शिक्षा मन्त्रालयले भन्यो : काेही अन्योलमा नपर्नू, एसइई परीक्षा हुन्छ

0

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) हुने भन्दै अन्योलमा नपर्न सबैसँग आग्रह गरेको छ। मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले एसइई हुने जानकारी दिएका हुन्।

उक्त बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं समितिका सदस्य सुमना श्रेष्ठले अहिलेसम्म पनि एसइई परीक्षाबारे अन्योल भएकाले यसबारे प्रष्ट पार्नुपर्ने भन्दै प्रश्न उठाएकी थिइन्।

सांसद श्रेष्ठको प्रश्नपछि शिक्षा मन्त्रालयका सचिव अधिकारीले भने, ‘विद्यालय शिक्षा विधेयक संसदमा विचाराधीन छ, त्यसकारण त्यो विधेयक पास भएपछि मात्रै यसबारे थप केही होला तर अहिलेलाई पहिलाजस्तै एसइई परीक्षा हुन्छ।’

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा चैत पहिलो हप्तादेखि सञ्चालन हुनेगरी वार्षिक परीक्षा तालिका नै तयार पारेको छ। माघ पहिलो हप्ता परीक्षा तालिका सार्वजनिक हुने बोर्डले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here