१४ वैशाख, काठमाडौं । ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति २ युवकको हत्या भएको घटनामा मुद्दा चलाइएका मध्ये २ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जेल चलान हुनेहरुमा ढोलाहिटीको डी–पोपिना होटलका सञ्चालक खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भएका ३१ वर्षीय विजय राई, तेह्रथुमको म्याङ्लुङ नगरपालिका–८ घर भएका ३२ वर्षीय राजु गुरुङ छन् ।
बिहीबार ललितपुर जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको इजलासले मुद्दा चलाइएका मध्ये २ जनालाई पुर्पक्षमा कारागार चलानका साथै ३ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ घर भई ललितपुर जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र खोटाङको साकेला गाउँपालिका–२ रतन्छा घर भई ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राईलाई भने ५/५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राईलाई भने ७ लाख धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
फागू पूर्णिमाको राति ढोलाहिटीको डी–पोपिना होटलमा मदिरा खाने २ समूहबीच झडप हुँदा २ युवक मारिएका थिए । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा राति ११ बजेतिर पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रेवश राई र सुनसरी घर भएका ३० वर्षीय पूजन राईको हत्या भएको थियो ।