-दिपक नेपाली
बाइबल ख्रीष्टियानहरूको एक प्राचीन धर्मशास्त्र हो । यो आधुनिक युगमा लेखिएको पुस्तक होइन, तर आजभन्दा ३८०० वर्ष पहिलेबाट लेख्न थालियो । यो एक अद्भूत प्रकारको पुस्तक हो किनकि यो एक जना लेखकले मात्र लेखेको होइन । यो ४० भन्दा बढी लेखकबाट १६०० वर्ष लगाएर तीनवटा महादेश (युरोप, अफ्रिका, एसिया) र तीनवटा भाषा (ग्रिक, हिब्रू र आरमेइक) मा लेखियो र पनि यसका कुरा एकअर्कामा बाझिएका छैनन् । अर्को पनि अचम्मलाग्दो कुरा बाइबलभित्र छ, जुन कुरा थाहा पाएसँगै बाइबलप्रति हाम्रो भरोसा अझै बढ्छ, त्यो हो बाइबलभित्र भएको आधुनिक विज्ञान ।
पृथ्वी शुन्यतामा झुन्डिएको छ (अयूब २६ः७), “उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्छ र शुन्यतामा पृथ्वीलाई झुन्ड्याउनुहुन्छ ।”
यो बाइबलमा उल्लेखित प्राचीन कथन हो । यो कुरा आजभन्दा ३५०० वर्षपहिले परमेश्वरका दास अøयूबले लेखे । यो कथन त्यो समयमा अर्थहीन थियो तर आज यो अर्थपूर्ण छ । पृथ्वीको बारेमा आज खोज र अनुसन्धान गरिएको छ । यो कुरा पनि पत्ता लगाइएको छ कि पृथ्वी कुनै पनि कुराको सहाराबिना शुन्यतामा अडिएको छ । यो आधुनिक विज्ञानले पत्ता लगाएको सत्यता हो तर यस्तो कुरो बाइबलमा आजभन्दा लामो समय पहिले लेख्नु एक उदेकको कुरो हो । आज सामान्य विज्ञान जानेको मान्छेलाई पनि थाहा छ कि पृथ्वी शुन्यतामा अडिएको छ । यो कसरी सम्भव भयो भन्ने प्रश्नको उत्तर दिन्छ, पृथ्वीको गुरुत्वाकर्षण बलको कारणले ।
आकाशमा तारा अनगिन्ती छन् (यर्मिया ३३ः२२), “आकाशमा तारा गन्न नसकिने र समुद्रका किनारमा बालुवा जोखिन नसकिने जस्तै म मेरा दास दाउदका सन्तान र मेरो सेवा गर्ने लेवीको सङ्ख्या बढाउनेछु ।”
यो कथन पनि आजभन्दा लगभग २५०० वर्षपहिले लेखियो । अनि त्यो समयमा आधुनिक विज्ञानको उदय भएको थिएन । आकाशमा तारा कति छन् भन्ने प्रश्नको उत्तर इतिहासमा नखोजिएको भने पक्कै पनि होइन । जस्तै खगोल विज्ञानका आविष्कारकको रूपमा चिनिने हिप्पाकर्सले १६१–१२६ ख्रीष्टपूर्वमा ताराहरूको सङ्ख्या १०८० भएको विवरण दिए । तर आधुनिक समयमा ग्यालिली ग्यालिलियोले दूरदर्शक यन्त्रको आविष्कार गरेसँगै आकाशमा तारा अनगिन्ती भएको पाइयो । पछि ख्रीष्टाब्द १९२४ मा आकाशमा तारापुञ्ज धेरै भएको पाइयो जब कि एउटै तारापुञ्जमा अरबौँ तारा रहेका हुन्छन् । यसरी सबै अनुमान गलत ठहरिए तर परमेश्वरको वचन सत्य साबित भयो । आज कुनै पनि सामान्य विज्ञान जानेको मान्छेले आकाशमा तारा सीमित छ भन्न सक्दैन ।
जलचक्र (अयूब ३६ः२७), “उहाँले समुद्रबाट पानीको थोपा खिच्नुहुन्छ र आफूले बनाउनुभएको मेघबाट झरी बर्साउनुहुन्छ ।”
यो कथन आजभन्दा लगभग ३५०० वर्षपहिले लेखिएको हो । एउटा अचम्म लाग्ने कुरा के हो भने पानी परेर समुद्रमा जान्छ तर त्यसपछि कहाँ जान्छ । केहीले अनुमान पनि गरे । जस्तैः ग्रिक दार्शनिकहरू सोच्थे कि सायद समुद्रभित्र प्वाल छ होला अनि त्यहीँबाट पानी जान्छ होला तर यो प्रश्नको सही उत्तर आजको आधुनिक विज्ञानले दिइएको छ । जसलाई आधुनिक भाषामा जलचव्रm भनिन्छ । यो भनेको सूर्यको प्रकाश पृथ्वीमा आउँछ अनि समुद्रको पानी तात्छ र पानी बाफमा परिणत भएर माथि उड्छ अनि फेरि पानीकै रूप लिएर झरीको रूपमा आउँछ । यो आजको आधुनिक विज्ञानले पत्ता लागाएको कुरा हो अनि यस्तो कुरा पहिले नै बाइबलमा लेखिनु एक उदेकको कुरा हो ।
निष्कर्षः अब सबैको मनमा प्रश्न आउँछ कि यो कसरी सम्भव भयो । यदि त्यो समयमा बाइबलमा यस्तो कुरा थियो भने आधुनिक विज्ञानले किन हजारौँ वर्षपहिले जन्म लिएन ? यो प्रश्नको उत्तर बाइबल आफैले दिन्छ । २ तिमोथी ३ः१६ ले बताउँछ कि बाइबल मानव मस्तिष्कबाट मात्र लेखिएको पुस्तक होइन । तर यो त परमेश्वरबाट प्रेरणा पाएर लेखिएको हो । कति सत्य परमेश्वरको वचन ।