जनकपुरधामबाट अयोध्याका लागि भार यात्रा प्रस्थान

0

काठमाडौं : भारतको अयोध्यामा भगवान रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट अयोध्याका लागि भार यात्रा प्रस्थान गरेको छ।

जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित एक कार्यक्रमबीच जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधी र मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विदाई गरेपछि भार यात्रा भारतको अयोध्याका लागि प्रस्थान गरेको हो।

आज राति भार यात्रा वीरगञ्जमा विश्राम गर्नेछ भने जनवरी ५ तारिखमा सो भार यात्रा अयोध्या पुग्नेछ। अयोध्या पुगेको भोलिपल्ट भार यात्रामा लगिएका पाहुर अयोध्यास्थित रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ एवं भार यात्राका संयोजक रामरोशन दास वैष्णवले जानकारी दिए।

पाहुरमा विभिन्न प्रकारका कपडा, आभुषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवानहरु रहेको छ। यसका साथै भगवान रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ।

जनकपुरधाम निस्किएको भार यात्रा महोत्तरीको जलेश्वरस्थित हुलाकी सडक हुँदै मलंगवा पुग्ने कार्यक्रम रहेको छ। मलंगवाबाट बारास्थित गढीमाइ दर्शनपछि वीरगञ्जमा रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ। विरगञ्जमा वास बसेको भोलिपल्ट निस्किने भार यात्रा भारतको बेतिया, कुशी नगर, सिद्धार्थ नगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ।

जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको पाण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here