स्क्रब टाइफसबाट चितवनमा ४ जनाको मृत्यु

0

नारायणगढ : जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका विरामीहरुमध्ये ४ जनाको मृत्यु स्क्रब टाइफसका कारण भएको छ। मृत्यु हुनेमा एकजना चितवनका र बाँकी ३ जना अन्य जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आवमा ३ हजार २५४ जनामा गरिएको  परीक्षणमा १६३ जनामा स्क्रब टाइफस देखिएको थियो।

ती विरामीमध्ये ४ जनाको मृत्यु भएको हो। ती विरामीमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए।

गत आवमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ३ हजार ४८५ जनाको परीक्षणमा ५१९ जनामा उक्त सङ्क्रमण देखिएको थियो। सङ्क्रमित सबै उपचारपछि घर फर्किएका थिए।

कसरी हुन्छ स्क्रब टाइफस?

स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामको ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोग हो। साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स) लाई सङ्क्रमण गर्छ। 

सो सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन्। सङ्क्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गर्छ।

यस्ता छन् लक्षण

यो रोग लागेका मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी तथा  मांसपेशी दुख्ने, बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने निरीक्षक केसीले बताए।

यसैगरी गत साउनयता जिल्लामा २१ हजार २९८ जनामा गरिएको परीक्षणमा डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या १ हजार ६१५ पुगेको छ। जिल्ला बाहिरका एक जनाको सोही रोगका कारण मृत्यु भएको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here