बागमती, ८ असोज । जल तथा मौसम विज्ञान विभागले केही दिन भारी वर्षाको सम्भावना औँल्याएसँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजना आसपासमा सतर्कता बढाइएको छ।
सम्भावित बाढीको जोखिम न्यूनीकरण तथा सर्वसाधारणलाई समयमै सचेत गराउन मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा तीन स्थानमा साइरन जडान गरेको छ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार जलाशयको बाँध, सिस्नेरी प्रहरीचौकी र इन्द्रसरोवर गाउँपालिकाको कार्यालयमा साइरन जडान गरिएको हो।
निरन्तर वर्षाका कारण जलसतह बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी साइरनमार्फत सर्वसाधारणलाई समयमै सूचना दिने व्यवस्था गरिएको राउतले बताए।
हाल इन्द्रसरोवर जलाशयको जलसतह सामान्य अवस्थामा रहेको राउतले जानकारी दिए। उनका अनुसार बिहीबार जलसतह १ हजार ५२२ दशमलव २५ मिटर रहेको छ।
जलसतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइनेछ। त्यस्तै, जलसतह १ हजार ५२८ मिटर पुगेपछि दोस्रो चेतावनीसहित केही लामो समय साइरन बजाइनेछ।
त्यसभन्दा माथि जलसतह पुगेमा निरन्तर लामो समयसम्म साइरन बजाइने व्यवस्था गरिएको छ। साइरनको सङ्केतअनुसार सर्वसाधारणले आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने राउतले बताए।
सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा टोलीले कुलेखानी जलाशय क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै सरोकारवालासँग छलफल गरेको थियो।
भारी वर्षाको सम्भावना रहेकाले प्रशासनले मकवानपुरवासीलाई आ–आफ्नो स्थानबाट आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। हेटौँडा र आसपासका क्षेत्रमा बिहीबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ।
















