एफिसीको पत्र: एक परीचय

0

लेखक: पा. पीटर कमलेश्वर सिह

परीचय:

केही समय  अघि यस बीरगन्ज ख्रिष्टीय मण्डलीमा हामीले एफिसीको पत्रको समूहगत अध्ययन गरेका थियौं र ६ अध्याय भएको पावलको यस पत्रलाई अध्ययन गर्दा हामीलाई २ वर्ष लागे को थियो। अध्ययनको क्रममा हामीले यस्ता रहस्य का कुराहरू भेटेका थियौं जो अतिनै महत्वपूर्ण र  घत्लाग्दा थिये। पटक पटक यस पुस्तकमा उल्लेखित गहीरा कुराहरू हेर्दा यो ‘गागर मा सागर’ भए जस्तै लागेको थियो। प्रभुले हामीलाई धैर्य पनि दिनु भयो र हामीले दुई वर्षमा यसको अध्ययन समाप्त गर्दा अति नै धेरै आशिष पाएको अनुभुति गरेका थियौं। यस लेख बाट त्यस्तै केही आशिषहरू बाँडचूँड गर्न खोजेको मात्र हो।

पुस्तक परीचय:

प्रेरित पावलले रोममा झ्याखानामा बस्दा सन् ६० / ६१ ई. मा यो पत्र लेखेका हुन्। वास्तवमा पावलले रोमको कैदमा हुँदा एफिसी, फिलिप्पी, कलस्सी र फिलेमोनको पत्र लेखेका हुन्, जो सम्बोधन गरिएका मण्डलीहरूको निम्ति मात्र नभै त्यस क्षेत्रमा रहेका सम्पूर्ण मण्डलीहरूमा पढ्नु पर्ने थियो। तर अरू पत्रहरू भन्दा एफिसीको पत्रमा उल्लेखित कुराहरू तत्कालीन् अवस्थामा मात्र नभै भविष्यका मण्डलीहरूकालागि पनि उतिकै उपयोगी र महत्वपूर्ण भएकोले यस पत्रलाई मण्डलीकोलागि ‘घोषणा-पत्र’ भनिन्छ।

यस पत्र ले मण्डलीको रहस्यलाई स्पष्ट पार्दछ, जो अन्य पत्रमा पाइंदैन । परमेश्वरको गुप्तरहेका यी अभिप्रायहरू यस पत्रले खुलस्त पार्दछ:

  • यस संसारमा ख्रीष्टको पूर्णताको प्रदर्शन गर्नका लागि उहांको शरीर को निर्माण गर्ने (एफि १:१५-२३)
  • यसो गर्नका लागि यहूदी र अन्य जाति (गैर यहूदी) लाई एकता मा ल्याउने, त्यस शरीरमा स्वयम् परमेश्वर वास गर्नु हुन्छ । ( एफि २:११-३:७)
  • यो समूह (मण्डली) लाई अन्त सम्म सुसज्जित पार्ने, शक्तिशाली बनाउने र परिपक्वतामा पुर्याउने ताकि दुष्ट माथि ख्रीष्टको विजय सम्भव होस (एफि ३: १०-२०, ६:१२-२०)

अध्ययनको क्रममा हामीले छोटो छोटो भागको अध्ययन गरे पनि सम्पूर्ण पुस्तकलाई विषयगत आधारमा विभाजन गरी हेर्दा सम्पूर्ण चित्र हेर्न सजिलो हुन्छ। ‘न्यू स्पिरिट फिल्ड लाईफ बाईबल’ मा उपलब्ध यस पत्रको विश्लेषण अनुसार यसलाई ९ भागमा विभाजित गर्न सकिन्छ ।

  • ख्रीष्टमा विश्वासीको स्थान  १:३- १४
  • अन्तदृष्टिको निम्ति प्रेरित पावलको प्रार्थना १:१५-२३
  • विश्वासीको विगत, वर्तमान र भविष्य २:१-२२
  • प्रेरित पावलको सेवकाई र सन्देश  ३:१-१३
  • शक्तिको निम्ति प्रेरित पावलको प्रार्थना ३:१४- २१
  • विश्वासीको  जिम्मेवारी वहन गर्ने बोलावट ४: १-१६
  • पवित्रताको निम्ति विश्वासीको बोलावट ४:१७-५:१४
  • पवित्र आत्माको भरपूरीमा जीउन विश्वासीको बोलावट ५:१५ – ६:९
  • आत्मिक युद्धमा सहभागी हुनका निम्ति विश्वासीको बोलावट ६:१० – २०

विषय वस्तु:

यस पत्रको वृहत् अध्ययन गर्न यस लेखको उद्देश्य न रहेकोले हामीले अध्ययन क्रममा पाएका केही महत्वपूर्ण आशिष र प्रकाशहरू मात्र साझा गर्ने प्रयास गर्ने छु।

एफिसीको पत्रलाई ‘नया करार’ को ‘आल्प्स’, ‘धर्मशास्त्रको ग्राण्ड कन्यन’ र ‘पत्रहरूको राजकीय मुकुट’ भनिन्छ, यसको विषय वस्तुको विशेषताले मात्र हैन तर यसमा जुन महिमित किसीमले ख्रीष्टलाई दर्शाइएको छ, त्यस कारणले पनि हो।

अध्ययन गर्दा हामीले आशिष पाएका केही नया र महत्वपूर्ण वाक्यान्श र शब्दहरू छन् जसको अर्थ वा व्याख्या तल गरीएको छ ।

  • ख्रीष्टमा वा ख्रीष्ट येशूमा: ख्रीष्ट येशूमा, प्रभुमा, उहाँमा, ख्रीष्टमा आदि शब्दहरू यस पत्रमा मात्र ३६ पटक पयोग गरीएका छन् र पावलका सबै पत्रमा गरेर १६० पटक। यो शब्द या वाक्यांशले प्रभु येशूमा विश्वास गर्ने हरेक विश्वासीले ख्रीष्टमा पाएको विशेष स्थानलाई दर्शाउंछ, जस्तै “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषहरूले आशिष दिनु भएको छ”। (एफि १:३)
  • चुनाउ र पूर्वनियुक्ति: येशूमा विश्वास गरी उद्धार पाउने हरेक विश्वासीलाई परमेश्वर पिताले सृष्टि भन्दा आघि देखिनै आफ्नै पूर्व योजना, प्रेम र अनुग्रह अनुसार छान्नु भएको र नियुक्त गर्नु भएको हो । यस छनौट र नियुक्तिमा मानिसको आफ्नो कुनै विशेषता वा योग्यताले गर्दा हैन, यो पिताकै अनुग्रह हो । “उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो। उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो”, (एफि १:४,५)
  • पवित्र आत्माको छाप र उत्तराधिकारको बैना:  “तिमीहरू, जसले सत्‍यको वचन, अर्थात्‌ आफ्‍नो मुक्तिको सुसमाचार सुन्‍यौ, र उहाँमा विश्‍वास गर्‍यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्‍माको छाप लगाइएको थियो। परमेश्‍वरको आफ्‍नो सम्‍पत्ति, अर्थात्‌ हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्‍म उहाँका महिमाको प्रशंसाको निम्‍ति पवित्र आत्‍मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्‍छ।“ (एफि १:१३-१४)।  प्रभु येशूमा विश्वास गरी उद्धार पाउने हरेकलाई परमेश्वरको सन्तान हुने आधिकार दिईएको छ। अधिकार सजाएर राख्ने वस्तु नभै उपयोग गर्ने कुरा हो । सन्तान ठहराईएकै आधारमा हामी ख्रीष्ट सित साझे हकवाला या उत्तराधिकारी ठहराईएका छौं। यो उत्तराधिकार पक्का हो, यसमा कुनै परिवर्तन हुँदैन भनेर हामीले पवित्र आत्माको वरदान (बप्तिस्मा, भरपूरी) पाएका छौं। यो छाप लगाएको जस्तै हो। कुनै पनि खरीद बिक्रीलाई अपरिवर्तनीय बनाउन पूर्ण भुक्तानी न भए सम्म बैना दिने प्रचलन अझ पनि छ। पवित्र आत्मा हामीले बैनाको रूपमा पाएका छौं। प्रभू येशूको दोश्रो आगमनमा हाम्रो उद्धार पूर्ण (शरीरको पुनरुत्थान वा मुक्ति) हुने छ। तब सम्मको लागि हामीले पवित्र आत्माको भरपूरी बैना को रूपमा पाएका छौं। उत्तराधिकारीको रूपमा हामीले ख्रीष्ट संगै राज्य गर्नेहरू ठहराईएका छौं।
  • मनको आँखा चहकिलो होस्: हामीले संसारको सबै थोक हेर्नलाई एउटा महत्त्वपूर्ण अङ्गको रूपमा शरीरको आँखा पएका छौं। येशूले मत्ती ६:२२,२३ मा यस आँखाको महत्त्वपूर्ण भूमिका बताउंदै यसको अभावमा शरीरको अन्ध्यारोपना को कुरा गर्नु भएको छ । मनको आँखा उद्धार पाए संगै खुल्ने हुनाले  उद्धार न पाएका वा प्रभु येशूलाई उद्धारकर्ता स्विकार नगर्ने व्यक्तिहरूको भित्री अन्ध्यारोपना अति गहिरो हुन्छ। अर्थात् नया जन्म न पाएका व्यक्तिहरूले परमेश्वरको राज्य सम्बन्धी कुनै पनि प्रकाश पाउन र स्वीकार गर्न सम्भव हुँदैन। आत्मिक सत्यता र गहिरा प्रकाशहरू सजिलै प्राप्त गर्न, बुझ्न र स्वीकार गर्न एफिसी विश्वासीहरू चनाखो हुन सकून् भनेर पावलले उनीहरूको मनको आँखा अझ चहकिलो होस् भनेर प्रार्थना गरेका छन्। (१:१८)
  • उहाँको शक्तिको असीम महानता: पवित्र आत्मा परमेश्वरको शक्ति हुनुहुन्छ। प्रभु येशूले परमेश्वर पिताको योजना अनुसार पवित्र आत्माको शक्तिले सारा सृष्टिको रचना गर्नु भयो। परमेश्वर पिताले त्यही पवित्र आत्माको शक्ति उपयोग गर्नुभै प्रभु येशूलाई मरेको बाट जिवीत पार्नु भयो र स्वर्गीय स्थानहरूमा आफ्नो दाहिने पट्टि बसाल्नु भयो। त्यही पवित्र आत्मा (शक्ति)ले पिताले हामी विश्वासीहरूलाई पनि सुसज्जित पार्नुभएको छ। यो सत्यता हरेक विश्वासीले जान्नुपर्ने आवश्यक छ। (१:१९,२०)
  • ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ र मण्डली ख्रीष्टको शरीर हो:  परमेश्वर पिताले नै प्रभु येशू ख्रीष्ट लाई स्वर्गमा आफ्नो दाहिने बाहुलीपट्टी बसाल्नु भएको छ र सबै शासन, र अधिकार, र शक्ति र राज्य माथि र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाउँ छन्, ती सबै माथि उहाँलाई राख्नु भएको छ। र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनु भयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाईदिनु भयो, जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो। येशू स्वर्गमा हुनु हुन्छ, शरीरलाई यस संसारमा राख्नु भएको छ। स्वर्गमा उहाँ विराजमान् भै राज्य गरी रहनु भएको छ, क्षरीरले यस संसारमा उहाँको निर्देशन र सेवकाई पुरा गरी रहेको छ। (१:२०-२३)
  • संसारको रीति र आकाशको शक्तिको मालिक: ‘संसार’ शब्द का विभीन्न आयामहरू छन्। परमेश्वरले प्रेम गर्नु भएको संसार (यूहन्ना ३:१६) ले यहाँ रहेका मानवजातिलाई जनाउँछ, जबकि विश्वासीहरूले एकै चालका न हुनु (रोमी १२:२) भनेर चेताउनी दिईएको संसारले यहाँका मानिसहरूको जीवनशैलीलाई देखाउँछ। एफिसी २:२ मा उल्लेखित संसारको रीति, आकाशको शक्तिको मालिकको अधीनतामा दुष्टबाट प्रेरित पापपूर्ण जीवनशैलीलाई जनाउँछ, जुन जीवनशैलीमा ख्रीष्टलाई चिन्नु भन्दा अघि हामी सबै चल्दथियौं। तर अहिले हामी उहाँ द्वारा जीवित पारिएका छौं। (२:१-३)
  • अनुग्रह बाट विश्वासद्वारा पाएको उद्धार: हामी आफ्नो पापमा मरेको भए पनि कृपाका धनी परमेश्वरले हामीलाई आफ्नोमहान् प्रेम द्वारा प्रेम गर्नु भयो र हामीलाई ख्रीष्ट संगै जीवित पार्नु भयो।“ किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ– र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो– कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्‍ड गर्नेछ”। (एफि २:८,९)
  • खतना र बेखतना बीचको फरक मेटीएको छ: खतनाकाहरूले (यहूदीहरू) गैरयहूदीको रूपमा हामीलाई बेखतनाकाहरू, ख्रीष्टबाट अलग्ग, इस्राएलका नागरिक हक बाट अलग, प्रतिग्याका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्वररहित मानिसकोरूपमा हेर्द थिए। हामी जो त्यसबेला ख्रीष्टबाट टाढा थियौं, अब ख्रीष्टको रगत द्वारा नजीक भएका छौं। “किनकि उहाँ नै हाम्रो शान्‍ति हुनुहुन्‍छ। उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्‍याउने शत्रुताको पर्खाल भत्‍काइदिनुभएको छ। र उहाँले व्‍यवस्‍थालाई त्‍यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्‍नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्‍टि गरून्‌, र यसरी शान्‍ति स्‍थापना होस्‌। अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्‍वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो।“ (२:१४-१६)
  • अन्यजाति (गैर यहूदी) पनि परमेश्वरको घरानामा समावेश गरीएका छन्: अब अन्यजाति र यहूदीहरू बीचको फरक नष्ट भएकोले यहूदीहरू संगसंगै गैरयहूदी वा अन्यजाति पनि ख्रीष्टको घरानामा समावेश गरीएका छन् र पवित्र आत्मामा पिता कहाँ प्रवेश पाएका छन्। “अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाइ तिमीहरू पनि उहाँमा एक साथ निर्माण हुँदैजान्छौ।“ (एफि २:२२)
  • प्रकाशद्वारा पावललाइ थाहा गराइएको रहस्य: अघिका पुस्तालाई प्रकटनगरीएको तर पावललाई पवित्र आत्मा को प्रकाश द्वारा थाहा गराईएको रहस्य के थियो भने सुसमाचार द्वारानै अन्यजातिहरू (गैर यहूदी समुदाय) सह उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको प्रतिग्याका साझेदार हुन्। (३: ६)
  • युगयुग देखि लुप्त रहेको रहस्यको योजना: यो पत्रले पवित्र आत्माको प्रकाशद्वारा युगयुग देखि लुप्त रहेको (प्रकट न गरीएको) अर्को रहस्यको योजना पनि पावलले खुलस्त पारेका छन्। त्यो योजना के हो भने “मण्डली द्वारा परमेश्वरका विभीन्न किसीमका ग्यान स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारवालाहरूका माझमा प्रकट गरीयोस्। प्रभु येशूमा रहेको अनन्त उद्देश्य अनुसारनै उहाले यो पूरा गर्नु भएको छ। (३:१०)
  • परमेश्वरको सारा पूर्णताले भरिपूर्ण होओ: एफिसीहरूको लागि पावलको यस महत्त्वपूर्ण प्रार्थनाको सार हो: उहाँको आत्माको शक्तिले एफिसीहरूको भित्री मनुष्यत्वलाई शक्तिशाली पारून्, विश्वासद्वारा ख्रीष्ट उनीहरूको हृदयमा वास गरून्, प्रेममा जरा गाडिएका र दह्रिला भएर ग्यानलाई माथ गर्ने त्यो प्रेमको लम्बाई, चौडाई, उचाई र गहिराई के रहेछ, त्यो सबै सन्तहरू सित मिलेर थाहा गर्नसकून् ताकि परमेश्वरको सारा पूर्णताले तिनीहरू भरिपूर्ण हुनसकून्। यस अघि प्रभू येशू मात्र परमेश्वरको सारा पूर्णताले भरिपूर्ण हुनुहुन्थ्यो। (३:१४-१९)
  • मण्डलीमा एकता: परमेश्वरको इच्छाको रहस्य र उद्देश्य प्रकट गर्दै पावलले एफिसीहरूलाई , ”सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्ने प्रयत्न गर।“ आग्रहपुर्वक बिन्ती गरेका छन्। शरीरमा विभीन्न अङ्गहरू भएपनि सबै अङ्ग मिलेर एउटै शरीरको निर्माण हुन्छ, मण्डली पनि त्यस्तै हो। शरीरको कुनै पनि अङ्गले शरीरबाट अलग भएर एक्लै केहीपनि गर्न सक्दैन, मण्डली पनि त्यसतै किसीमले आपसको एकतामा सबै सदस्यले अ-आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ। हामी सबैको एउटै प्रभु, एउटै विश्वास, र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता, जो सबै माथि, सबैका मध्य र सबैमा हुनुहुन्छ। (४:२-६)
  • सेवकाईका वरदानहरू: शरीरका सबै अङ्गहरूलेकाम गर्दा शरीर स्वस्थ र सुगठीत रही परिपक्वतामा बढ्दै जाने हुनाले मण्डलीको विभीन्न सदस्यहरूकोलागि ख्रीष्टले पनि विभीन्न सेवकाई ( प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टर र शिक्षकहरू) दिनुभएको छ ताकि, “ ख्रीष्‍टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्‌,  जबसम्‍म हामी सबैले विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍व मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्‍म पुग्‍दैनौं। यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं। (एफिसी ४:१२-१४)।
  • अन्यजाति र ज्योतिका सन्तान बीचको भिन्नता: यस संसारमा आफ्नो जीवन बिताउँदा हामीले अन्यजाति जस्तो जीवनशैली त्याग्नु पर्छ जो आफ्नो विचारको व्यर्थतामा, हृदयको कठोरता र अग्यानतामा, परमेश्वरको जीवन देखि बिराना भएर, तिनीहरूका समझ अन्धकारले भरिएर कठोर भएका र हरकिसीमका अशुद्ध काम गर्ने लालचमा परेर छाडा भएका छन्। तर हामीले ख्रीष्टलाई जानेका व्यक्तिहरूको रूपमा छली लालसाहरूद्रारा भ्रष्ट भएका हाम्रा अगाडीका जीवनको ढाँचासँग सम्बन्धित पुरानो स्वभाव त्याग्नु पर्छ। र आफ्नो भित्री बर्तावमा नयाँ हुनु पर्छ। साथै परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टी भएको नयाँ स्वभावलाई धारण गर्नु पर्छ। (४:१०-२४)
  • परमेश्वरका प्रिय बालकहरूको चरित्र: हाम्रो हृदयमा भएको परिवर्तन व्यवहारमा देखिनु पर्ने उतिनै महत्वपूर्ण र आवश्यकछ। विश्वासीहरूको रूपमा यसकोलागि हाम्रो एकमात्र नमूना स्वयम् प्रभु येशूनै हुनु हुन्छ। “यसकारण तिमीहरू प्रिय बालकहरूझैं परमेश्वरको देखासिकी गर्नेहरू होओ।“ (५:१)। साथै हाम्रो आचरण सुहाउंदो व्यवहार देखाउन प्रोत्साहित गरीएको छ: तिमीहरू प्रेममा चल,  जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नु भयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नु भयो।“ (५:२) यसकारण हाम्रो बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइयोस, जो सन्तहरूको बीचमा हुन सुहाउँदैन।कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठठ्यौली गर्न पनि सुहाउँदैन, बरु धन्यवाद दिने काम होस्। किनभने कुनै व्यभिचारी, कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन। (५:३-५)
  • व्यक्तिगत हिंडाईमा ध्यान दिनु पर्ने: विश्वासीकोरूपमा हामीले समयको सदुपयोग गर्दै बुद्धिमानी पूर्वक जीवन यापन गर्न प्रोत्साहन दोइएको छ। “यसैले कसरी हिंडछौ ध्यान संग हेर – निर्बुद्धि मानिस जस्तो होइन, तर बुद्धिमान् जस्तो। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।“ (५:१५-१६)।
  • पति – पत्नी बीचको सम्बन्ध: यदि हामीले ख्रीष्ट जो हुनुहुन्छ, हाम्रोलागि उहाँले जे गर्नु भएको छ, हाम्रो प्रभु र मुक्तिदाता को रूपमा हामीले स्वीकार गरेको कारण हाम्रो हृदयमा उहाँको लागि केही श्रद्धा छ भने हामीले एकले अर्कालाई आदर गरेर त्यो प्रमाणित गर्नु पर्छ। एकले अर्कालाई आदर गर्ने भनेकै एक-अर्काको अधीनमा बस्ने हो। त्यही क्रममा पत्निले पनि प्रभुको अधीनमा रहे जास्तै आफ्नो पतिको अधीनमा बस्नु पर्छ। मण्डलीमा पति पत्निको सम्बन्ध ख्रीष्ट र मण्डली बीचको सम्बन्ध जस्तै हो। ख्रीष्ट र मण्डली बीचको सम्बन्ध जसरी अपरीवर्तनीय छ, पतिपत्निको सम्बन्ध पनि त्यस्तै हो। ख्रीष्ट जसरी मण्डलीको शिर र मण्डली ख्रीष्टको शरीर हो, त्यस्तै पति पनि पत्निको शिर हो र पत्नि पतिको शरीर। ख्रीष्टले जसरी मण्डलीलाई प्रेम गर्नु भयो र त्यसको निम्ति आफुलाई अर्पण गर्नु भयो, त्यस्तै पतिले पनि आ-आफ्ना पत्निलाई प्रेम गर्नु पर्छ। मण्डलीको निम्ति ख्रीष्टको विशेष योजना छ, दाग वा चाउरी नभएको, अथवा यस्तो कुनै कुरा नभएको तेजस्वी मण्डली, पवित्र र निष्खोट,  आफ्नोलागि तयार गर्ने। आ-आफ्ना पत्निको लागि हाम्रो योजना के छ? प्रेम गर्दै संगी यात्रीको रूपमा विश्वासी जीवनको यो यात्रा सफलतापूर्वक पूरा गर्ने। (५:२२-३३)।
  • मातापिता र छोराछोरी बीचको सम्बन्ध: परमेश्वरको इच्छा हाम्रो सन्तानको लागि र मातापिताको रूपमा हाम्रो लागि के छ? दुवै थरीले यो बुझ्नु आवश्यक छ। छोरा छोरीको लागि परमेश्वरको आग्या छ, ( “ आफ्नो  बुवा र आमाको मान गे। जो प्रतिग्या सहितको पहिलो आग्या हो”।) कि तिमीहरूलाई बलो होस् र पृथ्वीमा तिमीहरू दिर्घायु होओ।(६:२,३) आफ्नो सन्तानलाई संसारको नक्कल न गरी प्रभुको अनुशासन र शिक्षामा हुर्काउन हाम्रो गहिरो दायीत्व र कर्तव्य हो। पारीवारिक बेदीको अभावमा धेरै परीवर बिग्री रहेको आजको अवस्था र विद्यालयहरूले अपनाएको खुकुलो अनशासन नगर्ने नीतिले गर्दा विश्वासी परीवारमा प्रभुको महिमालाई दृष्टिगत गरी सो सुहाउँदो जीवन शैली अपनाउन झन् आवश्यक भएको छ।
  • कमारा र मालिकहरू बीचको सम्बन्ध: ख्रीष्टमा आएपछि कमारा र मालिक बीचको भिन्नता हराएको छ। तर व्यावहारिक जीवनमा कुनै पनि परीवारमा व्यवहारिक रूपमा सहायता गर्ने कमारा कमारीहरूले प्रभुको सेवा गर्ने जस्तै गरी आफ्नो मालिकको सेवा गर्न सुहाउँछ। “मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर, यो जानेर कि चाहे त्यो कमारा होस्, चाहे फुक्का, जसले असल काम गर्दछ, त्यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।“ (६:७,८)। मालिकहरूले पनि आफ्ना कमाराहरूसँग सोही अनुसार व्यवहार गर्नु पर्छ।
  • आत्मिक युद्ध: प्रत्येक विश्वासीले अनुभव गरी रहेको आन्तरिक संघर्ष एउटा आत्मिक युद्ध नै हो, जो हामीले आफ्नै शरीरको अभिलाषा, संसारको आकर्षण र यी दुवैलाई आफ्नो हतियार बनाई हाम्रो विरुद्धमा उपयोग गर्ने अन्ध्यारोका शक्तिहरूको विरुद्ध लड्नु पर्छ। हामीले प्रभु येशुमा विश्वास गर्दा पाप क्षमा पाउन र नर्कको दण्डबाट छुटकारा पाउने उद्देश्यले मात्र गरेका थियौं। तर विस्तारै यो युद्धको विषयमा बुझ्दै गयौं। यो युद्ध हामीले अरु मानिस को विरुद्ध लड्ने हैन तर हाम्रो अदृश्य शत्रु दियाबलस को विरुद्ध लड्नु पर्छ जो प्रधानताहरू, शक्तिहरू, वर्तमान अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूलाई चलाउँछ। यसकारण हामीले उपयोग गर्ने र धारण गर्ने हातहतियार पनि आत्मिक र अदृश्य नै हुनु पर्छ। आफ्नो कम्मर सत्यताले कसने, धार्मिकताको छातीपाता लगाउने, खुट्टामा मिलापको सुसमाचारको जुत्ता लाएर तैयार हुने, विश्वास को ढाल उठाउने, यसले दुष्टका सबै अग्निवाण निभाउन मद्दत गर्छ, मुक्तिको टोप लगाउने र पवित्र आत्माको तरवार लिने जो परमेश्वरको वचन हो। साथ साथै सब समय सारा प्रार्थना र निवेदन साथ प्रार्थना गरी रहनु पर्छ। यी सबै हातहतियार हाम्रो जीवनशैली संग जोडिएका छन्। पवित्र र धर्मी जीवन, सुसमाचार प्रचार, वचन पढाई र निरन्तर प्रार्थना विजयी विश्वासी जीवनका उपाय हुन्

अन्तमा, एफिसीको पत्रको यो परीचयात्मक अध्ययनले पाठकवर्गलाई विस्तृत अध्ययन गर्न प्रेरणा दिन्छ, यही कामना र प्रार्थना गर्दछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here