धनकुटा, ८ असोज । अत्यधिक भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
प्रशासनले बिहीबारदेखि आइतबारसम्म राति ९ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाका मुख्य तथा सहायक सडकमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीका अनुसार नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यस्तो व्यवस्था गरिएको हो।
अत्यधिक भारी वर्षाका कारण बाढी, पहिरो, सडक कटान, गेग्रान बहाव तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार भेडेटार–रवि–राँके सडकखण्ड, मूलघाटदेखि पाँचथर सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने–आउने सडकमा रातिको समयमा सवारी सञ्चालन गर्न पाइने छैन। जोखिमयुक्त अन्य भित्री सडकमा समेत यो व्यवस्था लागू हुने जनाइएको छ।
सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्लाका तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। विपद् आए तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न आवश्यक तयारी गर्न प्रशासनले आग्रह गरेको छ।
त्यस्तै, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित आयोजनालाई निर्देशन दिइएको छ।
प्रशासनले तमोर र अरुण नदी आसपासका बासिन्दालाई पूर्वसूचना तथा चेतावनीलाई ध्यान दिँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मूलघाटस्थित विश्रान्ति वृद्धाश्रम तमोर नदी किनारमा जोखिममा रहेकाले नजिकैको विद्यालय खाली गरी वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत भइरहेको प्रशासनले जनाएको छ।
















