२९ पुस, जनकपुरधाम। उद्योगी व्यापारीहरुले जनकपुरधाममा बैंकहरुबिरुद्ध बिरोध प्रदर्शन गरेका छन् । आइतवार पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरु बिरुद्ध प्रदर्शन गरेको हो ।
बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको र्याली राष्ट्र बैंक अगाडि पुगेर धर्नामा परिणत भएको थियो । बैंकहरुको चर्को ब्याजदरविरुद्ध आफूहरुलाई आन्दोलनमा उत्रिनु परेको उद्योगी व्यवसायीहरुले बताए ।
धर्नामा बोल्दै संघर्ष समितिका संयोजक सुधिर पजियारले नेपालीहरुलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिन बैंकहरुसँग आग्रह गरे ।
उनले व्यापारीहरुले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए । उनले बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको आरोप लगाए ।
उनले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्ने, ब्याज नबुझाएसम्मका लागि डाक निलाम नराख्नुका साथै कलोसूचिमा नराख्न माग गरे ।
व्यापारीहरुले आफूहरुको माग सम्बोधन नभए आगामी दिनमा सशक्त आन्दोलन गर्ने पजियारले बताए ।