आफ्ना लागि नभए पनि मायालुको लागि धूमपान त्याग्नुस् : डा ओममूर्ति

0

काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेका छन्।

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिने वसन्त पञ्चमी र प्रणय दिवस यस वर्ष फागुन २ गते परेको सन्दर्भ पारेर उक्त दिन ज्ञान र प्रेमलाई मिश्रण गर्दै धूमपान सेवनमुक्त समाज निर्माणका लागि अवसरका रूपमा उपयोग गरिएको डा अनिलले बताए।

कुनै विशेष अवसरमा मानिसले केही चिज त्याग गर्‍यो भने त्यो सफल हुने सम्भावना बढ़ी हुन्छ। साथै अविस्मरणीय र महत्वपूर्ण पनि हुने भएकाले त्यस दिनदेखि धूमपान र सुर्ती सेवनको लतलाई त्याग गर्न आफ्ना शुभेच्छुकहरूलाई उनले आह्वान गरेका छन्।

‘प्रणय दिवस’का अवसरमा तपाई फूल दिनुस्, कुनै भौतिक उपहार दिनुस्। त्यसको साथसाथै आफू र आफ्नो परिवारजनको दीर्घजीवनका लागि लत त्याग्नु सबैभन्दा मूल्यवान उपहार हो’ डा अनिलले भने, “यदि तपाईं आफूलाई भन्दा बढी माया उनीहरूलाई गर्नु हुन्छ भने दीर्घ जीवनको उपहारजस्तो बहुमूल्य उपहार अर्को के होला र?”

अझ त्यस विद्याकी देवीलाई पूजा गरिने दिन पनि परेको छ। कुलत त्याग्नेजस्तो नैतिक शिक्षा अर्को कुनै हुन्छ? डा अनिलको प्रश्न छ।

कुलत त्याग्नु जीवनको अमूल्य उपहार हो। चुरोट र सुर्ती सेवन छोड्दा आफ्नो आयु मात्रै लम्बिँदैन परिवारको आयु पनि बढ्ने हुँदा ‘स्मोकर्स आर नट सेल्फिस्’ भन्ने नारालाई जोड दिइएको उनको भनाइ छ।

कुलत छुटाउन प्रोत्सहान गर्ने उद्देश्यका निम्ति यस अभियानमा ‘धूमपान गर्ने स्वार्थी हुँदैनन्’ भन्ने टेमप्लेटलाई सकारात्मक र सुखद् परिणामको अपेक्षासहित राखिएको डा अनिलले स्पष्ट पारे।

डा अनिलका अनुसार मानिसको मृत्युका कारणमध्ये  धूमपान प्रमुख रहेको अध्ययनहरूबाट प्रमाणित भएको छ। तमाखु सेवन गर्ने हरेक दुई जनामध्ये एक जनाको मृत्यु हुने गरेको छ। प्रत्येक एक खिल्ली चुरोटले सेवनकर्ताको ११ देखि १३ मिनेटसम्म आयु घटाउने भन्दै त्यस्ता मानिसको जीवनमा १० महिनाको वर्ष हुन्छ। अर्थात् सेवनकर्ताको हरेक वर्ष औसत दुई महिना आयु घट्दै जाने उनको भनाइ छ।

धूमपान गर्नेलाई दुईदेखि चार प्रतिशत हृदयाघात हुने खतरा छ भने फोक्सोको क्यान्सर हुने जोखिम २५ प्रतिशतसम्म रहेको उहाँले बताए। त्यस्तै एक वयस्क मानिसले अत्यधिक चुरोट सेवन गरेमा १५ वर्षदेखि २५ वर्षसम्म छिटो मृत्युको जोखिम रहेको अध्ययनले देखाएको भनाइ छ।

कुनै व्यक्तिले धूमपान गर्दा उसलाई मात्रै होइन, वरिपरिका मानिसलाई पनि गम्भीर असर गर्दछ।  यसबाट विशेषगरी गर्भमा रहेका शिशु, बालबालिका र सास फेर्न समस्या भएका व्यक्तिहरूलाई सबैभन्दा बढी जोखिममा हुन्छ।

यसले सेवनकर्ता, वरिपरिका मानिस र सेवनकर्ताले प्रयोग गरेका सामग्रीबाट पनि अरुको स्वास्थ्यमा असर गर्छ।

एक अध्ययनअनुसार धूमपानबाट ८० लाख जनाको मृत्यु हुँदा १३ लाखले अन्य धूमपानकर्ताले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको डा अनिलले जानकारी दिए।

धूमपानको भयावह स्थिति नेपालजस्ता गरीब मुलुकमा उच्च रहेको उल्लेख गर्दै विश्वका १ दशमलव ३ अर्ब जना धूमपान गर्ने मानिसमध्ये ८० प्रतिशत गरिब देशका नागरिक रहेको अध्ययनमा देखिएको उनको भनाइ छ।

धूमपान नगर्दा आफू अकाल मृत्युबाट जोगिनुको साथै अभिभावत्वको जिम्मेवारी पूरा गर्न सकिने र परिवारको आर्थिक, सामाजिक सुरक्षा गर्न सकिन्छ।

“जीवन मेरो मात्रै होइन, ममाथि धेरै जना आश्रित छन्” भन्ने बुझ्न जरुरी रहेको उनी बताउछन्। धूमपानको लत छुटाउने अभियान सुरू गरेका डा अनिलले त्यस्ता व्यक्तिलाई प्रोत्सहान गर्न उनले आफ्नो फेसबुक पेजमा गुगल फर्मसमेत राखेका छन्।

सामाजिक सञ्जालबाट चेतनामूलक अभियान चलाउने क्रममा विश्व कीर्तिमान कायम गर्नुभएका डा अनिलको  बिहीबार फेसबुक लाइभमा छ हजार ६७२ जना प्रत्यक्ष जोडिएका थिए भने तत्काल करिब ५० जनाले सुर्तीजन्य पदार्थको सेवन छाड्ने प्रतिबद्धता जनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here