नयाँ वर्ष मनाउन आएका दुई भारतीयलाई ट्यांकरले ठक्कर दिँदा मृत्यु

0

चन्द्रनिगाहपुर : चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको चिडियादह चोकनजिक सर्लाहीतर्फ जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमवार राति ठक्कर दिँदा २ जना भारतीय युवकको मृत्यु भएको छ।

भारत बिहार राज्यको सीतामढीबाट अंग्रेजी नयाँ वर्ष मनाउन आएका दुईजनाको सवारी दुर्घटनामा मृत्यु भएको हो। मृत्यु हुनेमा सितामाढी जिल्ला डुमरीका ३५ वर्षीय पिंकु सिंह र सोही गाउँका २२ वर्षीय अवधेश झा रहेको प्रहरीले जनाएको छ। 

उपचारका क्रममा गएराति नारायणी अस्पताल वीरगञ्जमा उनीहरूको मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताएका छन्।

नयाँ वर्षमा पिकनिक मनाएर बागमती नुनथरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो।

दुर्घटनामा टेम्पोचालक सर्लाहीको बागमती नगरपालिका–६ खाल्टे बस्ने ४४ वर्षीय भुपेन्द्र सहनीसहित सबै ६ जना घाइते भएका थिए। गम्भीर घाइते भारतीय सिंह र झालाई चन्द्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो।

अटोमा सवार चन्द्रपुर–५ का समिर अन्सारी, गरुडा–६ पोठियाहीका अस्गर देवान र उनका पत्नी जवाहिर खातुन घाइते भएका थिए। देवानको मुखमा र अन्सारीको घाँटीमा चोट लागेको छ। खातुनको दाहिने हात भाँचिएको प्रहरीले जनाएको छ। घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरले ठक्कर दिने ट्यांकरचालक रौतहटको दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षीय प्रविण साहलाई नियन्त्रणमा लिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here