काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन्।
बुधवार प्रतिनिधिसभा बैठकमा सांसद चौधरीले सहकारीबाट धेरै नागरिक पीडित भएको भन्दै तुरुन्त संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन्।
उनले २०७५ सालमा गोरे भन्ने व्यक्तिको नेतृत्वमा भएको ३८ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।
भेपमा सुन तस्करी प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै सो प्रतिवेदन पनि तुरुन्त सार्वजनिक गर्न माग गरे। उनले संसदीय छानबिन गरिराख्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने भए समिति बनाउनुको कुनै महत्व नभएको बताए।
‘संसद बारम्बार अवरोध गरेर समय समयमा संसदीय छानबिन र उच्च छानबिन समिति बनाउने तर यसको प्रतिवेदन सार्वजनिक गरिएन भने यसको कुनै महत्व भएन‚’ उनले भने‚ ‘०४७ सालपछिका सबै भ्रष्टाचार काण्डको फाइल खोलियोस् भन्ने नेपाली कांग्रेस पार्टीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको र रास्वपाको पनि सबै काण्डहरुको छानबिन गरियोस् भन्ने मागमा हाम्रो पार्टीको पनि सोही माग रहेको जानकारी गराउँछु।’
उनले आफूहरु पनि २०४७ सालपछिका सबै भ्रष्टाचार काण्डको फाइल खोल्ने पक्षमा रहेको बताए।