लेखक: राम प्रसाद अधिकारी
“यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेका हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलै अल्झाउने पापलाई पन्छाएर हाम्रा समुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं” (हिब्रू १२:१)।
साक्षीहरूको यो ठूलो बादल के होला र को होला?
धार्मिक मानिसहरूका आत्माहरू: यी परमेश्वरबाट प्रशंसा पाएका दिवङ्गत सन्तहरू अर्थात् धार्मिक मानिसहरूका आत्माहरू हुन् (हिब्रू ११:३९, १२:२३)। सर्वोच्च परमेश्वरका पुत्र नासरतका येशूले मानव शरीरमा अवतार लिनुअगि वा पछि उहाँका प्रिय सबै दिवङ्गत सन्तहरू उहाँसँगै परमधाममा वास गर्छन् (लूका २:१४)। येशू ख्रीष्टलाई आफ्नो हृदयमा विश्वास गरी नयाँ जन्म पाएका साँचो विश्वासी ख्रीष्टियानहरूलाई सन्तका यी आत्माहरूले घेरिराखेका हुन्छन् (हिब्रू १२:१)।
हामीले पाइलट, शिक्षक, डाक्टर, ड्राइभर, बिसप, पास्टर, डिकन, व्यापारी, लेखक, प्रचारक, राजनीतिज्ञ, इन्जिनियर, कुल्ली, ज्यामी, प्लम्बर जेसुकै पेसा गरे पनि र हामी जहाँसुकै बसे पनि परमेश्वरको परमधाममा निवास गरेका पवित्र पारिएका दिवङ्गत सन्तहरूका आत्माहरूले हामीलाई सधैं हेरिरहन्छन्। तिनीहरू ख्रीष्टका साँचो विश्वासीका साक्षी हुन्। यस पदमा हिब्रूका लेखकले तिनै साक्षीलाई इङ्गित गरेका हुन्।
बाइबल धर्मशास्त्रले भन्दछ, हजारौं, लाखौं, करोडौं, अरबौं र खरबौं दिवङ्गत धार्मिक मानिसहरूका अदृश्य आत्माहरू हाम्रा नजिक बसेर हामीलाई हेरिरहन्छन्। तिनीहरूले हाम्रा बारेमा हरेक कुरा देख्न र जान्न सक्छन्। तर मेरो शारीरिक आँखाले मैले तिनीहरूलाई देख्न सक्दिनँ। यी आत्माहरूले हामीलाई हेरेर के गर्छन्?
हाम्रा साक्षीका यी बादलले ख्रीष्टका साँचो विश्वासीलाई विश्वासमा बढ्दै जान उत्साह दिन्छन् र भन्छन्, “निरास नहोओ, आफ्नो विश्वासलाई नत्याग, आत्मिक यात्रामा निरन्तर दौडिराख। सधैं येशूलाई हेर। तिम्रा लागि उहाँले धेरै दुःख भोग्नुभयो। उहाँका धेरै जना शत्रुले उहाँलाई भयानक यातना दिए। यसकारण, अरु मानिसले तिमीलाई नराम्रा कुरा गर्दा तिमी बिर्सिदेऊ।”
येशू ख्रीष्ट प्रभुले हाम्रा लागि निरन्तर मध्यस्थ बिन्ती गर्नुहुन्छ (रोमी ८:३४, १ तिमोथी २:५, हिब्रू ७:२५, १२:२४)। अनि सिद्ध पारिएका धार्मिक मानिसका आत्माहरूले पनि जसरी उनीहरू शरीरमा हुँदा एकअर्काका लागि प्रार्थना र बिन्ती गरे, त्यसरी नै शरीरको मृत्युपछि उनीहरूका आत्माहरूले पृथ्वीमा बाँचिरहेका सन्तहरूका निमित्त निरन्तर प्रार्थना र बिन्ती चढाउँछन् (लूका १६:१९-३१, हिब्रू १२:२३)।
ख्रीष्टपूर्व करिब १४०० वर्ष पहिले नै मोशाको शारीरिक मृत्यु भएको थियो। तर पर्वतमाथि येशूको रूप परिवर्तन हुँदा तिनै मोशा येशूको साथमा देखा परे। अनि ख्रीष्टपूर्व करिब ८०० वर्ष पहिले जिउँदै स्वर्गमा उठाई लगिएका एलिया अगमवक्ता पनि त्यस बेला येशूको साथमा देखा परे। व्यवस्था र अगमवक्ताका यी दुई महान् प्रतिनिधि धार्मिक मानिसका सिद्ध पारिएका आत्माहरूले येशूलाई क्रूसमा बलिदानीपूर्ण मृत्यु भोग्न उत्साह प्रदान गरे (लूका ९:२८-३६)।
अनन्त जीवनको आशा नभएका मानिसका विचारमा मृत्यु नै सबै कुराको अन्त्य हो। तिनीहरूका विचारमा मृत्युपछि सबै कुरा सकिन्छ र मेटिन्छ। केही पनि बाँकी रहँदैन। तर बाइबलअनुसार यो कुरा सत्य होइन। मृत्यु मेटिएर र सकिएर जाने कुरा होइन, तर मानिसका शारीरिक आँखाका लागि अदृश्य भई बिदा हुने कुरा मात्र हो।
कसैलाई बाटोमा भेटेर बिदा हुँदा एउटाले अर्कोलाई पछि फर्केर हेर्दै आफ्नो गन्तव्यतिर अगि बढ्दै जाँदा उनीहरू एकअर्काका दृष्टिबाट टाढा पुग्छन्, र फेरि देख्न सक्दैन। तर उनीहरू जीवित नै हुन्छन्। मरेका हुँदैनन्।
मृत्यु यस्तै कुरा हो। कुनै मानिसको मृत्यु हुँदा तिनीहरू भौतिक शरीरबाट बिदा हुन्छन्। यी आत्माले परमेश्वरको वचनका आज्ञा पालन गरेर उहाँको अनुग्रह पाएका छन् भने, परमेश्वरको परमधाममा सदासर्वदा परमेश्वरसँग वास गर्छन्। सन्त पावलले भने, “बरु, बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा छ किनभने यो धेरै नै असल छ” (फिलिपी १:२३)।
यसर्थ, ख्रीष्टका विश्वासीहरूका लागि यी दिवङ्गत सन्त जीवित साक्षी हुन्। हामीले परमेश्वरको आराधना गर्दा हामीसँगै तिनीहरू पनि आराधनामा सहभागी हुन्छन्। तर हाम्रा शारीरिक आँखाले तिनीहरूलाई देख्न सक्दैनौं। कुनै दिन हामी तिनीहरूसँगै हुने छौं। हाम्रो अनन्त जीवनको आत्मिक यात्राको लक्ष्य यही हो। जस्तो सन्त पावलले कोरिन्थको मण्डलीका विश्वासीहरूलाई भन्छन्, “म शरीरमा उपस्थित नभए पनि आत्मामा तिमीहरूसँग छु” (१ कोरिन्थी ५:३)।
महान् लेन्टको प्रार्थना: बाह्र प्रेरित र मण्डली फादरहरूले मण्डलीलाई ४० दिनको उपवास प्रार्थना गर्न सिकाए। यसलाई महान् लेन्टको प्रार्थना भनिन्छ। यो समय उपवास बस्ने, प्रार्थना गर्ने र दान दिने समय हो। यस्ता कुराले हाम्रो आत्मिक जीवनलाई जागृत गराउँछ।
जाडो ऋतुमा पात झरेको रुखमा बसन्तसँगै नयाँ पालुवा पलाउँछ। पात झरेको बेला सारा पृथ्वी शान्त भएझैं लाग्छ। त्यस बेला कुनै जनावर जाडोले गुफाभित्र लुकेर बस्छन्। केही गर्दैनन्। यसरी प्रकृतिको पनि एक्लो, शान्त र चुपचाप बस्ने समय हुँदोरहेछ।
नोआ, अब्राहाम र इसहाकले शान्त बसेर परमेश्वरमा ध्यान गरेर समय बिताउँथे (उत्पत्ति २४:६३)। मोशा सिनै पर्वतमाथि परमेश्वरको उपस्थितिमा गए र चालिस दिन चालीस रातसम्म समय बिताए (प्रस्थान ३४:२८, व्यवस्था १०:१०)। एलियाले उपवास बसेर नै होरेब अर्थात् सिनैतिरको चालीस दिन र चालीस रातको तिर्थयात्रा पूरा गरे (१ राजा १९:८)। येशूले चालीस दिन र चालीस रात उपवास बसेर प्रार्थना गर्नुभयो (मत्ती ४:२)। सबै अगमवक्ता, बप्तिस्मा दिने यूहन्ना, बाह्र प्रेरित, सन्त पावल, पवित्र मण्डलीका फादरहरू र सन्तहरूले चालीस दिन र चालीस रात उपवास प्रार्थना गरे। यसरी पवित्र मण्डलीका लागि यो एउटा नियम वा व्यवस्था बन्यो। नयाँ जन्म पाएका ख्रीष्टियानहरूले एक्लो, शान्त र चुपचाप बस्न सिक्न पर्छ। यसरी हामी परमेश्वरलाई नजिकबाट बुझ्न सक्छौं।
महान् लेन्टको समयमा हामी प्रार्थना गर्छौं, मनन गर्छौं, उपवास बस्छौं, र गरिब तथा खाँचोमा परेका मानिसलाई सहायता गर्छौं। यसरी परमेश्वरको सेवा गर्न हामीले आफूलाई अलग्याउनुपर्छ। जस्तो चार्ज गर्ने टर्च लाइट, मोबाइल, ल्यापटप आदि चार्ज गरेपछि काम गर्छ, त्यस्तै हाम्रो आत्माले परमेश्वरको पवित्र आत्मासित चार्ज गरेपछि हाम्रो आत्मिक जीवन उज्यालो हुन्छ। परमेश्वरले सुम्पी दिनुभएको पवित्र कार्य मण्डलीले निरन्तर गर्न सकोस् भनेर उहाँले महान् लेन्टको परम्परा दिनुभएको हो।
ख्रीष्टियानहरूले भिन्नभिन्न तरिकाले लेन्टको उपवास पालन गर्न सक्छन्। कसैले खाना खाँदैनन्। कसैले हल्का खाना खान्छन्, तर मासुलगायत विशेष खाना खाँदैनन्। अनि प्रार्थना गर्न, गरिब तथा असहाय मानिसकहाँ गएर सहायता पुर्याउन र परमेश्वरको प्रेम देखाउन बढी समय दिन्छन्। एक हप्तामा एकपल्टको खाना छाडेर उपवास बस्नुको साटोमा धेरैपल्ट उपवास बस्न सक्छन्।
हामीले परमेश्वरका कुरा मन्यौं भने मात्र उहाँले हाम्रो जीवनमा काम गर्न सक्नुहुन्छ। यो महान् लेन्टको समय पवित्र मण्डलीका लागि ज्यादै महत्वपूर्ण छ किनकि महान् लेन्टको प्रार्थनाको समयमा हामी येशूसँग झन् नजिक भएर दिनदिनै उहाँको साथमा हिंड्छौं।
हाइ डाइबिटिज भएका ख्रीष्टियानले उपवास बस्नै पर्छ भन्ने छैन। शारीरिक कारणले डाक्टरको सुझावअनुसार उपवास बस्न नहुने विश्वासीहरूले खाना पूर्ण रूपमा छोड्न पनि हुँदैन। तर यो लेन्टको समयमा उनीहरूले गर्न सक्ने अरु धेरै असल कुरा हुन्छन्। उनीहरूले भेटघाट, सङ्गति, प्रार्थना, हौसला र सहभागिता जनाएर स्थानीय मण्डलीमा धेरै टेवा पुर्याउन सक्छन्। यसरी उनीहरूको आत्मिक जीवन उज्यालो हुन्छ। तपाईंले जति धेरै प्रार्थना, वचन मनन, विश्वासीहरूसित सङ्गति, छरछिमेकमा भिजिट र गरिब मानिसलाई सहायता पुर्याउने कार्य गर्नुहुन्छ, त्यति नै तपाईंको आत्मिक जीवनको शक्ति बढेर जान्छ।
उपवासले शरीर अलि कमजोर भएझैं लाग्न सक्छ, तर आत्माको जीवनमा उज्यालो बढ्छ। किनभने हामी अनन्तसम्म सदासर्वदा परमेश्वरको साथमा रहनका लागि लामो आत्मिक यात्रा गरिरहेका छौं।
उपवास बस्न जरुरी छैन भन्नेहरू पनि छन्। उपवास प्रार्थनामा समय बिताउने कुरा धर्मकर्म गरेजस्तै हो भनेर उपवासको उपहास खिल्ली उडाउने र गिज्याउने अगुवाहरू पनि छन्।
तर महान् लेन्टको प्रार्थनाको पालन गर्दा परमेश्वरको बाटोमा हिंड्न हामीलाई सहायता पुग्दछ। येशूको मृत्यु र पुनरुत्थानको शक्तिलाई गहन रूपले बुझ्न, विश्वासीहरूसित मिलेर प्रार्थनामा सहभागी हुन, परमेश्वरका कुरा सिक्न र आफ्नो आत्मिक जीवनलाई सशक्त तुल्याउन सहायता मिल्दछ। अनि हाम्रो शारीरिक मृत्युपछि हामी पनि यस पृथ्वीमा बाँचिरहेका ख्रीष्टका अरु विश्वासीका लागि निरन्तर प्रार्थना चढाउने साक्षीका बादलसँग सहभागी हुने छौं। हाम्रा परमेश्वर पितालाई हाम्रा मुक्तिदाता प्रभु येशू ख्रीष्टद्वारा सदासर्वदा स्तुति, प्रशंसा, महिमा, आदर र धन्यवाद होस्! आमेन।
[यस लेखमा वैचारिक वा सैद्धान्ति उल्झन भए लेखक स्वयम् जिम्मेवार छन्।]