काठमाडौं, ८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रुसमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकले भोगिरहेका समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले रुसमा रहेका नेपालीका लागि बैंकिङ कारोबार, छात्रवृत्तिमा एनओसी, चिकित्सा शिक्षाको मान्यता तथा श्रम स्वीकृतिसम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनले रुसमा रहेका नेपालीले आफ्नो कमाइ नेपाल पठाउन वैधानिक बैंकिङ माध्यमको समस्या भोगिरहेको बताइन्। रुस–युक्रेन युद्धपछि रुसी बैंकहरू अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट प्रभावित भएकाले वैधानिक रूपमा रकम पठाउन कठिनाइ भएको उनको भनाइ थियो।
ओलीले यस्तो अवस्थाले अनौपचारिक माध्यमबाट रकम पठाउने जोखिम बढाउन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले वैधानिक विप्रेषणका वैकल्पिक माध्यम खोज्नुपर्ने बताइन्।
त्यस्तै, रुस सरकारको छात्रवृत्तिमा छनोट भएका नेपाली विद्यार्थीले एनओसी प्राप्त गर्न कठिनाइ भोगिरहेको विषय पनि उनले संसद्मा उठाइन्। शैक्षिक सत्र २०२६/२७ का लागि रुस सरकारले नेपाली विद्यार्थीका लागि ४० वटा छात्रवृत्ति कोटा उपलब्ध गराएको उल्लेख गर्दै उनले छात्रवृत्ति पाएका विद्यार्थीलाई सहज प्रक्रियाबाट एनओसी उपलब्ध गराउन माग गरिन्।
रुसमा चिकित्सा शिक्षा हासिल गरेका नेपाली चिकित्सकको दर्ता तथा इन्टर्नसिपमा देखिएको समस्याबारे पनि ओलीले सरकारको ध्यानाकर्षण गराइन्। नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र सम्बन्धित रुसी निकायबीच समन्वय गरी समकक्षता निर्धारणका लागि ‘इक्विभ्यालेन्स म्याट्रिक्स’ तयार गर्नुपर्ने उनको भनाइ छ।
यसैगरी, रुसका लागि श्रम स्वीकृति स्थगित गरिएको विषयमा पनि उनले पुनरावलोकनको माग गरिन्। सैन्य तथा सुरक्षा प्रकृतिका काममा प्रतिबन्ध कायम राख्दै गैरसैन्य र सुरक्षित क्षेत्रमा चरणबद्ध रूपमा श्रम स्वीकृति खुलाउने सम्भावनाबारे अध्ययन गर्न उनले सरकारलाई आग्रह गरिन्।
रुसमा रहेका नेपालीले पढ्न, काम गर्न तथा आफ्नो कमाइ कानुनी माध्यमबाट नेपाल पठाउन सक्ने वातावरण बनाउन सरकारका सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको सांसद ओलीले बताइन्।
















