चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

0

२२ कात्तिक, बाजुरा । कात्तिकः उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरू बेँसी झर्न थालेका छन् ।

कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई बेँसीतर्फ सारिएका हुन् ।

बूढीनन्दा नगरपालिका–९ का भेडापालक किसान सुमन थापाले अत्यधिक चिसो बढ्न थालेपछि आमाबुबा, श्रीमती र छोराछोरीसहित बेँसी झरेको बताए ।

उनले साँफे—मार्तडी सडकखण्ड हुँदै २०० भेडासहित चिसो छल्न अछामको गैल जान लागेको बताए । गाउँमा चिसोसँगै हिउँ पर्न थालेपछि भेडा चराउन समस्या हुने भएपछि चैत–वैशाख महिनासम्मका लागि बेँसी झरेको उनको भनाइ छ ।

हिउँदको चिसोबाट भेडाबाख्रालाई जोगाउन र चरनको सहजताका लागि किसानहरू परम्परागत मौसमी बसाइँसराइमा लागेका हुन् ।

उच्च लेकाली क्षेत्रमा चिसो बढ्दै जाँदा भेडालाई घाँस तथा चरनको अभाव हुने भएकाले किसानहरू भेडाको बथानसहित बेँसी झर्ने गर्छन् । यहाँ पुस्तौँदेखि चल्दै आएको यो परम्पराले यहाँको पशुपालन र ग्रामीण जीवनशैलीलाई समेत झल्काउने गरेको छ ।

जिल्लाका उच्च हिमाली क्षेत्रका भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न जिल्लाका बूढीगङ्गा, खप्तड छेडेदहलगायत छिमेकी जिल्ला डोटी र अछामका विभिन्न स्थानमा गएर बस्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here