काठमाडौं । अन्तर धार्मिक शान्ति महासंघ–नेपालले प्रेस विज्ञप्ति जारी गर्दै संसारभर फैलिएको कोभिड १९को महामारीको अवस्था र यससँगै उब्जिएका कतिपय अफवाहका सम्बन्धमा महासंघको धारणाबारे प्रष्ट पारेको छ ।
विभिन्न धार्मिक समुदायका माझमा अन्तरधार्मिक सहअस्तित्व, सहसम्मान र सहिष्णुताका लागि कार्य गर्न स्थापित भएको यस संस्था वा अभियान ‘अन्तरधार्मिक शान्ति महासंघ नेपाल’ले देश तथा विश्वमै अहिले फैलिरहेको कोभिड १९ कोराना भाइरसको महामारीको अवस्था र त्यसै सन्दर्भमा उब्जेका तथा उब्जाइएका कतिपय अफवाह समेतलाई सम्बोधन गर्दै विज्ञप्ति जारी गरेको हो ।
महासंघका कार्यवाहक अध्यक्ष सीमा खान र महासचिव डा. महेन्द्र भट्टराईद्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको जारी विज्ञप्तिमा “सामाजिक, धार्मिक, सांस्कृतिक र राजनैतिक एकता, सहकार्य र सदभावको संस्कृतिलाई प्रवर्द्धन गर्दै कोरोना विरुद्धको लडाइँमा एक भएर अघि बढौं ।” भन्ने सन्देश छ ।