मैले देखेको र भोगेको कोरोना: केपी अधिकारीको अनुभुति

0

केपी अधिकारी

बिगत वर्षदेखि नै विश्व मानव समाजलाई नै चुनौती दिदै मानव जगतमा ठूलो संकटको रुपमा मृत्युको छाँया लिएर प्रत्येक व्यक्तिको मानसपटलमा घुमिरहेको कोरोना भाइरसले अहिले सम्म १६ करोड भन्दा बढी मानिसलाई संक्रमित पारिसकेको र ३३ लाख भन्दा बढीको ज्यान पनि लिई सकेको छ । सन् २०२० को सुरुआत देखि नै सताएको यसले यस वर्षमा पनि विगत २ महिनादेखि बिभिन्न खतरनाक प्रजाति सहित दोस्रो लहरले मानिसलाई अति नै आक्रान्त पारिरहेको छ । नेपालमा पनि यसको तिब्र असर देखिएकोले सरकार र जनमानसमा ठूलो चिन्ता थपिएको छ । अस्पतालहरूमा बेडको अभाव, अक्सिजनको संकट, स्वास्थ्यकर्मीमा समेत संक्रमण फैलिएका कारण उपचारको चुनौती छ ।

यसै बीच विगत २५ दिन अघिदेखि म पनि कोरोना भाइरससंग जम्काभेट भएर युद्ध लड्दै आज निको भएको छु, घरमै अति नै साबधानी र उपचार विधि अपनाएर , परिवारको पूर्ण माया र सहयोगका कारण अनि चिकित्सकको उचित सल्लाह र परामर्शका कारण आज म स्वस्थ भएको छु । अस्पतालमा भएका अधिकांस संक्रमितहरूमा मानसिक रुपमा एक प्रकारको विछिप्त अवस्था हुने कारण मृत्यु भएको देखिन्छ । मेरो आफ्नो अनुभवलाई कलमले व्यक्त गरेर जनमानसमा सकारात्मक सोच र चेतना बढ्ने छ भन्ने आशा लिएकोछु ।

१. यो कसरी सर्ने रहेछ :

हामीलाई थाहा नै हुदैन कसरी यो भाइरसले कसरी र कुन अवस्थामा आक्रमण गर्छ भनेर । मैले चैत्र ३१ गते पाटन अस्पतालमा कोरोना बिरुद्धको खोप लिन करिब २ घण्टा ३० मिनेट लाइनमा बसेको थिएँ अनि त्यो दिन सात सयको संख्यामा मानिसहरू खोप लिन आएका थिए । खोप लाइनमा बस्ने अधिकांस मानिसहरूमा सचेतना नभएको जस्तो देखिन्थ्यो । खोपको समान्य असर पनि हुन्छ भन्ने सुनेको थिएँ र बैशाख ४ गते देखि नै शरीरमा अलि असहज परिस्थिति सुरु भएको थियो र सुख्खा खोकी लाग्ने र ज्वोरो आउने साथै सामान्य टाउको दुख्न सुरु भयो । यो मलाई कसरी सर्यो भन्ने पत्ता लागेन । यसकारण जतिखेर पनि जसलाई पनि यसले भेट्न नसक्ला भन्न सकिन्न क्ष्मलाई सुगर, प्रेसर अनि अन्य कुनै पनि दिर्घ रुग पनि छैन ।

२. यसका लक्षणहरू मलाई कस्ता थिए ।

क. तीन दिन सम्म ज्वोरो आउने, टाउको दुख्ने (असामान्य रुपमा दुख्ने ) साथै बिहान तातो पानी पिए पनि बमिट हुने, सिटामोलले पनि काम नगर्ने अवस्था भयो अनि पेन किलरले पनि नछुने अवस्था थियो

ख. खानामा स्वाद हराउने र सबै भुस जस्तै स्वाद आउने, भोक लागे जस्तो हुने तर खान पटक्कै मन नलाग्ने अवस्था थियो

ग. सुख्खा खोकी लाग्ने, शरीरका सबै भागहरू गल्ने, चौथो दिनमा पखाला पनि लागेको थियो

घ. लगातार ज्वोरो, राती निदाउन नसक्ने अति पसिना आउने, पुरै निराशा मात्र छाउने अवस्था थियो सायद अब मेरो पालो रहेछ कोरोनाले लैजाने भन्ने लाग्थ्यो

ङ पाँचौ दिनमा अति भए पस्चात अस्पतालमा पिसिआर गर्न जाँदा भोलिपल्ट पोजिटिभ रिपोर्ट आयो तर मैले आफुलाई सकारात्मक रुपमा राख्न सकें र मेरो श्रीमतीले अति नै स्याहार गरिन्

३. मैले यी दिनहरुमा कसरी आफुलाई राखें रउपचार विधि के रहेछन् ?

क. सकेसम्म अस्पताल नजानु नै जीवन रक्षाको उपाय रहेछ भन्ने मैले महसुस गरें

ख. आफ्नो बस्ने सुत्ने कोठा अलग्गै गर्ने, चिजबिज सबै अलग गर्ने

ग. बाथरुम जाँदा फर्किंदा अनिवार्य स्यानिटाईजर प्रयोग गर्ने, आफुले प्रयोग गरेका सबै स्थानहरु र चिजहरूमा, घरभित्र पनि मास्क अनिवार्य प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने गरें

घ. निरन्तर वाफ लिने, तातो पानी पिउने, अदुवा बेसार पनि पिउने, अन्य सुपहरु खाने, झोलिलो पदार्थ, फलफुल, दुध अनिवार्य खाने

ङ सामाजिक संजाल रफेसबुक बन्द गरें, समाचारहरू हेर्न छोडें, बरु हास्य व्यङ्ग र हसाउने खालका सिनेमाहरू हेर्ने गरें, अरु आफ्नो मस्तिष्कलाई प्रयोग गर्ने काम पनि गर्न छोडें

च. औषधि : ज्वोरोको लागि प्रत्येक चार घन्टामा सिटामोल, ५ दिन सम्म एजिथ्रोमाइसिन (एन्टी बायोटिक), दिनमा एक पटक जिंक ट्याब, भिटामिन डी हप्तामा एक पटक, भिटामिन सी दिनमा एक पटक, पखाला लागेको अवस्थामा जीवन जल अनिवार्य, खोकीको कफ सिरफ, साथै अन्य आयुर्वेदिक औषधिहरू पनि दैनिक रुपमा लिएँ । आवश्यक औषधि किनेर र अन्य सरसामान पनि किनेर घरमा पठाई दिने पास्टर परिवार र पिटर भाईलाई धेरै धन्यवाद छ ।

छ. कसरी घरमा आफै चेक गर्ने ?

घरमा ज्वोरो हेर्ने थर्मो मिटर, अक्सिजन स्याचुरेसन हेर्ने पल्स अक्सिमिटर अनिवार्य थिए र प्रत्येक दुई घन्टामा हेर्ने गर्थें, अनि बेला बेलामा चिकित्सकहरू संग सल्लाह लिने गरें (मेरी श्रीमतीले लिने गरिन् र मलाई सो अनुसार स्याहार गरिन्)

ज. उच्च आत्मबल र मनोबल अनि यसलाई म जित्छु भन्ने भावना लिएर निरन्तर प्रार्थना गरें गरें, यस परिस्थितिमा मेरा मण्डलीका आदरणीय पास्टर मिनराज दुलाल र गुरुआमा सुनिता दुलालले प्रत्येक दिन दुई तीन पटक सम्म फोन गरी कुनै पनि सहयोग गर्न पछि पर्नु भएन र सल्लाह, सान्त्वना र प्रार्थनामा अगुवाई गरिरहनु भयो जसलाई मैले जीवनभरि विर्सनु हुदैन ।

४. अन्तमा कसरी हार्यो त कोरोना ?

दसौं दिनदेखि मलाई ज्वोरो पनि आउन छाड्यो, टाउको पनि दुख्न छाड्यो, खान पनि रुच्न थाल्यो, अनि शारीरिक रुपमा तल माथि गर्ने, हल्का शारिरिक अभ्यास गर्ने गरें र आज सम्म निरन्तर गरिरहेको छु । खानामा ब्यालेन्स गर्ने आफुले जितेको बारेमा गर्व गर्ने, आफ्नो परिवारलाई (बिशेष गरी श्रीमती) धन्यवाद दिने र अगाडिका दिनहरु निकै उज्याला छन् भन्ने पूर्ण विश्वासका साथ आफुलाई तयार गर्ने निर्णय गरेको छु । मैले जितें अनि कोरोना हार्यो । पास्टर मिनराज परिवार प्रति हाम्रो परिवार सधन्यवाद आभारी छ । आफन्त, साथीहरू लगायत सबैलाई धन्यवाद दिन चाहन्छौं । हामीमा सकारात्मक सोच अनि परिवारको पूर्ण सहयोग भएमा हामी कुनै पनि अस्पतालमा उपचारको लागि जानु पर्दैन, पहिलो डाक्टर अनि नर्स नै घरमा श्रीमानका लागि श्रीमती अनि श्रीमतीका लागि श्रीमान हो ।

५. चिन्ताको विषय?

हाम्रो समाज अलि साँघुरो सोचमा छ, रोग लागेका मानिसलाई हेला गर्ने त् घृणा गर्ने परम्परा छ, जसलाई हामी स्टीग्मा भन्छौं, यसबाट हाम्रो मानसिकता सकारात्मक हुनुपर्छ र केवल असल कामना गर्ने, सहयोग गर्ने, प्रार्थना गरिदिने र हौसला गरिदिने मात्र गरेमा अति नै राम्रो हुने र सामाजिक सद्भाव कायम हुने थियो । हामी सबै जुन धर्म, संस्कार, परिस्थितिमा भए पनि मानिस मानिस बीचको सम्बन्धलाई परस्पर प्रेममा राख्नु बाहेक अरु बिकल्प छैन, यस कोरोनाबाट आहत भएका सबैको स्वास्थ्य लाभको कामना गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here