प्राडा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

0

काठमाडौं, ८ असोज । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. राम लामाले शर्मालाई राष्ट्रिय विभूति घोषणा गरी सम्मान गर्न सरकारसँग माग गरेका हुन्।

सांसद लामाले प्रा. डा. शर्मा नेपालको आधुनिक शिक्षा विकासका दूरदर्शी व्यक्तित्व तथा महान् शिक्षाविद् रहेको उल्लेख गर्दै उनको निधनले नेपाली शैक्षिक क्षेत्र र राष्ट्रलाई नै ठूलो क्षति पुगेको बताए।

प्रा. डा. शर्माको बुधबार निधन भएको थियो। सांसद लामाका अनुसार शर्माले सन् १९८९ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को पहिलो कार्यकारी निर्देशकका रूपमा नेपालको प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यसपछि सन् १९९१ मा काठमाडौं विश्वविद्यालय स्थापना भएपछि उनले करिब दुई दशकसम्म नेतृत्व गरेको सांसद लामाले स्मरण गरे।

शर्माको नेतृत्व र दूरदृष्टिका कारण काठमाडौं विश्वविद्यालयलाई स्वायत्त विश्वविद्यालय तथा अनुसन्धानको प्रतिष्ठित केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण आधार तयार भएको उनले बताए। नेपालको उच्च शिक्षामा नयाँ सोच, मानक र सम्भावनाको विकासमा शर्माको योगदान रहेको उनको भनाइ थियो।

सांसद लामाले नेपालको प्राविधिक तथा उच्च शिक्षाको विकास र शैक्षिक नीति निर्माणमा शर्माले पुर्‍याएको योगदानको सम्मान गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्न सभामुखमार्फत सरकारसमक्ष माग गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here