अहिले सारा संसार नै कोरोना भाइरसको कारण त्रस्त छ । चीनको वुहानबाट सुरु भएको महामारीले अन्टार्टिकाबाहेक सबै महादेशलाई छोएको छ । अति व्यस्त रहने युरोपका गल्लीहरू सुनसान छन्, लाखौं मान्छेहरूले काम गर्ने कम्पनीहरू अस्थायी रूपमा बन्द भएका छन् । विभिन्न सभा तथा सम्मेलनहरू रद्ध भइरहेका छन् भने धेरै देशहरूले आफ्ना वायुसेवाहरूलाई अनेकन् उडानहरू अस्थायी रूपमा स्थगित गर्न आदेश दिइरहेका छन् । औषधिको आविस्कार नभएको कारण सालाखाला १० प्रतिशत संक्रमितहरूको मृत्यु भइरहेको छ । विज्ञान र प्रविधिमा संसार हाँक्ने युरोप र अमेरिकालाई पनि सुक्ष्मदर्शकयन्त्रले मात्रै हेर्न मिल्ने किटाणुले हावाकावा बनाइरहेको छ ।
चन्द्रमा वा मंगल ग्रहमा बस्ती बसाउने अनि आर्टिफिसियल इन्टेलिजेन्सको कुरामा गर्व गरेका विज्ञान र प्रविधिका सारथीहरू पनि त्राहिमाम भएको देख्दा विपत्ति हाम्रो ढोकैमा रहेको अनुभूति हुन्छ । मानिसहरू अब के हुने हो भन्ने डरमा अल्झिरहेका छन् भने विश्व स्वाथ्य संगठनले पनि महामारीलाई खतराको माथिल्लो तहमा राखेको छ । आजका मितिसम्म नेपालमा एउटा मात्रै कोरोना संव्रmमित पाइए पनि उपचारपछि निको भएको छ । येशूलाई धन्यवाद ।
संसारका मानिसहरूको लागि यस्तो आसाहीन अवस्थामा पनि येशूमा आसा छ । मत्ती २४ अध्यायमा आफ्नो दोस्रो आगमनको बारेमा कुरा गर्दा येशूले थुप्रै चिन्हहरू दिनुभयो । तीमध्ये डरलाग्दो रोगको महामारी पनि एउटा हो । येशूले यी सबै त प्रसववेदनाको सुरू मात्रै हो पनि भन्नुभयो । त्यसकारण कोरोना वा अन्य जुनसुकै महामारी आए पनि परमेश्वरको जानकारीबिना कुनै कुरा पनि भएको छैन । येशूलाई सबै कुरा थाहा छ, सबै विपत्ति र संकष्टको कारण हामीलाई थाहा छैन तर धर्मी परमेश्वरले सबै कुरा असल गर्नुहुन्छ भन्ने हामी जान्दछौं ।
यस्ता विपत्तिहरूमा हामी आत्तिएर केही हुँदैन, तर हामी सचेत र होसियार रहेर धेरै कुरालाई पर राख्न सक्छौं । स्वास्थ्यसम्बन्धी असल बानीहरूको विकास गरेर हामीले शारीरिक रोगलाई पन्साउन सक्छौं र येशूलाई निरन्तर विश्वास गरेर हामीले आत्मिक रोगलाई सधैंको लागि हाम्रो जीवनबाट टाढा राख्न सक्छौं । शारीरिक र आत्मिक सचेतना दुवै हामीलाई अत्यावश्यक भएको समय हो, यो ।
“तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ, जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान,” (मत्ती २४ः३२, ३३) ।