काठमाडौँ, ६ असार — ख्रीष्टियन पत्रकारिता क्षेत्रको सशक्तिकरण, आपसी एकता र डिजिटल युगमा सुसमाचार प्रचारका सम्भावनालाई उजागर गर्ने उद्देश्यले ख्रीष्टियन जर्नलिस्ट फेलोसिप (CJF) को आयोजनामा काठमाडौँ उपत्यकाव्यापी ख्रीष्टियन मिडिया समिट भव्य रूपमा सम्पन्न भएको छ।
ललितपुरमा सम्पन्न उक्त समिटमा उपत्यकाभित्रका विभिन्न ख्रीष्टियन मिडियामा संलग्न पत्रकारहरूको उल्लेखनीय सहभागिता रह्यो। सहभागीहरूले पत्रकारितामार्फत सत्य, आशा र परिवर्तनको सुसमाचार समाजमा फैलाउने विषयमा गहिरो छलफल गरेका थिए।
कार्यक्रमको प्रमुख सत्र “डिजिटल मिडियालाई सुसमाचार प्रचारका लागि कसरी उपयोग गर्ने?” भन्ने शीर्षकमा केन्द्रित थियो। छलफल सत्रमा दिव्य खनाल, नेलिमा कोइराला, विजय मानन्दरलगायत वक्ताहरूले डिजिटल मिडियाको सम्भावना, चुनौती, र ख्रीष्टियन पत्रकारहरूको भूमिका विषयक प्रशिक्षण प्रदान गरे।
समिट ख्रीष्टियन जर्नलिस्ट फेलोसिपका अध्यक्ष दिनेश श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल राष्ट्रिय मण्डली संगति (NCF) का अध्यक्ष रेभ. पास्टर हनोक तामाङ, नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर राजेन्द्र मल्ल, नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरी कार्की, दृष्टि साप्ताहिकका अध्यक्ष सम्भु श्रेष्ठ, र बिशप नारायण शर्मालगायतको उपस्थिति रहेको थियो।
रेभ. पास्टर हनोक तामाङले शुभकामना मन्तव्यका क्रममा ख्रीष्टियन मिडियाकर्मीहरूले सत्य, असल र सकारात्मक पत्रकारितामार्फत समाजमा आशा र ज्योति फैलाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले असल समाचारलाई प्राथमिकतामा राख्न आवश्यक छ। मिडियामार्फत सकारात्मक सन्देश दिनु हाम्रो प्रमुख दायित्व हो।”
उक्त समिटले डिजिटल माध्यमलाई प्रभावकारी रूपमा प्रयोग गरी सुसमाचारलाई अझ फराकिलो रूपमा फैलाउने उपाय, समसामयिक पत्रकारितामा ख्रीष्टियन मूल्यहरू समावेश गर्ने तरिका, र सामाजिक सञ्जालमा प्रभावशाली उपस्थिति विकास गर्नुपर्ने विषयहरूमा व्यावहारिक प्रशिक्षण दिएको थियो।
कार्यक्रमको समापनमा ख्रीष्टियन जर्नलिस्ट फेलोसिपका महासचिव निरोज तोलाङेले सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै संस्थाले निकट भविष्यमा देशभरिका ख्रीष्टियन मिडियाकर्मीहरूलाई एकतामा बाँध्दै सत्य, विवेकशील र सकारात्मक पत्रकारिता मार्फत राष्ट्र निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याउनुभयो।

उहाँले भनुभयो, “ख्रीष्टियन मिडियाकर्मीहरू सत्यको सेवक हुन्। हामीले पत्रकारितालाई केवल समाचार सम्प्रेषणको माध्यम हैन, बरु नैतिकताको पुनःस्थापना र राष्ट्र परिवर्तनको मिशनको रूपमा लिनुपर्छ।”
उक्त समिटले पत्रकारहरूबीच आपसी सहकार्य, अनुभवको आदान–प्रदान, र साझा दृष्टिकोण निर्माणमा सशक्त भूमिका खेलेको सहभागीहरूको प्रतिक्रिया रहेको छ। ख्रीष्टियन पत्रकारिता क्षेत्रमा यो एक महत्वपूर्ण मोड भएको र यसले भविष्यमा राष्ट्रव्यापी स्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।