस्थामा व्यक्तिले गर्न सक्ने काम वृद्धावस्थामा गर्न असम्भव हुन्छ ।
समयअनुसार शरीरले आफ्नो क्षमता र दक्षता हराउँदै जान्छ । वृद्धावस्थामा शरीर असहाय हुन्छ, ज्ञानेन्द्रियहरूले आफ्नो कार्य क्षमता गुमाइसकेका वा गुमाइरहेका हुन्छन् । आँखाले कम देख्न थाल्छ, कानले कम सुन्न थाल्छ, दाँत झर्ने व्रmममा हुन्छन्, हातले बल हराइसकेका र खुट्टाले शरीरको भार थेग्न नसक्ने हुन्छ ।
उमेर बित्दै जाँदा एक–एक गरी शरीरका सबै अङ्गले काम गर्न छोड्दै जान्छन् र एक समय यस्तो आउँछ, जब सबै अङ्गले काम गर्न पूरै बन्द गरिदिन्छन् र शरीरको मृत्यु हुन्छ । शरीरको मृत्यु यस शरीरको अन्त र हाम्रो रूपान्तरणको अन्तिम खुड्किला हो ।
दृश्य र अदृश्य कुराहरू
सबै कुराहरूलाई दुई अवस्थामा विभाजन गरिएको छ – दृश्य कुराहरू र अदृश्य कुराहरू अर्थात् हाम्रो आँखाले देख्न सकिने र देख्न नसकिने । देख्न सकिने र देख्न नसकिने दुवै अवस्थामा रहेका सबै कुराहरू महत्वपूर्ण छन् तर हाम्रो आँखाले देख्न नसकिने अवस्थाका कुराहरू अझ बढी महत्वपूर्ण छन् । विश्वासीको रूपमा, “हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं किनभने दृश्य कुरा क्षणिक हुन्छन् तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन्” (२ कोरिन्थी ४ः१८) । हाम्रो आँखाले देखिने सबै कुरा जस्तैः रूखहरू, फलफूलहरू, पहाड–जङ्गलहरू, हिमालहरू, जे जति कुराहरू हामी सम्झन सक्छौं, ती सबै क्षणिक हुन्छन् अर्थात् तोकिएको समय समाप्त भएपछि यिनीहरूको अस्तित्व समेत नष्ट हुनेछन् । हाम्रो आँखाले नदेखिने सबै कुराहरू सधैंभरिको लागि हुन् । ती अनन्तसम्म रहिरहने कुराहरू हुन् ।
हाम्रो आँखाले देख्न सकिने हाम्रो आफ्नै शरीर अनन्तको वारिपट्टिसम्मको हाम्रो अस्तित्वलाई परिचय, पहिचान दिन्छ र समय पूर्ण भएपछि रूपान्तरणको लागि अन्तिम खुड्किलाको रूपमा चिहानमा टुङ्गिन्छ । यो मृत्यु समय र स्थानको बन्धनभित्र रहेको हाम्रो शारीरिक अवस्थाको अन्त हो । यहाँ आएर शरीरको सबै सकृयता समाप्त हुन्छ ।
येशूमा विश्वास गरेर प्रत्येक विश्वासीले आफूले गरेका सबै पाप क्षमा पाएर अनन्त जीवन पाएको हुन्छ । अनन्त जीवन पाउनका लागि जो कोही पनि क्रुसको ढोका भएर नै जानु पर्छ । मृत्युमा शरीरको जीवन सकिएको हुन्छ, अनन्त जीवन होइन – त्यो त अनन्त जीवन अर्थात् अन्त नहुने जीवन हो । त्यो अनन्तको अवस्थाको लागि हाम्रो यो शरीर सृष्टि गरिएको छैन । यो शरीरसहित हामी अनन्तमा प्रवेश गर्न सक्दैनौं, यो शरीरले अनन्तको तेज सहन गर्न सक्दैन । जस्तो लेखिएको छ, “अब भाइ हो, म तिमीहरूलाई यो भन्दछु, मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्छ” (१ कोरिन्थी १५ः ५०) । यसकारणले सबै दृश्य कुराहरूका बन्धनबाट मृत्युद्वारा स्वतन्त्र भएर अनन्तको अवस्थामा प्रवेश गर्नुपर्छ । यो हाम्रो क्रमिक रूपान्तरणको अन्त हो ।
पुनरुत्थान
येशूको दोश्रो आगमनमा जसको लागि सबै विश्वासी उत्कट इच्छा साथ पर्खिरहेका छौं, येशूमा सुति गएकाहरूको पहिलो पुनरुत्थान हुनेछ र जीवित रहनेहरू आँखाको एक निमेषमा परिवर्तन भई त्यसमा सहभागी हुनेछन् ।
पुनरुत्थानको विषयमा येशू आफैंले शिक्षा दिनुभएको छ, साथै प्रेरित पावलले पनि १ कोरिन्थी १५ अध्याय र १ थेसलोनिकी ४ अध्यायमा बिस्तारमा कुरा गरेका छन् । स्वयम् येशूको पुनरुत्थान भएको छ । पानीको बप्तिस्माले बप्तिस्मा लिने व्यक्तिलाई येशूको पुनरुत्थानमा सहभागी हुने प्रतिज्ञा गर्छ ।
पुनरुत्थानमा सबै विश्वासीले येशूजस्तै स्वर्गीय शरीर धारण गर्नेछौं । पुनरुत्थानमा परमेश्वरले सृष्टिको आरम्भमा ‘मानिसलाई आफ्नै स्वरूपमा’ सृष्टि गर्ने भनेर राख्नुभएको उद्देश्य पूरा हुन्छ । सदूकीहरू, जसले पुनरुत्थानमा विश्वास गर्दैनन्, उनीहरूसँगको कुराकानीमा येशूले पुनरुत्थानको शरीरको अवस्थाको बारेमा प्रकाश पार्नुभएको छ । “किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुन्छन्” (मत्ती २२ः३०) । येशूको आफ्नै पुनरुत्थान भएपछि उहाँले चेलाहरूसँग बिताउनु भएको समयमा स्वर्गीय शरीरको विशेषता स्पष्ट हुन्छ ।
सृष्टिको आशा
शरीर र शरीरका सीमा र बन्धनहरू अनन्तको दृष्टिकोणले सारा सृष्टिको लागि बडो कष्टकर छन् । यसले सबभन्दा बढी बाधा विश्वासीहरूलाई दिएको छ । येशूमा गरिएको विश्वासबाट आत्माले पापको बन्धनबाट छुटकारा पाएको छ, जसले पवित्र आत्माको संगति रुचाउँछ र असीमित प्रकाशको अपेक्षा गर्दछ । तर शरीरसँग गाँसिएको पाप स्वभाव छँदैछ र सधैं पवित्र आत्माको इच्छाको विरोधमा काम गर्न चाहन्छ । प्रत्येक विश्वासीको लागि शरीरमा जिउनु एउटा बडो दुखद स्थिति हो, जहाँ पवित्र आत्माको निर्देशनमा गर्न एक थोक चाहन्छौं तर गर्न अर्कै थोक पुग्छौं । प्रेरित पावलले यस अवस्थाको वर्णन यसरी गरेका छन्ः “किनकि मलाई थाहा छ कि ममा अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले बास गर्दैन । जे असल छ, त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पूरा गर्न सक्दिनँ । किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ, तर दुष्ट काम, जो म गर्न चाहन्नँ, त्यही म गर्ने गर्छु । अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र बास गर्ने पाप हो” (रोमी ७ः१८–२०) ।
यस दुःखद अवस्थाबाट छुटकारा पाउने एउटै उपाय छ, त्यो हो, पाप स्वभावसहित यस शरीरबाट छुटकारा पाउनु । यसैकारण हामी मात्रै होइन तर सारा सृष्टिले प्रसव वेदनामा परेजस्तै अनुभव गर्दै उहाँको आगमन र शरीरबाट छुटकाराको लागि पर्खिंदैछ । “सृष्टि बड़ो उत्कण्ठाले परमेश्वरका पुत्र प्रकट हुने कुराको प्रतीक्षा गर्छ ।
सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ । ”हामी जान्दछौं, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ । सृष्टि मात्र होइन, तर हामी आफैं पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रूपमा ग्रहण गरिनलाई अर्थात् हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफैं पनि भित्र–भित्रै आर्तनाद गर्दछौं । किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं” (रोमी ८ः१९–२४क) ।
पुनरुत्थानको अवस्था र विशेषताहरू
पुनरुत्थानको शरीर धारण गर्ने भनेको अनन्तको अवस्था हो । येशूको दोश्रो आगमनमा उहाँलाई खुसी पार्ने सबै विश्वासीको लागि यसको प्रतिज्ञा गरिएको छ । यो शरीर सबै बन्धनबाट मुक्त अवस्था हो ।
पुनरुत्थानको शरीरमा स्त्री र पुरुषजस्तो भिन्नता हुँदैन, सबै स्वर्गदूतजस्ता हुन्छन् । सबै परमेश्वरका छोराहरू मात्र हुनेछन् र यस अवस्थामा विवाहको आवश्यकता पर्दैन । पुनरुत्थानको शरीर स्वर्गीय शरीर हो, आत्मिक शरीर होइन । यसमा हाड र मासु हुन्छ, जो दुष्टात्माहरूमा हुंदैन । यस शरीरलाई बन्द गरिएको ढोकाले छेक्न सक्दैन, ढोका बन्द भएको कोठामा पनि आवत्जावत् गर्न सकिन्छ । यस स्वर्गीय शरीरलाई भोजनको आवश्यकता पर्दैन तर स्वेच्छाले खान पनि सकिन्छ । पुनरुत्थानको शरीर छुन सकिन्छ, देखिन्छ तर यसको तेज भिन्दै हो र अल्पिन पनि सकिन्छ ।
यो शरीर अनन्तको अवस्था हो । यसकारण समय र स्थानको बन्धनबाट स्वतन्त्र हुन्छ, इच्छाअनुसार एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण हुन सकिनेछ ।
सांसारिक शरीर परमेश्वरको महिमा र तेज सहन गर्न सक्दैन– परमेश्वरलाई देख्ने कोही पनि जीवित रहन सक्दैन, तर पुनरुत्थानको शरीर उहाँको उपस्थितिमा रहनको लागि नै हो ।
सांसारिक शरीर दृश्य हो र क्षणिक हो, नाशवान् हो, पुनरुत्थानको शरीर अनन्तको लागि हो, अविनाशी हो । अन्तमा मेरो प्रार्थना छ, हाम्रो यस संसारको जीवन यात्रामा अनन्तको लागि आफूलाई तयार गर्न सकौं । हामी सबैमाथि प्रभुको प्रशस्त अनुग्रह रहोस् । आमेन् ।
For comments and feedback: <[email protected]>