२७ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरूबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो माग गरेका हुन् ।
विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद बस्नेतले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे ।
‘विशेष महाधिवेशनबाट सेटिङ अनुसार पार्टी क्याप्चर भएको हो । यो कुरा मैले हिजो पनि भनेको हो, अहिले पनि भन्छु, भोली पनि भन्छु–निर्वाचन आयोगमा सेटिङ अनुसार क्याप्चर भएको हो पार्टी,’ उनले भने, ‘यही विशेष अधिवेशनको कारणले आज हामी हारेका छौँ । फेरि उठनु छ । मैले भनिसके–हामीमा एकता हुनुपर्यो । त्यो एकता भएन । विशेष महाधिवेशनको कारणले हारियो । गगन थापाजीले राजीनामा दिनुहुन्छ भन्ने मेरो विश्वास हो ।’















