पर्वत : जिल्ला प्रशासन कार्यालय कास्कीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित नागरिकहरूका लागि आफूखुसी तरीकाले राहत सङ्कलन नगर्न भनेको छ।
गत कार्तिक १७ गतेको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने नागरिकहरूप्रति कास्की प्रशासनले श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत सङ्कलनको विषयमा भने कडाइ गरेको हो। ‘भूकम्पको यस दुखद घडीमा भूकम्प प्रभावितहरूलाई सहयोग गर्ने, राहत वितरण गर्ने नाममा कास्की जिल्लामा व्यक्तिगत वा संस्थागत रूपमा कोही कसैले पनि नगद-वस्तुगत-जिन्सी सामग्री सङ्कलन नगर्न नगराउनु हुन अनुरोध छ’, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालद्वारा जारी सूचनामा भनिएको छ, ‘यस सूचनाको अवज्ञा हुने गरी कुनै पनि गतिविधिहरू गरे गराइएको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत सूचित गरिन्छ।’
तर भूकम्पपीडितहरूलाई सहयोग गर्न इच्छा भएको अवस्थामा भने प्रधानमन्त्री राहत कोषको राष्ट्रिय वाणिज्य बैङ्कको चल्ती खाता नं १९३०१००००३७६२००१ मा सिधै रकम जम्मा गर्न सकिने प्रशासनले बताएको छ।
यसबारेमा कुरा गर्दा सहायक प्रजिअ ढकालले व्यक्तिगत वा संस्थागत रूपमा मनपरी तरिकाले राहत सङ्कलन गर्दा त्यसको दुरुपयोग हुन सक्ने तथा एक द्वार प्रणालीबाट वितरण नहुँदा अत्यावश्यकले नपाइ सामान्य अवस्थामा रहेकाले पाउन सक्ने तथा कास्कीबाट भौतिक रूपमा उठेका सामग्रीहरूलाई पठाउनको लागि समस्या हुने भएकाले सिधै प्रधानमन्त्री राहत कोषको खातामा रकम जम्मा गर्न भनिएको बताए।
‘यहाँ उठेका खाद्यवस्तु वा अन्य भौतिक सामग्रीहरू जाजरकोट लैजानको लागि खर्च हुने रकमले उता थप एक जनाका लागि राहत पुग्न सक्छ। की ठुलै परिमाणमा भौतिक बस्तु जम्मा भएको अवस्थामा अर्को कुरा होला,’ उनले भने, ‘सहयोग गर्न इच्छुक मान्छेले सोझै त्यही खातामा रकम जम्मा गर्दा हुन्छ। अथवा जाजरकोटकै जिल्ला विपद् व्यवस्थापन कोषमा पनि सहयोग गर्न सकिन्छ।’
दैवी प्रकोप वा अन्य कुनै समस्या आएको बेलामा त्यसैलाई मौकाको रूपमा प्रयोग गरेर राहत सङ्कलनको नाममा उठेको रकम र भौतिक सामग्रीहरूको दुरुपयोग भएका घटनाहरू विगतदेखि नै आइरहेकोले त्यस्तो हुन नदिनको लागि प्रशासनले व्यक्ति वा संस्थालाई आफूखुसी राहत सङ्कलन अभियान सञ्चालन गर्न नदिइएको सहायक प्रजिअ ढकालले बताए।