राष्ट्रियसभा निर्वाचन : आयोगले सातै प्रदेशमा फेर्यो  निर्वाचन अधिकृत

0

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ।

आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सातवटै प्रदेशमा निर्वाचन अधिकृत परिवर्तन गरेको जनाएको छ।

यसअघि पुस १२ गतेको निर्णय बमोजिम निर्वाचन अधिकृत नियुक्त भएका जिल्ला न्यायाधीशहरू उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि नयाँ निर्वाचन अधिकृत नियुक्त गर्नुपरेको आयोगले जनाएको छ।

आयोगले कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्‍गेल, मधेशमा नारायणप्रसाद सुवेदी,बागमतीमा महेन्द्र बहादुर कार्की, गण्डकीमा केशवप्रसाद बास्तोला, लुम्बिनीमा कृपासुर कार्की, कर्णालीमा विष्णुप्रसाद अर्याल र सुदूरपश्‍चिम प्रदेशका लागि ओम प्रसाद अर्याल नियुक्त गरेको थियो।

बागमतीका कार्कीले स्वास्थ्य समस्याको कारण देखाउँदै निर्वाचन अधिकृत पदमा बसेर काम गर्न नसक्ने बताएको र अरू बाँकी न्यायाधीश उच्च अदालतमा नियुक्त भएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

बिहीबार तोकिएका नयाँ निर्वाचन अधिकृतमा कोशीका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतम, मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङ, बागमतीमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद संजेल, गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्य, लुम्बिनीमा दाङ जिल्ला अदालतका न्यायाधीश कूलप्रसाद पाण्डे, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थी रहेका आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here