काठमाडौं, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले फोहोरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषयका रूपमा नभई जनस्वास्थ्य, वातावरण संरक्षण र सभ्य समाज निर्माणसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताएका छन्।
फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद न्यौपानेले बढ्दो शहरीकरण र जनसंख्या वृद्धिसँगै फोहोरको मात्रा बढ्दै गए पनि त्यसअनुसार व्यवस्थापन प्रणाली प्रभावकारी बन्न नसकेको बताए।
उनले जथाभावी फोहोर फाल्दा मानव स्वास्थ्य, खानेपानीका स्रोत, वातावरण तथा प्राकृतिक सम्पदामा नकारात्मक असर परिरहेको उल्लेख गर्दै स्रोतबाटै फोहोर छुट्याउने, पुनः प्रयोग गर्ने र वैज्ञानिक व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
‘हामी नीति निर्माणमा जति सक्रिय छौँ, कार्यान्वयनमा त्यति नै प्रभावकारी हुन आवश्यक छ,’ उनले भने। विधेयकलाई कार्यान्वयन र त्यसबाट प्राप्त हुने व्यवहारिक परिणामलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने उनको सुझाव थियो।
प्रस्तावित विधेयकमा पुरस्कार तथा जरिवानासहित दण्डको व्यवस्था गरिनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै न्यौपानेले जरिवाना प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताए।
उनले परम्परागत रूपमा फोहोर थुपार्ने प्रणालीबाट बाहिर निस्केर आधुनिक प्रविधिमा आधारित स्यानिटरी ल्याण्डफिल साइट, फोहोर प्रशोधन केन्द्र, कम्पोस्ट प्लान्ट, बायोग्यास प्लान्ट, ऊर्जा उत्पादन, ढल व्यवस्थापन तथा डिजिटल व्यवस्थापन प्रणालीको विकास गर्नुपर्ने बताए।
स्थानीय तहलाई फोहोर सङ्कलन, प्रशोधन, ऊर्जा उत्पादन, ल्याण्डफिल साइट तथा आवश्यक पूर्वाधार व्यवस्थापनको जिम्मेवारी दिइएको उल्लेख गर्दै उनले सरकारसँगै नागरिक, समुदाय, निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताए।
न्यौपानेले घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउने, सार्वजनिक स्थानमा फोहोर नफाल्ने, प्लास्टिकको प्रयोग घटाउने तथा सरसफाइलाई संस्कारका रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिए।
















