काठमाडौँ : सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच शिष्टाचार भेटवार्ता भएको छ।
नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शिष्टाचार भेट गरे। भेटका क्रममा सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबीच दुई देशको सम्बन्धका विस्तार र संसदमा आपसी सहयोगका बारेमा छलफल भएको संघीय संसद् सचिवालयका कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयले बताए।
उनले सभामुख घिमिरेले आफू आयरल्याण्ड भ्रमण जाँदा राखेका संसदीय अभ्यासका सहयोग र आयरल्याण्डमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कुरा उठाएको बताए। सभामुख घिमिरेले चीन र भारतको जस्तै नेपाली नागरिकलाई पनि बेलायतको भिसा लिएको खण्डमा आयरल्याण्ड भ्रमण गर्न अनुमति दिनुपर्ने कुरामा जोड दिएको कार्यवाहक महासचिव पाण्डेयले बताए।
जवाफमा अध्यक्ष बट्टिमरले आफू उठेका प्रश्नमा गम्भीर रहेको र आयरल्याण्डमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने कुरा अघि बढाउन भ्रमणपछि स्वदेश फर्किएलगत्तै आयरल्याण्डका शिक्षामन्त्रीसँग कुरा राख्ने प्रतिबद्धता जनाएको पनि कार्यवाहक महासचिव पाण्डेले बताए।
पाण्डेले भने, ‘५ जनाको टोली सोमवार आएको थियो। सभामुख र उहाँ बीचमा दुई देशको सम्बन्धका बारेमा कुरा भयो। दुई देशका संसद्को आपसी सहयोग कसरी हुनसक्छ ? भन्ने विषयमा महत्वपूर्ण छलफल भएका छन्।’
भेटमा आयरल्याण्डको उपल्लो सदनका अध्यक्ष बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दामा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे। अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमवार बिहान नेपाल आएका हुन्।
उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत उच्च पदस्थ व्यक्तिसँग भेट गर्ने कार्यक्रम छ।