आर्थिक दबाब बढेपछि बीबीसीले दुई हजारसम्म कर्मचारी कटौती गर्ने

0

काठमाडौं, ८ असोज । आर्थिक दबाब बढेपछि बेलायती सार्वजनिक प्रसारक बीबीसीले आगामी दुई वर्षमा दुई हजारसम्म कर्मचारी कटौती गर्ने योजना अघि सारेको छ।

खर्च घटाउने उद्देश्यले बीबीसीले व्यापक पुनर्संरचना अभियान अघि बढाएको हो। योजनाअन्तर्गत विभिन्न विभागमा कर्मचारी संख्या घटाउने, केही टेलिभिजन कार्यक्रम बन्द गर्ने तथा नयाँ सामग्री निर्माणमा हुने खर्च कटौती गर्ने तयारी गरिएको छ।

बीबीसीले आगामी दुई वर्षमा करिब ५० करोड पाउन्ड बचत गर्ने लक्ष्य राखेको छ। प्रस्तावित कटौतीमध्ये करिब ५५० पदले बीबीसी न्युज, टेलिभिजन र रेडियो सञ्चालनमा प्रत्यक्ष असर पार्ने जनाइएको छ। ती पद कटौतीबाट मात्रै करिब १६ करोड पाउन्ड बचत हुने अपेक्षा गरिएको छ।

पछिल्लो योजनाअनुसार बीबीसीको खेलकुद विभागबाट ४१ पद कटौती गर्ने तयारी छ। पुनर्संरचनाका क्रममा पाँच नयाँ पद सिर्जना गरिए पनि खुद ३६ रोजगारी घट्नेछन्। कर्मचारी कटौतीका लागि बीबीसीले स्वैच्छिक अवकाश प्रक्रिया अघि सारेको छ।

खेलकुद विभागमा प्रस्तावित कटौतीबाट मात्रै करिब २६ लाख पाउन्ड बचत हुने अनुमान गरिएको छ।

प्रेस एसोसिएसनले प्राप्त गरेको आन्तरिक मेमोअनुसार चिफ कन्टेन्ट अफिसर केट फिलिप्सले आर्थिक वर्ष २०२७/२८ सम्म कमिसनिङ बजेटबाट ८ करोड पाउन्ड कटौती गर्ने प्रस्ताव अघि सारेकी छन्। उनका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म कन्टेन्ट डिभिजनबाट मात्रै करिब १०० पद कटौती हुन सक्ने अनुमान गरिएको छ।

बीबीसीका महानिर्देशक म्याट ब्रिटिनले गत जुनमा कर्मचारीलाई पठाएको इमेलमा ठूलो रकम बचत गर्न कठिन निर्णय लिनुपर्ने बताएका थिए। उनले सबै विभागले महत्वपूर्ण बचत गर्नुपर्ने उल्लेख गरेका थिए।

बीबीसीलाई थप सरल र छिटो बनाउने योजनाअन्तर्गत वरिष्ठ नेतृत्व तहका पदमा समेत कम्तीमा १० प्रतिशत कटौती गरिने जानकारी ब्रिटिनले दिएका छन्।

बीबीसीको यो योजना पछिल्लो करिब १५ वर्षयताकै ठूला कर्मचारी कटौती प्रयासमध्ये एक भएको बताइएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here