एनसेल बिक्री रातारात भएको होइन, राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ : गगन थापा

0

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीमा नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ भएको आशंका गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बोल्दै उनले एनसेलको स्वामित्व खरिद बिक्री रातारात नभएको बताए ।

‘म के कुरा दाबाका साथ भन्न सक्छु भने एनसेलको सन्दर्भमा जे कुरा भएको छ, रातारात भएको होइन, राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ, ठूलो भरथेग, ठूलो भरोसा नभई यो कुरा भएको छैन’ उनले भने ।

गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो भागमा रहेको सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई ५ करोड डलरमा बिक्री गरेको सार्वजनिक भएको थियो । उक्त कारोबार आकस्मिक र अविश्वसनीय रहेको भन्दै प्रश्न उठिरहेको छ ।

एनसेलको बिक्री छानबिन गर्न सरकारले समिति पनि गठन गरिसकेको छ । शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा कांग्रेस महामन्त्री थापाले कर अधिकृतले गर्न सक्ने छानबिनमा सरकारले समिति नै बनाएको भन्दै समितिले ढाकछोप गर्नतिर जान सक्ने आशंका गरे ।

‘अब बल त समितिको कोटमा गएको छ । समिति ठीक छ कि छैन, समितिको बनोट ठीक छ कि छैन, ढाकछोप गर्ने तिर जाने हो कि, यो कुरा कसले हेर्ने हो’, थापाले प्रश्न गर्दै भने, ‘त्यो कुरा राज्य व्यवस्था समितिले हेर्नुपर्छ ।’

सरकारले एनसेल बिक्री कुनै मन्त्रालयको विषय होइन, समिति बनाएर हेर्छु भनेको भन्दै समितिले ठीक ढंगले काम गर्छ कि गर्दैन हेर्नुपर्ने बताएका हुन् ।

एनसेल बिक्री प्रकरणमा संसदीय समिति कसैको प्रभावमा पर्दैन भन्ने विश्वास हुने गरी काम गर्नुपर्ने पनि महामन्त्री थापाले बताए ।

एनसेलको लगानीकर्ता आजियटाले जाँदाजाँदै नेपालमा लगानीको वातावरण नभएको भनी दिएको वक्तव्यको पनि उनले विरोध जनाए । नेपालमा धेरै मुनाफा कमाउने, राज्यका माथिल्लो ओहोदाका व्यक्तिहरुसँग बाक्लो उठबस गर्ने तर वैदेशिक लगानी गर्ने ठाउँ होइन भनेको भन्दै थापाले विरोध जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here