२४ भदौको आन्दोलन विध्वंसकारी थियो : रास्वपा महामन्त्री

0

२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले २४ भदौ २०८२ मा भएको आन्दोलनलाई ‘विध्वंस’को संज्ञा दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले आन्दोलनका क्रममा क्षति पुगेका निजी क्षेत्रका संरचना पुनर्निर्माण भइसके पनि सरकारी तथा सार्वजनिक संरचनाको पुनर्निर्माण सुस्त रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले आफू घरबाट महाराजगञ्ज हुँदै नक्सालस्थित भाटभटेनी र त्यसपछि संसद् भवन आउने गरेको उल्लेख गर्दै निजी क्षेत्रले क्षतिग्रस्त संरचना छिटो पुनर्निर्माण गरेकोमा प्रशंसा गरे ।

‘भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ,’ उनले भने ।

तर सिंहदरबार र गृह मन्त्रालयको क्षतिग्रस्त संरचना अझै पनि उस्तै अवस्थामा रहेको भन्दै उनले सरकारी पुनर्निर्माणको गति माथि प्रश्न उठाए ।

‘जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु । यो पालाको बजेट नै नयाँ संसद् भवनमा हुने भनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुरा राखिराखेको छु,’ उनले भने ।

राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माण नै सुस्त भइरहेको अवस्थामा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने भन्ने प्रश्नसमेत उनले उठाए ।

गत वर्ष २४ भदौमा भएको तोडफोड तथा आगजनीमा नक्सालस्थित भाटभटेनीसहित विभिन्न निजी तथा सार्वजनिक संरचनामा क्षति पुगेको थियो । निजी क्षेत्रले क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिसकेको भए पनि सरकारी तथा सार्वजनिक सम्पत्तिको पुनर्निर्माण अझै पूरा नभएको भन्दै आचार्यले सरकारसँग जवाफ माग गरेका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here