ललितपुर । संसारभरि नै फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) को त्रासका कारण नेपाल विगत एक महिनादेखि लकडाउनको अवस्थामा छ ।
यही लकडाउनको असरले आधारभूत खाद्यान्न सामग्रीहरूको समेत अभाव देखिन थालेपछि सामाजिक गैह्र सरकारी संस्था प्रयास नेपालले कोभिड १९ को महामारीको रोकथामका लागि सरकारले गरेको लामो समयदेखिको लकडाउनले गर्दा अत्यन्त खाँचोमा परेका दैनिक ज्याला मजदुरी गर्ने २२५ विपन्न घरपरिवारलाई राहत वितरण गरेको हो ।
संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक चन्द्रमान नेपालीले,‘लामो समयदेखि देशभर जारी रहेको लकडाउनका कारण काम गरी आर्थिकोपार्जन गर्न नपाई दैनिक छाक टार्न पनि गाह्रो परेका दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारका २२५ घरपरिवारलाई प्रयास नेपालले विभिन्न ठाउँहरूमा स्थानीय निकाय अन्तर्गत वडा कार्यालय र केहि स्थानीय चर्चहरूको समन्वयमा राहत प्याकेज वितरण गरेको जानकारी दिए ।
ललितपुर महानगरपालिका वडा नं.१८ को सैबु भैंसेपाटीस्थित वडा कार्यालय परिसरमा वडा नं.१८ मा डेरा गरी बस्ने दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्ने विपन्न घरपरिवारलाई वडा कार्यालयले तय गरेको मापदण्ड अनुसारको राहातस्वरुपको खाद्यान्नहरू संस्थाको सहयोगमा वितरण गरेको थियो भने चितवनको पदमपुरमा अति विपन्न ७५ घर परिवारलाई समेत संस्थाले सहयोग गरेको छ ।