काठमाडौँ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेश सभा–१ मा शनिबार भएको निर्वाचनमा झण्डै ११ वर्षपछि माओवादी केन्द्रका मतदाताले आफ्नै उम्मेदवार र चुनाव चिह्नमा मत प्रकट गर्न पाए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनपछि माओवादीले त्यहाँ आफ्नो उम्मेदवार उठाएको थिएन ।
२०७४ सालमा भएको तीन तहको निर्वाचनमध्ये स्थानीय तह निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गरेको थियो । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा माओवादीले एमालेसँग चुनावी तालमेल गरेको थियो । एमालेसँग मिलेर माओवादीले निकै लाभ लिए पनि सत्ता र शक्ति सङ्घर्षका कारण सम्बन्ध लामो समय टिकेन ।
२०७९ को तीनै तह निर्वाचनमा कांग्रेससँग तालमेल गरी माओवादी चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो । कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर सत्ताको लाभ लिएको माओवादीले उपनिर्वाचनमा इलाममा एमालेलाई समर्थन गरेर बझाङमा एक्लाएक्लै प्रतिस्पर्धा गरेको हो ।