ख्रीष्टको रगतमा स्थापना भएको नयाँ करार

0

सम्पादकीय
कोरोनाको महामारीपछि नेपाली मण्डलीले गुडफ्राइडे अर्थात् असल शुव्रmवार र पुनरुत्थानको दिनलाई मनाउने विभिन्न किसिमले तयारी गरिरहेको छ ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएको कारणले ठूला समूहहरूमा भेला भएर बाहिर विशेष सभा गर्ने र बृहत् कार्यक्रमहरु गर्ने अवसर यो वर्ष हामीलाई नहुन सक्छ । प्रभु येशू सारा संसारका मानिसको पापको लागि क्रुसमा टाँगिनुभएको दिनलाई सम्झना गरेर उहाँको नाउँको प्रशंसा गर्दै र उहाँकी दुलही मण्डलीलाई उहाँले गर्नुभएको प्रेमलाई सम्झँदै हामी असल शुक्रबार मनाउन सक्छौं । त्यसै गरी पाप र शैतानको सबैभन्दा ठूलो शक्ति मृत्युलाई जितेर येशू प्रभु बौरिउठ्नुभएको दिनलाई सम्झेर हामी पुनरुत्थानको दिनलाई विजयमा मनाउन सक्छौं ।

कोरोना महामारीको बीचमा येशू प्रभु हाम्रो निरासा, अन्धकार र अप्ठ्यारा परिस्थितिको लागि क्रुसमा मात्रै मर्नुभएन तर हामीलाई थिच्ने पाप र पापले उत्पन्न गरेका बेमेल, फुट, अन्धकारका कुराहरू, संसारका नाशवान कुराहरू सँगसँगै पाप, परीक्षा, अधर्म र त्यसपछि फुट, बेमेल, भ्रष्टाचार, झगडा, व्यभिचार, अन्याय, कुरीति, कुसंस्कार, निरासा, टुटेको हृदय सबै कुरामाथि विजय प्राप्त गरेर येशू मृतकबाट बौरिउठ्नुभयो । त्यही कुरा येशूले तपाईं हामी प्रत्येकलाई दिन चाहनुहुन्छ ।

कोरोनाले थिलथिलो भएको अर्थतन्त्र उकास्ने काम हुनु पर्ने र महामारीको कारण देशले दुःख पाइरहेको हामी सबैलाई थाहै छ । समाजका कति वटा अवयवहरू अहिले पनि ठीक गतिमा संचालित भएर ठीक मार्गमा हिँड्न नसकिरहेको अर्काे बिडम्बना हाम्रो बीचमा बाँकी छँदैछ । तर त्यसैको बीचमा पनि एउटा गम्भीर रहस्य र अकाट्य सत्यताचाहिँ यही हो कि हाम्रा मुक्तिदाता जीवित भई उठ्नुभएको छ र उहाँ अहिले परमेश्वर पिताको दाहिने हाततर्फ विराजमान हुनुहुन्छ, जहाँबाट उहाँ जिउँदा र मरेकाहरूको इन्साफ गर्नलाई एक दिन फर्केर आउनुहुनेछ ।

यही आशा र सामथ्र्यमा संसारभरिका मण्डलीले येशूको पुनरुत्थानलाई उहाँको ठूलो भक्ति गरेर अनि उहाँबाट ठूलो अनुग्रह प्राप्त गरेर मनाइरहेका छन् । हामी नेपाली मण्डली नेपालभित्र र बाहिर पनि यही कुरालाई निरन्तरता दिने कोसिसमा छौं । परमेश्वर आफैंले हामी सबैलाई डो-याइरहनुभएको छ, सम्हालिरहनुभएको छ ।

प्रभुभोज सुरु गर्ने बेलामा येशूले आफ्नो बलिदान दिन लाग्नुभएको थियो । गुड फ्राइडेको दिनमा उहाँ पक्राउ पर्नुअगाडि उहाँले अन्तिम भोज खाँदा आफ्ना चेलाहरूसँग निस्तार चाडलाई समाप्त गरेर प्रभुभोजको विधि सुरु गर्दैगर्दा भन्नुभयो, “यो पिओ किनकि यो मेरो रगतमा स्थापना भएको नयाँ करार हो ।” परमेश्वरले तपाईं र हाम्रो बीचमा येशू ख्रीष्टको रगतद्वारा नयाँ करार स्थापना गर्नुभएको छ । त्यही नयाँ करारद्वारा परमेश्वरले आफ्नो पुत्रको शरीर तोडिन दिनुभयो ।

नयाँ करारमा र त्यही पुत्रको शरीरद्वारा भएर परमेश्वर पिताको महापवित्रस्थानमा सजिलै जान सक्ने बाटो हामीले पाएका छौं । यही कुरालाई मनन गर्दै पुनरुत्थानले हामीलाई ख्रीष्टको विजयतिर र महिमातर्फ अगुवाइ गरोस् । परमेश्वरको अनुग्रह तपाईं हामी सबैसँग रहोस् । आमेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here