मृत्यु र पुनरुत्थान

0

‘मृत्यु’ शब्द कर्णप्रिय र आकर्षक होइन र साधरणतयाः कसैलाई पनि मन पर्दैन । मेरो एक जना पुरानो मित्र हुनुहुन्छ, उहाँकी श्रीमतीले प्रायः मेरी श्रीमतीलाई भन्नुहुन्छ, ‘नीताको मम्मी, मसित कहिल्यै पनि मृत्युको कुरा नगर्नुहोला, म त मृत्युको कल्पना पनि गर्न चाहँदिनँ ।’ मित्र र उहाँकी श्रीमती, दुवै जना विश्वासी होइन ।

हाम्रो बीरगन्ज ख्रीष्टिय मण्डलीमा बाइबल अध्ययनको क्रममा दुई पटक मृत्यु विषयमा छलफल गर्दा अधिकाङ्शले या त मृत्युको विषयमा विचार नै नगरेका वा त ‘मृत्यु’ शब्द या घटनाको रूपमा मन नपर्ने कुरा स्वीकार गरे । म मृत्युमा जानुअघि येशूको दोश्रो आगमन भइदिए राम्रो हुन्थ्यो ! किनभने यस्तो भइदियो भने आँखाको एक निमेषमा म परिवर्तन भएर स्वर्गीय शरीर धारण गर्थें र मृत्युमा जानुपर्ने थिएन । पावलले पनि मृत्यु मन पराएका थिएनन् ।

यो मन नपर्ने शब्द, विषय वा घटना भए पनि हाम्रो वरिपरि कोही न कोही, विश्वासी वा अविश्वासी दुवै मृत्युमा गएकै छन् । यसको कारण के छ भने यो यस्तै ठहराइएको छ । “जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ र त्यस पछि इन्साफ” (हिब्रू ९ः२७)
जनसाधारणदेखि राजा–महाराजासम्म, अनपढदेखि विद्वानसम्म, गरिबदेखि अरबपतिसम्म, बच्चा–युवादेखि वृद्धवृद्धासम्म, विश्वासी, अविश्वासी, आस्तिक, नास्तिक, महिला, पुरुष, सबै धर्मावलम्बीहरू, सम्पूर्ण मानव जातिका साथै, पशु–पक्षी, समुद्री जीव, सबै मृत्युको अधीनमा छन् । हाम्रो सोचविचार, कल्पना–परिकल्पना आदिले मृत्युको वास्तविकता परिवर्तन हुँदैन, मृत्यु सबैको लागि हो ।

सृष्टिको पहिलो दम्पत्ति आदम र हव्वादेखि अहिलेसम्म यस संसारमा जन्मेका सबै ऐतिहासिक व्यक्तिहरू आ–आफ्नो जीवनकालमा उल्लेखनीय काम गरेर इतिहास रचे पनि समय पूरा भएपछि मृत्युमा गएकै छन् । मेरो आफ्नै बाजे, बज्यै, बुबा र आमाका साथै गाउँका अरू धेरै व्यक्तिहरू बित्नुभएको मैले देखेको छु ।

नेपाली ख्रीष्टिय समुदायमा यस देशभित्र मण्डलीहरूको जग बसाल्ने अग्रज योद्धाहरूको रूपमा इतिहास रच्ने गुरुबा, गुरुआमाहरूमध्ये धेरै अहिले हाम्रो माझ हुनुहुन्न । रामघाट मण्डलीका आदरणीय गुरुबा डेभिड मुखिया र प्रेमी गुरुआमा, पास्टर देबुसिंह दाहाल, नेईम ज्ञानेश्वरकी मेरी गुरुआमा र भर्खरै बित्नुभएका दाजु लाजरस भट्टराई यस्तै विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो । समय पूरा भएपछि हुने हाम्रो आफ्नै प्रस्थानलाई एउटा विश्वासीको रूपमा हामीले कसरी लिने हो ? मृत्युको विषयमा बाइबल धर्मशास्त्रमा के लेखिएको छ ? यीनै प्रश्नहरूको उत्तर यी पङ्क्तिहरूमा खोज्ने प्रयास गरिएको छ ।

मृत्युको परिभाषा
शरीरका सबै जीवित कोषिकाले जीवन थामी राख्ने कामको अन्त गर्नु भनेको मृत्यु हो । यस घटनालाई मृत्यु भएको, निधन भएको, बित्नुभएको, छोडी जानुभएको, प्रस्थान गर्नुभएको, आदि विभिन्न शब्दहरूबाट व्यक्त गरिन्छ । विश्वासी ख्रीष्टिय समुदायमा प्रायः ‘प्रभुमा निदाउनुभएको वा सुत्नुभएको’ भनेर मृत्युलाई व्यक्त गरिन्छ । मृत्युले जीवन रोकिएको, जीवनको अन्त भएको अवस्थालाई जनाउँछ । यो जीवित वा जागरुक अवस्थाको विपरीत अवस्था हो ।

दुई मृत्यु
धर्मशास्त्र बाइबलमा दुई वटा मृत्युको कुरा गरिएको छ, ‘पहिलो’ र ‘दोश्रो’ मृत्यु । पहिलो मृत्यु भनेको यो शरीरको अन्त हो र यसमा सबै समावेश गरिएका छन् – मानव जातिदेखि लिएर सबै जीवजन्तु, चरा चुरुङ्गी र जलचर । सबैले यस संसारमा जीवनयापन गर्नका लागि सुहाउँदो शरीर पाएका छन्, जसको एउटा उमेर तोकिएको छ (पाप र पापसँगै संसारमा मृत्यु व्याप्त भएको घटना उत्पत्तिको पुस्तकमा बिस्तारमा वर्णन गरिएको छ) । त्यो उमेर वा शरीरको समय पूरा भएपछि शरीरका सबै अङ्गले आ–आफ्नो काम बन्द गर्छन् वा काम गर्ने क्षमता सकिन्छ र मृत्यु हुन्छ । यो मृत्यु सबै शरीरधारी प्राणीमा व्याप्त छ ।

दोश्रो मृत्यु भनेको जीवनको पुस्तकमा नाम नलेखिएका हरेक प्राणी अन्तिम न्यायपछि अग्निकुण्डमा फालिने हो । यो मृत्यु अनन्तको लागि, सधैंको लागि हो । जस्तो लेखिएको छ, “मृत्यु र पाताल अग्नि–कुण्डमा फालिए । यो अग्नि–कुण्ड दोस्रो मृत्यु हो । जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि–कुण्डमा फालियो” (प्रकाश २०ः१४–१५) ।

यस संसारमा हामी सबै समय र स्थानको बन्धनमा छौं– एक समयमा हामी एउटै स्थानमा रहन सक्छौं । ‘पहिलो मृत्यु’ यस समय र स्थानको बन्धनमा बाँधिएका सबै शरीरधारी प्राणीको शारीरिक अवस्थाको अन्त हो । यस संसारको हाम्रो क्षणिक अवस्थाको जीवन यात्राको अन्तिम पडाव मृत्यु हो । यस पछिको जीवन यात्रा अनन्तमा प्रवेश गरी निरन्तर जारी रहन्छ ।

क्षणिक अवस्थाबाट अनन्तको अवस्थालाई हेर्न सकिंदैन, शरीरको लागि त्यो अदृश्य अवस्था हो, विश्वासको आँखाले मात्र देख्न सकिने । यसैकारण पावलले एफिसीहरूको मनको आँखा चहकिलो होस् भनी प्रार्थना गर्दथे । क्षणिक अवस्था यस संसारमा मात्र सीमित रहने अवस्था हो ।

साधारण सोचमा मृत्यु हुँदा शरीरको अवस्थाको अन्त हुने हुँदा यसलाई जीवनको अन्त वा अस्तित्वको अन्तको रूपमा लिइन्छ । तर यस्तो विचार वास्तविकतादेखि धेरै टाढा छ । मृत्यु हुँदा कुनै पनि शरीरधारी प्राणीले आफ्नो शरीर मात्र त्याग गर्छ । यस घटनालाई हाम्रो रूपान्तरणको क्रममा अन्तिम रूपान्तरणको आधारको रूपमा हेर्नु पर्ने आवश्यक छ ।

रूपान्तरण
रूपान्तरण के हो ? यसलाई बुझ्नलाई हामीले प्रभु येशूको रूप परिवर्तन भएको घटनालाई विचार गर्नुपर्छ । मत्तीको १७ अध्यायमा यस घटनाको विस्तृत वर्णन गरिएको छ ।

प्रभु येशूले पत्रुस, यूहन्ना र याकूबलाई आफूसँग लिएर एउटा अग्लो पहाड माथि जानुभयो । “तिनीहरूका सामुन्ने उहाँको रूप परिवर्तन भयो । उहाँको चेहरा सूर्यझैँ चम्क्यो र उहाँका वस्त्र प्रकाशझैँ सेता भए । अनि मोशा र एलिया उहाँसँग बातचित गरिरहेका देखा परे” (मत्ती १७ः२३) । तीनै जनाको उपस्थितिमा भएको येशूको रूप परिवर्तन स्वर्गीय शरीरको प्रदर्शन हो, यसले अनन्तको शरीरलाई वा स्वर्गदूतहरूको शरीरलाई प्रमाणित गर्ने एक झलक मात्र थियो । यो अवस्था हाम्रो रूपान्तरणको अन्तिम खुड्किला हो ।

शरीरको आरम्भ र अन्त
हाम्रो शारीरिक जीवन यात्रा आमा–बुबाको शारीरिक सम्बन्धबाट आरम्भ हुन्छ । पुरुष वीर्यमा रहेको लाखौं शुक्राणुमध्येबाट सबभन्दा सक्षम शुक्राणु स्त्री शरीरको योनिबाट आफ्नो यात्रा आरम्भ गरेर फिलोपियन नलीमा रहेक अण्डासम्म पुग्छ र त्यस अण्डासँग मिलन गर्छ । शुक्राणु र अण्डाको मिलनबाट भ्रूण अस्तित्वमा आउँछ । यो रूपान्तरणको आरम्भ हो । मानव अस्तित्वको यो पहिलो खुड्किला हो, जहाँबाट जीवन यात्रा आरम्भ हुन्छ । समयसँगै भ्रूण विकसित हुँदै जान्छ र गर्भावस्था शिशुको रूप लिन्छ । गर्भावस्थाको निर्धारित समय पूर्ण भएपछि काखे बच्चाको रूपमा आफ्नो आमाको कोखबाट यस संसारमा जन्म लिन्छ । यहाँबाट शारीरिक जीवन आरम्भ हुन्छ, जो रूपान्तरणको क्रममा दोश्रो खुड्किला हो ।

समय बित्दै जाँदा बच्चा बढ्दै जान्छ र शरीरमा स्वाभाविक रूपमा समसामयिक परिवर्तन हुँदै जान्छ । बाल्यकालबाट किशोरावस्था, त्यहाँबाट युवावस्था हुँदै प्रौढावस्था र अन्तमा वृद्धावस्थामा पुगिन्छ । उमेरअनुसार नै शरीरको अवस्थामा पनि परिवर्तन भइरहेको हुन्छ । हरेक अवस्थामा शरीरको कार्य क्षमता र दक्षता फरक–फरक हुन्छ । मानसिक अवस्था पनि परिवर्तन हुँदै गएको हुन्छ । युवावस्थामा व्यक्तिले गर्न सक्ने काम वृद्धावस्थामा गर्न असम्भव हुन्छ ।

समयअनुसार शरीरले आफ्नो क्षमता र दक्षता हराउँदै जान्छ । वृद्धावस्थामा शरीर असहाय हुन्छ, ज्ञानेन्द्रियहरूले आफ्नो कार्य क्षमता गुमाइसकेका वा गुमाइरहेका हुन्छन् । आँखाले कम देख्न थाल्छ, कानले कम सुन्न थाल्छ, दाँत झर्ने व्रmममा हुन्छन्, हातले बल हराइसकेका र खुट्टाले शरीरको भार थेग्न नसक्ने हुन्छ ।

उमेर बित्दै जाँदा एक–एक गरी शरीरका सबै अङ्गले काम गर्न छोड्दै जान्छन् र एक समय यस्तो आउँछ, जब सबै अङ्गले काम गर्न पूरै बन्द गरिदिन्छन् र शरीरको मृत्यु हुन्छ । शरीरको मृत्यु यस शरीरको अन्त र हाम्रो रूपान्तरणको अन्तिम खुड्किला हो ।

दृश्य र अदृश्य कुराहरू
सबै कुराहरूलाई दुई अवस्थामा विभाजन गरिएको छ – दृश्य कुराहरू र अदृश्य कुराहरू अर्थात् हाम्रो आँखाले देख्न सकिने र देख्न नसकिने । देख्न सकिने र देख्न नसकिने दुवै अवस्थामा रहेका सबै कुराहरू महत्वपूर्ण छन् तर हाम्रो आँखाले देख्न नसकिने अवस्थाका कुराहरू अझ बढी महत्वपूर्ण छन् । विश्वासीको रूपमा, “हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं किनभने दृश्य कुरा क्षणिक हुन्छन् तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन्” (२ कोरिन्थी ४ः१८) । हाम्रो आँखाले देखिने सबै कुरा जस्तैः रूखहरू, फलफूलहरू, पहाड–जङ्गलहरू, हिमालहरू, जे जति कुराहरू हामी सम्झन सक्छौं, ती सबै क्षणिक हुन्छन् अर्थात् तोकिएको समय समाप्त भएपछि यिनीहरूको अस्तित्व समेत नष्ट हुनेछन् । हाम्रो आँखाले नदेखिने सबै कुराहरू सधैंभरिको लागि हुन् । ती अनन्तसम्म रहिरहने कुराहरू हुन् ।

हाम्रो आँखाले देख्न सकिने हाम्रो आफ्नै शरीर अनन्तको वारिपट्टिसम्मको हाम्रो अस्तित्वलाई परिचय, पहिचान दिन्छ र समय पूर्ण भएपछि रूपान्तरणको लागि अन्तिम खुड्किलाको रूपमा चिहानमा टुङ्गिन्छ । यो मृत्यु समय र स्थानको बन्धनभित्र रहेको हाम्रो शारीरिक अवस्थाको अन्त हो । यहाँ आएर शरीरको सबै सकृयता समाप्त हुन्छ ।

येशूमा विश्वास गरेर प्रत्येक विश्वासीले आफूले गरेका सबै पाप क्षमा पाएर अनन्त जीवन पाएको हुन्छ । अनन्त जीवन पाउनका लागि जो कोही पनि क्रुसको ढोका भएर नै जानु पर्छ । मृत्युमा शरीरको जीवन सकिएको हुन्छ, अनन्त जीवन होइन – त्यो त अनन्त जीवन अर्थात् अन्त नहुने जीवन हो । त्यो अनन्तको अवस्थाको लागि हाम्रो यो शरीर सृष्टि गरिएको छैन । यो शरीरसहित हामी अनन्तमा प्रवेश गर्न सक्दैनौं, यो शरीरले अनन्तको तेज सहन गर्न सक्दैन । जस्तो लेखिएको छ, “अब भाइ हो, म तिमीहरूलाई यो भन्दछु, मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्छ” (१ कोरिन्थी १५ः ५०) । यसकारणले सबै दृश्य कुराहरूका बन्धनबाट मृत्युद्वारा स्वतन्त्र भएर अनन्तको अवस्थामा प्रवेश गर्नुपर्छ । यो हाम्रो क्रमिक रूपान्तरणको अन्त हो ।

पुनरुत्थान
येशूको दोश्रो आगमनमा जसको लागि सबै विश्वासी उत्कट इच्छा साथ पर्खिरहेका छौं, येशूमा सुति गएकाहरूको पहिलो पुनरुत्थान हुनेछ र जीवित रहनेहरू आँखाको एक निमेषमा परिवर्तन भई त्यसमा सहभागी हुनेछन् ।

पुनरुत्थानको विषयमा येशू आफैंले शिक्षा दिनुभएको छ, साथै प्रेरित पावलले पनि १ कोरिन्थी १५ अध्याय र १ थेसलोनिकी ४ अध्यायमा बिस्तारमा कुरा गरेका छन् । स्वयम् येशूको पुनरुत्थान भएको छ । पानीको बप्तिस्माले बप्तिस्मा लिने व्यक्तिलाई येशूको पुनरुत्थानमा सहभागी हुने प्रतिज्ञा गर्छ ।

पुनरुत्थानमा सबै विश्वासीले येशूजस्तै स्वर्गीय शरीर धारण गर्नेछौं । पुनरुत्थानमा परमेश्वरले सृष्टिको आरम्भमा ‘मानिसलाई आफ्नै स्वरूपमा’ सृष्टि गर्ने भनेर राख्नुभएको उद्देश्य पूरा हुन्छ । सदूकीहरू, जसले पुनरुत्थानमा विश्वास गर्दैनन्, उनीहरूसँगको कुराकानीमा येशूले पुनरुत्थानको शरीरको अवस्थाको बारेमा प्रकाश पार्नुभएको छ । “किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुन्छन्” (मत्ती २२ः३०) । येशूको आफ्नै पुनरुत्थान भएपछि उहाँले चेलाहरूसँग बिताउनु भएको समयमा स्वर्गीय शरीरको विशेषता स्पष्ट हुन्छ ।

सृष्टिको आशा
शरीर र शरीरका सीमा र बन्धनहरू अनन्तको दृष्टिकोणले सारा सृष्टिको लागि बडो कष्टकर छन् । यसले सबभन्दा बढी बाधा विश्वासीहरूलाई दिएको छ । येशूमा गरिएको विश्वासबाट आत्माले पापको बन्धनबाट छुटकारा पाएको छ, जसले पवित्र आत्माको संगति रुचाउँछ र असीमित प्रकाशको अपेक्षा गर्दछ । तर शरीरसँग गाँसिएको पाप स्वभाव छँदैछ र सधैं पवित्र आत्माको इच्छाको विरोधमा काम गर्न चाहन्छ । प्रत्येक विश्वासीको लागि शरीरमा जिउनु एउटा बडो दुखद स्थिति हो, जहाँ पवित्र आत्माको निर्देशनमा गर्न एक थोक चाहन्छौं तर गर्न अर्कै थोक पुग्छौं । प्रेरित पावलले यस अवस्थाको वर्णन यसरी गरेका छन्ः “किनकि मलाई थाहा छ कि ममा अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले बास गर्दैन । जे असल छ, त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पूरा गर्न सक्दिनँ । किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ, तर दुष्ट काम, जो म गर्न चाहन्नँ, त्यही म गर्ने गर्छु । अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र बास गर्ने पाप हो” (रोमी ७ः१८–२०)

यस दुःखद अवस्थाबाट छुटकारा पाउने एउटै उपाय छ, त्यो हो, पाप स्वभावसहित यस शरीरबाट छुटकारा पाउनु । यसैकारण हामी मात्रै होइन तर सारा सृष्टिले प्रसव वेदनामा परेजस्तै अनुभव गर्दै उहाँको आगमन र शरीरबाट छुटकाराको लागि पर्खिंदैछ । “सृष्टि बड़ो उत्कण्ठाले परमेश्वरका पुत्र प्रकट हुने कुराको प्रतीक्षा गर्छ ।

सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ । ”हामी जान्दछौं, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ । सृष्टि मात्र होइन, तर हामी आफैं पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रूपमा ग्रहण गरिनलाई अर्थात् हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफैं पनि भित्र–भित्रै आर्तनाद गर्दछौं । किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं” (रोमी ८ः१९–२४क)

पुनरुत्थानको अवस्था र विशेषताहरू
पुनरुत्थानको शरीर धारण गर्ने भनेको अनन्तको अवस्था हो । येशूको दोश्रो आगमनमा उहाँलाई खुसी पार्ने सबै विश्वासीको लागि यसको प्रतिज्ञा गरिएको छ । यो शरीर सबै बन्धनबाट मुक्त अवस्था हो ।

पुनरुत्थानको शरीरमा स्त्री र पुरुषजस्तो भिन्नता हुँदैन, सबै स्वर्गदूतजस्ता हुन्छन् । सबै परमेश्वरका छोराहरू मात्र हुनेछन् र यस अवस्थामा विवाहको आवश्यकता पर्दैन । पुनरुत्थानको शरीर स्वर्गीय शरीर हो, आत्मिक शरीर होइन । यसमा हाड र मासु हुन्छ, जो दुष्टात्माहरूमा हुंदैन । यस शरीरलाई बन्द गरिएको ढोकाले छेक्न सक्दैन, ढोका बन्द भएको कोठामा पनि आवत्जावत् गर्न सकिन्छ । यस स्वर्गीय शरीरलाई भोजनको आवश्यकता पर्दैन तर स्वेच्छाले खान पनि सकिन्छ । पुनरुत्थानको शरीर छुन सकिन्छ, देखिन्छ तर यसको तेज भिन्दै हो र अल्पिन पनि सकिन्छ ।

यो शरीर अनन्तको अवस्था हो । यसकारण समय र स्थानको बन्धनबाट स्वतन्त्र हुन्छ, इच्छाअनुसार एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण हुन सकिनेछ ।

सांसारिक शरीर परमेश्वरको महिमा र तेज सहन गर्न सक्दैन– परमेश्वरलाई देख्ने कोही पनि जीवित रहन सक्दैन, तर पुनरुत्थानको शरीर उहाँको उपस्थितिमा रहनको लागि नै हो ।

सांसारिक शरीर दृश्य हो र क्षणिक हो, नाशवान् हो, पुनरुत्थानको शरीर अनन्तको लागि हो, अविनाशी हो । अन्तमा मेरो प्रार्थना छ, हाम्रो यस संसारको जीवन यात्रामा अनन्तको लागि आफूलाई तयार गर्न सकौं । हामी सबैमाथि प्रभुको प्रशस्त अनुग्रह रहोस् । आमेन् ।
For comments and feedback: <pppetersingh@outlook.com>

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here