१ भदौ, काठमाडौं । गत आर्थिक वर्षमा नेपालको चालु खाता सामान्य घाटामा भए पनि भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) भने करिब ३ खर्बले बचतमा गएको छ ।
आर्थिक वर्ष २०७८/७८ मा शोधनान्तर घाटा बढेर बाह्य क्षेत्रमा दबाब बढेपछि सरकारले ८ महिनाभन्दा लामो समय केही वस्तुको आयातमा प्रतिबन्ध नै लगाएको थियो ।



नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको आर्थिक वर्ष ०७९/८० को वार्षिक तथ्यांकका अनुसार मुलुकको बाह्य क्षेत्र सुदृढ देखिएको हो । आर्थिक वर्ष ०७८/७९ मा २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति गत आर्थिक वर्षमा २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षमा अमेरिकी डलरमा शोधनान्तर बचत २ अर्ब २१ करोड पुगेको छ । आर्थिक वर्ष ०७८/७९ मा शोधनान्तर स्थिति २ अर्ब १५ करोडले घाटामा थियो ।
मुलुकको चालू खातामा पनि उल्लेख्य सुधार भएको छ । आर्थिक वर्ष ०७८/७९ मा ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको चालु खाताको नोक्सानी गत आर्थिक वर्षमा घटेर ७२ अर्ब १६ करोडमा झरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा चालु खाता ५ अर्ब १७ करोड अमेरिकी डलरले घाटामा रहेकोमा गत आर्थिक वर्षमा ५५ करोड ७१ लाख डलरमा झरेको हो ।
खुद प्रत्यक्ष वैदेशिक लगानी पनि घट्यो
गत आर्थिक वर्षमा खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ९६ करोड कायम भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रहेको थियो । सो आवमा खुद पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई ७ अर्ब ५४ करोड रहेको छ, जुन अघिल्लो वर्ष ९ अर्ब ९९ करोड थियो ।