चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारेपछि एनभिडियाका सीईओमाथि छानबिन, के भन्छन् जेन्सेन ?

0

२३ कात्तिक, काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अर्बपति जेन्सेन हुआङमाथि छानबिन सुरु गरेको छ।

चिनियाँ जासुसी निकायका लागि काम गरेको आरोप लागेकी एक महिलासँग आफ्नो अन्तरङ्ग सम्बन्ध रहेको हुआङले स्वीकारेपछि कम्पनीले छानबिन थालेको हो।

आइतबार एक विज्ञप्ति जारी गर्दै एनभिडियाले बाह्य कानुनी सल्लाहकारको सहयोगमा स्वतन्त्र निर्देशकहरूको एक समितिले यस विषयमा छानबिन गर्ने जनाएको छ।

‘राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोप्य सूचनाहरू चुहावट भएको विश्वास गर्नुपर्ने कुनै कारण बोर्डसँग नभए पनि उपलब्ध सबै जानकारीको सूक्ष्म अध्ययन गरिनेछ,’ एनभिडियाको सञ्चालक समितिले भनेको छ।

बोर्डले जेन्सेन र उनको नेतृत्व टिमप्रति आफ्नो पूर्ण विश्वास कायमै रहेको स्पष्ट पार्दै छानबिनको अवधिभर हुआङले नै एनभिडियाको नेतृत्व सम्हालिरहने जनाएको छ।

चिनियाँ जासुसीको आशङ्का र मेगास्पिड कनेक्सन

गत महिना द न्युयोर्क टाइम्सले जेन्सेन चिनियाँ जासुसी षड्यन्त्रको निसानामा परेको हुन सक्ने भन्दै रिपोर्ट प्रकाशित गरेपछि यो छानबिन सुरु भएको हो। एआई जस्ता प्रमुख प्रविधि क्षेत्रमा प्रभुत्व जमाउन चीन र अमेरिकाबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ।

एआईको तीव्र विकाससँगै एनभिडियाका चिप्स र प्रोग्रामिङ इन्टरफेसको माग ह्वात्तै बढेको छ, जसले कम्पनीको बजार मूल्य खर्बौँ डलर पुर्‍याएको छ।

एसियाली महाशक्ति चीनले प्रविधि र सैन्य क्षेत्रमा अग्रता लिन सक्ने डरले अमेरिकाले वर्षौंदेखि चीनमा उन्नत चिप्सको निर्यातमा प्रतिबन्ध लगाउन खोजिरहेको छ। तर, गत अक्टोबर २९ मा द न्युयोर्क टाइम्सले एक विशेष रिपोर्टमार्फत एलिस हुआङ नाम गरेकी एक चिनियाँ महिलाले एनभिडियाको प्रविधिबारे जानकारी हासिल गर्ने उद्देश्यले जेन्सेन हुआङसँग नजिकको सम्बन्ध बनाएको खुलासा गरेको थियो। एलिस र जेन्सेनबीच कुनै पारिवारिक नाता छैन।

वासिङ्टन डीसीस्थित चिनियाँ दूतावासले भने यस प्रकरणमा जासुसीको आरोपलाई अस्वीकार गरेको छ। न्युयोर्क टाइम्सका अनुसार एलिस हुआङ कार्यरत कम्पनी मेगास्पिड अमेरिकी फर्म एनभिडियाबाट करिब ४.८ अर्ब डलर बराबरका उपकरण खरिद गर्दै उसका सबैभन्दा ठूला ग्राहकमध्ये एक बनेको थियो।

अमेरिकी संसद्मा तीव्र आक्रोश, बयानका लागि बोलाइयो

उक्त रिपोर्ट बाहिरिएपछि अमेरिकी संसद्मा रिपब्लिकन र डेमोक्रेटिक दुवै दलका सांसदहरूले कडा आपत्ति जनाएका छन्। डेमोक्रेटिक सिनेटर एलिजाबेथ वारेनले एक विज्ञप्तिमा भनेकी छन्, ‘महिनौँदेखि कंग्रेसका दुवै दलका सदस्यहरूले एनभिडियाका उन्नत एआई चिप्स चीन पुगिरहेको विषयमा चिन्ता व्यक्त गर्दै आएका छन्। एनभिडियाका जेन्सेन हुआङ र बोर्डले कंग्रेसलाई जवाफ दिनैपर्छ। र, उन्नत अमेरिकी प्रविधि चीन जानबाट रोक्न हामीले तयार पारेको द्विदलीय कानुन पारित गर्न आवश्यक छ।’

तल्लो सदनका रिपब्लिकन सांसदहरूले पनि हुआङलाई आगामी नोभेम्बर १८ मा कंग्रेससामु उपस्थित भएर यस सम्बन्धबारे बयान दिन माग गरेका छन्। रिपब्लिकन सांसदहरू जोन मोलेनार, ब्रायन मास्ट र रिक क्रफोर्डले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा कुन हदसम्म जोखिममा परेको छ भन्ने कुरा कंग्रेसले निक्र्योल गर्नु अत्यावश्यक रहेको बताएका छन्।

कर्मचारीलाई इमेल लेख्दै हुआङले स्वीकारे गल्ती

आइतबार एनभिडियाका कर्मचारीहरूलाई पठाएको इमेलमा हुआङले आफ्नो विवाहेतर सम्बन्ध रहेको स्वीकार गरेका थिए। ‘म मेरी श्रीमतीप्रति इमानदार रहिनँ। मेरो कार्यले उनलाई र हाम्रा सन्तानलाई चोट पुर्‍याएको छ। मैले जे गरेँ, त्यसका लागि कुनै बहाना छैन,’ हुआङले इमेलमा लेखेका छन्।

ओपनएआई, एन्थ्रोपिक, मेटा र गुगलजस्ता कम्पनीहरूले विकास गरेका लार्ज ल्याङ्ग्वेज मोडल का लागि चिप्स उत्पादन गर्दै एनभिडियाले पछिल्ला वर्षहरूमा तीव्र फड्को मारेको छ।

ट्रम्पसँगको सम्बन्ध र सेयर बजारमा असर

सन् २०२५ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिका रूपमा सत्तामा फर्किएदेखि हुआङले उनीसँग निकै नजिक रहेर काम गरिरहेका छन्। सोही वर्षको अगस्टमा ट्रम्प प्रशासनले चीनमा हुने एनभिडियाका निश्चित चिप्स बिक्रीबाट १५ प्रतिशत हिस्सा लिने घोषणा गरेको थियो।

ट्रम्पले नोभेम्बरको मध्यावधि चुनावअघि अगस्टमा एनभिडियाको करिब १६ लाख डलर बराबरको सेयर किनेको र करिब १० लाख डलरको सेयर बेचेको रिपोर्ट सार्वजनिक भएको थियो।

गत मङ्गलबार सम्पन्न मिडटर्म चुनावमा रिपब्लिकन पार्टीले व्यापक हार व्यहोरेपछि एनभिडियासहित एआईसँग सम्बन्धित कम्पनीहरूको सेयरमा भारी गिरावट आएको छ।

ट्रम्पले एआई कम्पनीहरूको नियमन गर्ने मागको विरोध गर्दै आएका छन्, तर मिडटर्म चुनावमा धेरै डेमोक्र्याटहरूले डेटा सेन्टर निर्माणलगायतका विषयमा ती कम्पनीहरूमाथि कडाइ गर्ने एजेन्डा उठाएका थिए।

गत साता एकै दिनको कारोबारमा एनभिडियाले ४५० अर्ब डलरको बजार मूल्य गुमाएको थियो, यद्यपि शुक्रबार यसमा ४ प्रतिशतको सुधार देखिएको छ।

ट्रम्पद्वारा हुआङको बचाउ

नोभेम्बरमा चीनमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा हुआङलाई सँगै लैजानुहुन्छ भनी पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले स्पष्ट जवाफ दिएनन्।

फ्लोरिडाको वेस्ट पाम बिचस्थित विमानस्थलमा ट्रम्पले भने, ‘मलाई थाहा छैन, तर म उनलाई पक्कै लैजान चाहन्छु। मैले उनले केही गलत गरेको सुनेको छैन। उनले कोहीसँग व्यवहार गरे, तर त्यसो त अरू सबैले पनि गर्छन्।’

ट्रम्पले हुआङलाई एक असल व्यक्ति भन्नुका साथै उनले ‘देशका लागि अद्भुत काम गरेको’ बताए। हुआङको व्यवहारबारे चलेका चर्चामाथि टिप्पणी गर्दै ट्रम्पले थपे, ‘मलाई लाग्छ उनी एक सम्मानित व्यक्ति हुन्। सायद उनीसँग यसका लागि कुनै कारण होला।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here