काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढंगबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १६ औं साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले केही वर्ष अघिसम्म नेपाल कृषिमा आत्मनिर्भर रहेको भएपनि पछिल्लो समय कृषिमा परनिर्भर बन्दै गइरहेको बताए। उनले व्यक्तिले मात्रै कृषि क्षेत्रको उपार्जन गर्ने र उत्पादकत्व वृद्धि गर्नेकुरा सम्भव नरहेकाले सबै मिलेर कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताए।
उनले कृषि क्षेत्रलाई राज्यले दिनुपर्ने प्राथमिकता र कृषि क्षेत्रलाई समेत समेटेर बनाइएको सहकारी ऐन, २०७४ पछि पनि कृषिमा कुनै प्रभव नपरेको बताए।
उनले सहकारी क्षेत्र वचत तथा ऋणको कारोबार गर्ने किसिमको मात्रै हुनु नहुने जिकिर गरे। उनले कृषिलाई आधुनिक ढंगबाट अघि लैजाने, बाँजो जमिनलाई उर्वर बनाउने कुन ठाउँमा के कुरा उत्पादन गर्ने? यसको बजारीकरण कसरी गर्ने र सम्भव भएसम्म कृषिलाई यान्त्रीकरणबाट अघि बढाउने बारेमा अध्ययन हुन जरुरी रहेको बताए।
उनले भने, ‘नेपाल कृषिप्रधान मुलुक हो। यो कुरालाई ध्यानमा राखेर किसानहरुको बीचमा साना, किसान सहकारीहरु निर्माण गर्ने र विभिन्न विषयमा सहकारी संस्थाहरु बनाउने र यसको माध्यमबाट अघि बढ्ने सन्दर्भमा पनि यो कृषि, सहकारी राष्ट्रिय केन्द्रिय संघको स्थापना भएको छ। सहकारीले वित्तीय क्षेत्रका कामहरु जे काम गरिरहेको छ, वचत तथा ऋणको कारोबार गर्ने खालको काम मात्रै भइरहेको गुनासो छ। सहकारीको माध्यमबाट दूरदराजमा पनि निजी क्षेत्र नपुगेका ठाउँमा पनि सेवाको हिसावबाट काम गर्नुपर्छ।’
सभामुख घिमिरेले सरकारले किसानहरुलाई आफ्नो नीतिअन्तर्गत समेट्नलाई तीन खम्बे अर्थनीति लिएर सहकारीको माध्यमबाट, राज्यले लगानी गर्ने र निजी क्षेत्रलाई पनि समावेश गर्ने सिद्धान्त अपनाएर प्रभावकारी रुपमा काम गर्दै जानुपर्ने बताए।
उनले सहकारी आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि लैजान र छरिएर रहेका किसान, साना किसानहरुलाई एक ठाउँमा ल्याइ काम गर्न आग्रह गरे।