नेपाल इन्टरनेशनल थेवलोजिकल सेमिनारी (निट्स) बाइबल कलेजले आइतबार ललितपुरमा एक भव्य समारोहबीच तेस्रो दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कुल ६१ जना विद्यार्थीहरू बाइबलीय शिक्षामा औपचारिकरूपमा दिक्षान्तित भएका छन्।
दिक्षान्त समारोहमा मास्टर अफ डिभिनिटी कार्यक्रमबाट २० जना, ब्याचलर अफ थेवलोजीबाट २८ जना, र सर्टिफिकेट अफ थेवलोजीबाट १३ जना विद्यार्थीहरूले प्रमाणपत्र प्राप्त गरे।
समारोहमा सहभागी विभिन्न पास्टरहरू, सेवकहरू तथा ख्रीष्टियन नेताहरूले दिक्षान्तित विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उनीहरूको भविष्यको सेवायात्रामा सफलता र परमेश्वरको आशीर्वादको कामना गरे।
विद्यार्थीहरूले अध्ययन अवधिमा भोगेका चुनौतीहरू, परमेश्वरमा भएको भरोसा, र आत्मिक रूपमा पाइएका अनुभूतिको साक्षी बाँड्दै भावुक अभिव्यक्ति प्रस्तुत गरे।

निट्स बाइबल कलेजले आधुनिक प्रविधिको उपयोग गर्दै अनलाइन माध्यममार्फत उच्चस्तरीय बाइबलीय शिक्षा प्रदान गर्दै आएको छ। कलेज प्रशासनका अनुसार अनलाइन शिक्षाप्रति विद्यार्थीहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दो छ।
कलेज सञ्चालक समितिले निट्स बाइबल कलेजलाई अझ प्रभावकारी, गुणस्तरीय, र विश्वसनीय बनाउँदै बाइबलीय शिक्षालाई घरघरमा पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ।
कार्यक्रमका आयोजक संस्थाले निट्स बाइबल कलेजले प्रविधिको माध्यमबाट धार्मिक शिक्षाको नयाँ युगको सुरुवात गर्दै ख्रीष्टियन सेवामा समर्पित व्यक्तिहरूलाई तयार पार्न महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन्।