बिहीबारदेखि नेपालमा मनसुन सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

0

बिहीबारदेखि विस्तारै मनसुन न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई सोही दिनदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद् राजु प्रधानाङ्गले बताए।

बिहीबार प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, वाग्मती र लुम्बिनी प्रदेशको एक– दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here