भारतले खानेतेल आयातमा भन्सार शुल्क घटायो, चाडपर्वमा तेल सस्तिने अपेक्षा

0

काठमाडौं, ८ असोज । चाडपर्व नजिकिँदै गर्दा भारत सरकारले पाम, सोयाबिन र सूर्यमुखी लगायत खानेतेलको आयातमा लाग्ने भन्सार शुल्कमा उल्लेख्य कटौती गरेको छ।

भारतको केन्द्र सरकारले संशोधन गरेको नयाँ भन्सार दर बिहीबार (२४ सेप्टेम्बर) देखि लागू भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार चाडपर्वका बेला उपभोक्तालाई सस्तो खानेतेल उपलब्ध गराउने तथा महँगी नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार कच्चा सूर्यमुखी तेलमा लाग्दै आएको १० प्रतिशत आधारभूत भन्सार शुल्क हटाएर शून्यमा झारिएको छ। त्यस्तै, प्रशोधित सूर्यमुखी तेलको आयात शुल्क ३२.५ प्रतिशतबाट घटाएर २२.५ प्रतिशत कायम गरिएको छ।

कच्चा पाम तेल र कच्चा सोयाबिन तेलको आधारभूत भन्सार शुल्क १० प्रतिशतबाट घटाएर ५ प्रतिशत बनाइएको छ। प्रशोधित पाम तेल र सोयाबिन तेलको शुल्क पनि ३२.५ प्रतिशतबाट घटाएर २७.५ प्रतिशत कायम गरिएको छ।

भारतले यसअघि सन् २०२५ को सुरुवातमा कच्चा खानेतेलको भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो। अहिले गरिएको कटौती त्यसैको निरन्तरताका रूपमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय उद्योग क्षेत्रका प्रतिनिधिहरूले चाडपर्वका समयमा खानेतेलको माग बढ्ने भएकाले भन्सार कटौतीले घरेलु बजारमा यसको मूल्य घटाउन सहयोग पुग्ने अपेक्षा गरेका छन्। होटल, रेस्टुरेन्ट, क्याटरिङ तथा मिठाई उद्योगमा समेत यसबाट लाभ पुग्ने बताइएको छ।

विशेषगरी सूर्यमुखी तेलको भन्सार शुल्कमा गरिएको कटौतीले यसको मूल्यमा कमी आउन सक्ने र दक्षिण भारतका उपभोक्तालाई तुलनात्मक रूपमा बढी फाइदा पुग्न सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here