२५ भदौ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउन सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा आकस्मिक समयमा बोल्दै सांसद अधिकारीले सम्बन्धित मन्त्रालयबीच तत्काल समन्वय गरी राजमार्ग तथा नाकाहरू युद्धस्तरमा खुलाउन र आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।
‘सरकारसँग माग गर्छु– सम्बन्धित मन्त्रालयबीच तत्काल समन्वय गरियोस् । राजमार्ग र नाकाहरू युद्धस्तरमा खुलाइयोस् । आपूर्ति सहज बनाइयोस्,’ उनले भनिन्, ‘जनता विपत्तिमा छन् सरकार । नागरिकलाई अभाव र महँगीको मारबाट जोगाइयोस् ।’
सरकारले समयमै ध्यान नदिए इन्धन, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अभाव हुनसक्ने उनले चेतावनी दिइन् । तातोपानी र रसुवागढी नाका प्रभावित हुनुका साथै बीपी राजमार्ग तथा पृथ्वी राजमार्गको कृष्णभीर अवरुद्ध हुँदा चाडबाडका बेला उपभोग्य वस्तुको मूल्य झन् बढ्न सक्ने उनको भनाइ छ ।
‘कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धिको मारमा गरिब नागरिक नै पर्ने छन्,’ सांसद अधिकारीले भनिन् ।
उनले वैकल्पिक नाका कोरलातर्फको भौगोलिक दूरी र जीर्ण सडकका कारण ढुवानी लागत पाँच गुणाभन्दा बढी महँगो रहेको समेत बताइन् ।
















