काठमाडौँ । गत आर्थिक वर्ष (२०७९/८०) को तुलनामा चालु वर्ष नेपाली छुर्पीको निर्यात बढेको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा एक अर्ब ९३ करोड रुपैयाँको छुर्पी निर्यात भएको थियो । चालु वर्ष सोही अवधिमा नेपालबाट एक अर्ब ९८ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ ।
चालु वर्ष ८ महिनाको अवधिमा २३ देशमा छुर्पी निर्यात भएको छ । नेपाली छुर्पी सबैभन्दा धेरै निर्यात हुने मुलुक अमेरिका हो । अमेरिकामा चालु आर्थिक वर्ष एक अर्ब ७२ करोड ४६ लाख रुपैयाँको छुर्पी निर्यात भएको छ । यस्तै, बेलायतमा ३ करोडको निर्यात हुँदा क्यानडामा १ करोड ६१ लाखको छुर्पी निर्यात भएको छ ।
सरकारी तथ्याङ्क अनुसार ग्रीसमा ४९ लाखको र हङकङमा ६६ लाख रुपैयाँको छुर्पी निर्यात भएको छ । यस्तै, जापानमा एक करोड ४२ लाख, कोरियामा १ करोड २९ लाख र मलेसियामा ६५ लाख रुपैयाँको छुर्पी निर्यात भएको छ ।
नेदरल्याण्ड्समा ३९ लाख, फिलिपिन्समा २३ लाख, सिङ्गापुरमा ५३ लाख, ताइवानमा ६३ लाख र संयुक्त अरब इमिरेट्स (यूएई)मा ३२ लाख रुपैयाँको छुर्पी निर्यात भएको तथ्याङ्क छ ।
विदेशमा बिरोलो र कुकुरको खानाका लागि छुर्पी निर्यात हुने गरेको छ । सरकारी तथ्याङ्कअनुसार गत वर्षको साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट एक अर्ब ९३ करोड २५ लाख रुपैयाँको १० लाख २३ हजार किलोग्राम छुर्पी निर्यात भएको छ ।
भन्सार विभागका अनुसार गत वर्ष नेपालबाट २४ वटा मुलुकमा छुर्पी निर्यात भएको थियो । गत वर्ष पनि सबैभन्दा धेरै अमेरिकामा एक अर्ब ६५ करोड ५ लाख ९६ हजार रुपैयाँको छुर्पी निर्यात भएको थियो । समीक्षा अवधिमा अमेरिकामा ८ लाख ४७ हजार किलोग्राम छुर्पी निर्यात भएको थियो ।
यस्तै, बेलायतमा २ करोड ११ लाख, संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ लाख, ताइवानमा ३८ लाख, स्पेनमा १५ लाख रुपैयाँको छुर्पी निर्यात भएको थियो । गत वर्ष सिङ्गापुरमा ७५ लाखको छुर्पी निर्यात हुँदा फिलिपिन्समा २८ लाखको र नेदरल्याण्ड्समा ५८ लाख रुपैयाँको निर्यात भएको तथ्याङ्क छ ।
यस्तै, मलेसियामा २४ लाखको र कोरियामा ६२ लाखको छुर्पी निर्यात हुँदा जापानमा १ करोड ९६ लाख रुपैयाँको निर्यात भएको थियो । यसैगरी, सो अवधिमा हङकङमा ७० लाख, क्यानडामा १९ करोड ४३ लाख र ग्रीसमा ३९ लाखको छुर्पी निर्यात भएको थियो ।