असोज ९ गतेदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग(ईपीएल)–टी २० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।
ट्रफीमा तीनवटा खुकुरीले क्रिकेटको बललाई अड्याइएको छ । खुकुरीहरू सुनौलो छन् भने बल पनि चम्किएको छ ।
आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रायोजनको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता एक वर्षको हुने जानकारी गराइयो ।
१४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टिम सहभागी हुनेछन् । प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्सले प्रतिष्पर्धा गर्ने छन् ।
कोरोना महामारीका कारण स्वास्थका मापदण्ड पालना गरेर ईपीएल आयोजना गर्ने आयोजकले जनाएको छ । लिगमा पाकिस्तानका शाहिद अफ्रिदी, शोयब मल्लिक र वेस्ट इन्डिजका ब्रेथवेटले सहभागी हुँदैछन् ।
पहिलो पटक सन् २०१८ मा भएको इपीएलमा भैरहवालाई १४ रनले हराउँदै ललितपुरले उपाधि जितेको थियो ।