काठमाडौं : नेपाली कांग्रेसको महासमितिको बैठक मंसिर २९ गतेबाट शुरु हुने भएको छ।
आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बेठकले सो निर्णय गरेको हो।
महासमिति बैठक अब मंसिर २९, ३० र पुष १ र २ गते बस्नेछ। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको जानकारी गराए।
यसअघि काँग्रेस महासमिति बैठक मंसिर १५ देखि गर्ने निर्णय भएको थियो। कार्यसमितिको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभवितहरुको उद्धार र रहातका लागि तत्काल ५० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ।
त्यस्तै अन्य रकम सहयोगका लागि पार्टीका केन्द्रिय सदस्य जिप छिरिङ लामाले ११ लाख रुपैयाँ र पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता दिव्यमणि राजभण्डारीले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेका बताए।
अन्य सहयोगका लागि पार्टीका सदस्यहरुलाई आग्रह गरिएको र सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरी सहयोग गर्ने बताए। प्रभावितहरुमाथि अन्याय नहोस् भन्नका लागि महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापनका सँगसँगै सबै कामहरु गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय भएको पनि बताए।
नेता विश्वकर्माले कार्य सम्पादन समितिले भूकम्प प्रभावितलाई दिइने राहतको अनियमितता हुन नदिन महामन्त्रीहरुले स्थलगत अवलोकन गर्ने निर्णय भएको पनि बताए।