प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनको तयारीमा हुनुहुन्छ : अग्नि सापकोटा

0

काठमाडौँ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीमण्डल पुनर्गठन गरेर सरकारका काम प्रभावकारी बनाउने योजनामा रहेको बताएको छ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले उनी मन्त्रीमण्डल पुनर्गठनको तयारी गरिरहेको भन्ने बुझिने बताए। उनले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको पनि बताए।

‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनर्गठनका लागि तयारी गर्दैछु भन्ने छ। गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ‚’ उनले भने, ‘तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा रिशफल गरेर भए पनि काम अघि बढाउनुपर्छ, सिंगो मन्त्रिपरिषद्को काम प्रभावकारी बनाउनुपर्छ भन्ने छ। उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ। त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुंगोमा पुग्छ।’

प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको भनाइपछि छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here